पत्रकारले यो विधेयकको अहिले नै विरोध गर्नु औचित्य छैन : देवप्रकाश त्रिपाठी 

पत्रकारले यो विधेयकको अहिले नै विरोध गर्नु औचित्य छैन : देवप्रकाश त्रिपाठी 

आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न सरकारद्वारा बनाएको विधेयकका बारेमा बहस प्रारम्भ भएको छ । नेपाल पत्रकार महासंघसहित विभिन्न संघ/संस्थाले यसमा प्रेस विरोधी प्रावधान रहेको भन्दै सार्वजनिक रुपमा विरोध जताएका छन् भने संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको पहलमा बनेको संचार सम्बन्धी सुझाव कार्यदलका संयोजक देवप्रकाश त्रिपाठीले भने सरकारले ल्याउन लागेको विधेयक सकारात्मक सोंचका साथ आएको जिकिर गरेका छन् ।  

 संसदमा प्रस्तुत गरेको विधेयक आफूले नपढे पनि त्यसको तयारी खाका र मन्त्रीसँगको छलफलबाट भने विधेयक जिम्मेवार पत्रकारिताका लागि आवश्यक रहेको बताएका छन् । 

झिल्को डटकमसँग कुरा गर्दै संयोजक त्रिपाठी भने, ‘संसदमा दर्ता भएको अहिलेको बिधेयकले व्यवसायी तथा पत्रकारहरु आत्तिइहाल्नु पर्दैन । समाजका हरेक क्षेत्रहरु व्यवस्थित हुने अनि पत्रकारहरु चाहिं व्यवस्थित हुनु नपर्ने ?’

पत्रकारितालाई मर्यादित बनाउनु पर्ने अहिले समाजको आवश्यकता भएको उनले बताए । उनले भने, ‘पत्रकारिता गरे बापत कोही पनि दण्डित हुनु पर्दैन । पत्रकारिताको नाममा हरेक कुराहरु क्षम्य पनि नहुन सक्छ । पत्रकारको आवरणमा जे सुकै गर्ने छुट कसैलाई हुँदैन ।’ 

नियतबस पत्रकारिता क्षेत्रलाई अंकुश लगाउने र नियन्त्रण गर्ने ऐन बनाएको हो भने त्यसका बारेमा व्यापक छलफल गर्न सकिने पनि त्रिपाठीले बताए । उनले भने, ‘जुन अहिले जानकारीमा आएको छ, त्यो हेर्दा चाहिँ अहिले नै हामीले चिन्ता लिनु पर्ने छैन ।’ 

कुनै पनि संस्थाले लेखेको कुरा गलत भएमा पहिला त्यसको दोषी पत्रकार मात्र हुन्थ्यो तर अहिले प्रकाशक पनि कारवाहीको दायरामा आउने प्रावधान रहेको आफूले जानकारी पाएको उनले झिल्कोलाई बताए ।

‘हाम्रो देशमा पत्रकारहरुलाई राम्रो तलव दिएर काँधमा बन्दुक राखेर मिडिया मालिकले पड्काउँदै आएको पनि पाइन्छ,’ उनले थपे ‘त्यो बास्तवमा ठीक छैन, नियन्त्रण गर्न जरुरी छ ।’ आफ्नो हित, इन्टे«ष्टमा पत्रकारहरुलाई प्रयोग गरेर गरिने पत्रकारिताले राम्रो गर्न नसक्ने उनको भनाइ छ ।

प्रकाशकलाई पनि मिडियाले गलत गर्दा कारवाहीको दायरामा ल्याउने काम अहिलेको ऐनले गरेको उनको ठम्याइ छ । भन्छन्, ‘जिम्मेवार पत्रकारिता गर्न उत्प्रेरित गरेको छ यो विधेयकले, त्यो ठीक छ, यसले जिम्मेवार हुन, स्वनियममा बस्न पनि उत्प्रेरित गरेको छ ।’

यो ऐनको हरेक कोणबाट अध्ययन नगरी बिरोधमा जानु धेरै हतार हुने उनको भनाइ छ । उनले भने, ‘यो लगानीकर्ताको विपक्षमा छ कि पत्रकारको बिपक्षमा छ भन्ने कुरा हामी पत्रकारहरुले पहिला अध्ययन गर्नुपर्छ, लगानीकर्तालाई बढी पीडा भएर छटपटाहट भएको हो कि ? देशलाई नैं अप्ठ्यारो पर्ने भएकोले हो ? कि पत्रकारलाई अप्ठेरो भएको हो ? बिना अध्ययन बोल्ने कुरा भएन । यस्तो विधेयक ल्याउन ढीलो भइसकेको थियो । पत्रकारिताका नाममा छाडा, अराजकता जो भएको थियो, छ त्यसले सभ्य समाज निर्माणमा अवरोध गरिरहेको थियो, छ ।’

२७ वैशाख २०७६