बाबुराम भैपरि आउने : उपेन्द्र परिपरी आउने

बाबुराम भैपरि आउने : उपेन्द्र परिपरी आउने


बाबुराम भट्टराईले उपेन्द्र यादवसंग भेटेरै भने, ‘तपाँइको पार्टी एकता पूर्न भएको छैन भन्ने हाम्लाइ लाइरा’छ ।’

‘तपाँइलाई पूर्न भएको छैन भन्ने लाइराख्या होला । तर हाम्लाई त पूर्न मात्रै होइन अन्नपूर्न नै भएझैं लाग्छ ।’ उपेन्द्रले पनि प्वाक्क जबाफ दिए ।

‘मैले पूर्न भनेको तपाइले चैं अन्नपूर्न भन्नु भयो । पूर्न नै नभई अन्नपूर्न चैं कसरी भयो ?’ बाबुरामले ढिलोढालो नगरी प्रश्न सोधे ।
उपेन्द्रले पनि तुरुन्त जवाफ दिई हाले, ‘हामीसंग अन्नपानी हुने प्रदेशका मान्छे पहिले नै थिए । अशोक राईजीसंग एकता भएपछि माथि अन्नपूर्नजस्ता हिमालका मान्छेहरु पनि आए । त्यसैले हाम्रो पार्टी एकता अन्नपूर्न भएको हो भनेका हौ ।’

‘पेटीका मान्छे अझै आएका छैनन् । त्यसैले अन्न र अन्नपूर्न भयो होला तर पूर्न चैं भाको छैनन नै भन्ने हाम्लाई अझै लाइरा’छ ।’ बाबुरामले कुरो अगाडि बढाए ।
उपेन्द्रले जिज्ञासा राखे, ‘पेट्टी बुर्जुवा आएनन भन्न खोज्नु भा हो ?’

बाबुरामले पष्टीकरन दिन सुरु गरे, ‘हैन हैन जबदेखि म नयाँ शक्तिमा गएँ । मैले माक्र्सवादी भाका छोडि सकेको छु । कस्सम पनि होला मैले माक्र्सवादी भाका प्रयोग गर्दिन । मैले पेट्टी बुर्जुवा हैन, पेटीका मान्छे भनेको हो । मध्य पहाडी लोकमार्गका छेउछाउका पेटीमा बस्ने, काँठमा बस्ने, उहिले नै उहिले त खाँडीका लबेदा सुरुवाल भेषभुषामा हुने, पर्बते भाका बोल्ने, तर नेपालको राष्ट्रिय राजनीतिलाई दायाँबायाँ घुमाउन सक्नेहरु तपाइको पार्टीमा विचरन गर्न आएका छैनन । यसर्थ यो एकता पूर्न भाको छैन भन्ने नै हो भन्ने हाम्लाइ लाइरा’छ ।’

उपेन्द्रले टाउको उठाएर सोधे, ‘खसहरु हो ?’

मुख चुच्चो पार्दै दश प्रतिशत मुस्कुराउँदै बाबुरामले भने, ‘हो हो.... ।’

‘अशोक राईजीहरुको संघीय समाजवादी पार्टीसंगै खस समावेशी पार्टीसंग पनि एकता गरिसकेका छौं । यति त तपाँइले थाहा पाउनु पर्ने ।’ उपेन्द्रले बाबुरामलाई स्मरण गराउने कोशीस गरे ।

बाबुरामले झटपट बात फर्काए, ‘त्यतिले पुगेन । खस समावेशीको एकताले पुगेको भए त मध्य पहाडी लोकमार्ग छेउछाउबाट फोरुमले जितिहाल्थ्यो नी । त्यताका गाउँपालिका, नगरपालिका पनि फोरुम मुक्त छ ।’

बाबुरामले गम्भीरतापूर्वक कुरालाइ पर्गेल्न थाले, ‘नक्कली खससंग एकता गर्न पुगिए छ कि क्या हो त ?’ उपेन्द्रले खुसुक्क बाबुरामसंग भने । 

‘नक्कली र सक्कली त कसी लगाएपछि मात्र थाहा हुन्छ । फलाम र सुलिस पनि छुट्याउन गाह्रो हुन्छ । बजारमा पित्तललाई सुन भनेर झुक्याउने पनि धेरै छन् । अझ मान्छेलाई चिन्न त झनै गाह्रो साँगुरो हुन्छ । मान्छे चिन्नुलाई लिङ्ग नै हेर्नु पर्ने हुन्छ । लिङ्ग हेर्नलाई मान्छेले लगाएको लुगा छोडाउनु पर्छ । मैले १२ वर्ष लगाएर यस्तो काम फत्ते गरेको छु । अहिलेको डबल नेकपाको एक घटक एमाले उतिखेर उल्काफुल्का काम गर्दथ्यो । रुपमा हेर्दा त स्त्री लिङ्ग वा पुलिङ्ग नै लाग्दथ्यो सारमा अलग्गै । उसको काम यी दुई लिङ्गले गर्ने भन्दा फरक प्रकृतिको हुने गर्दथ्यो । वाक्कदिक्क भएपछि मैले एकदिन एमालेको लिङ्ग हेर्ने विचार गरेँ । सोही बमोजिम अनुसन्धान गर्दा त उ लिङ्ग नखुट्टिएको पाएँ । म गलत हुँला तर कतै त्यस्तै त भएन । जे होस समाजमा त्यस्ता किन्नरको पनि काम हुन्छ । नाचगान, मराउपराउ, जायजन्म, भोजभतेरमा काम लाग्छ ।’
उपेन्द्रले हतारिदै भने, ‘सक्कलीसंग पनि गरुँ न त ।’ 

‘नेपाल पाँच सभ्यता बसोबास भएको मुलुक हो । पहिलो महासभ्यता मंगोल, दोस्रो महासभ्यता मस्टोपुजक खस, तेस्रो अष्ट्रो–द्रबीड महासभ्यता, चौथो मुसलमान सभ्यता र पाँचौ सबैभन्दा महत्वपूर्न महासभ्यता भनेको गंगानदी किनारबाट विकसित भएको वैदिक आर्य सभ्यता हो । त्यो वैदिक आर्य सभ्यताको प्रतिनिधित्व मैले गर्छु भन्ने कुरा हाम्री हिसिला र मलाई लाग्या’छ । यसैले मैले जनयुद्ध छोडेपछि दशैंतिहारमा टिकोटालोलाइ पुनः निरन्तरता दिएको हुँ । रामनवमी, कृष्ण जन्माष्ठमी, १८ पुरान, गरुढ पुरान मान्दै सत्यनारान आदि पुजन गर्न पनि सुरु गरेको छु ।’ बाबुरामले परम्परागत महत्वका विषय वौद्धिक ढंगले राख्दै कुराको पोयो खोले ।

उपेन्द्रले भने, ‘लु एकता गरि हालौं न त ।’

‘हामी कुल जनसंख्याको करिव १२ प्रतिशत छौं । त्यसमध्येका बोर्डफस्ट शिक्षित भूतपूर्व प्रधानमन्त्री मै मात्र हुँ । मेरो आसनग्रहन उपजुक्त ठाउँमा भए मैले हस्तमिलान गर्नेछु भन्ने हाम्लाइ लाइरा’छ ।’ बाबुरामले एकताको साँचो देखाए ।

उपन्द्रले भने, ‘तपाई अध्यक्ष नै खानुस ।’

बाबुरामले सोधे, ‘कस्तो अध्यक्ष ?’

उपन्द्रले भने, ‘भैपरि आउने अध्यक्ष ।’

बाबुरामले फेरि सोधे, ‘तपाँइ चैं कस्तो अध्यक्ष हुने ?’

उपन्द्रले भने, ‘परिपरि आउने अध्यक्ष ।’

यतिकैमा कुरा मिल्यो । दूबै पार्टी मर्ज भए ।