आन्तरिक उल्झनले प्रभावित कांग्रेसको जागरण

आन्तरिक उल्झनले प्रभावित कांग्रेसको जागरण

काठमाडौं । आफ्नो कार्यकाल लम्ब्याउने रणनीतिअन्तर्गत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशव्यापी रुपमा एकमहिने जागरण अभियान सुरु गरे । बैशाख ११ गतेदेखि आरम्भ गर्ने भनिएको जागरण अभियान पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनका कारण १३ दिन पछि सरेर गत सातादेखि आरम्भ भयो ।

तर, धेरैजसो जिल्लामा जागरण अभियान सुखद रहेन । एक पक्ष र अर्को पक्षबीच आरोप–प्रत्यारोपबाट जागरण अभियान सुरु भयो । सिन्धुपाल्चोक जिल्लामा भने एकापसमा कुटपिट भयो । कुटपिटबाट सभापति देउवापक्षीय एक कर्यकर्ता सख्त घाइते भए ।

सिन्धुपाल्चोकको घटनालाई लिएर सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा छलफल समेत गरेका थिए । नेपाली कांग्रेसको केन्द्रमा तीन गुट तथा एक दर्जन जति उपगुटहरु छन् । यी गुट तथा उपगुटबीच पानी बाराबार भने छैन । तर जिल्लामा भएका गुट तथा उपगुटमा भने पानी बाराबारको अवस्था छ । त्यो अवस्था बेला मौकामा भौतिक भिडन्तमा परिणत हुने गरेको छ ।

गत साता सिन्धुपाल्चोकमा भएको त्यही हो । सिन्धुपाल्चोकमा मोहन बस्नेत र विकास लामाका अलग–अलग गुट छन् । बस्नेत केन्द्रीय सदस्य हुन् भने लामा जिल्ला सभापति । भूपेन्द्र थापा, प्रेमध्वज लामा, तारानाथ दाहाललगायतको समर्थनका कारण जिल्ला सभापति लामा बलिया छन् । आफ्नो जिल्लामा वर्चश्व गुमाएको भन्दै देउवा पत्नी आरजु राणाले कचकच गर्ने गरेका कारण पनि मोहन बस्नेत पछिल्ला दिनमा लामाको गुटप्रति असहिष्णु र आक्रामक बनेका छन् ।  

नाताले आरजु राणा र मोहन बस्नेतकी श्रीमती माण्डबी राज्यलक्ष्मी राणा फुपु–भदै पर्छन् । मोहन बस्नेत र भूपेन्द्र थापा मामा–चेला, फुपू–चेला हुन् । तर अलग–अलग गुटबाट आपसी प्रतिस्पर्धा भएका कारण यी दुई नेताबीच पानी बाराबारको अवस्था छ ।

धेरैजसो जिल्लामा नेपाली कांग्रेसका नेताहरुबीच पानी बाराबारको अवस्था भए पनि केही जिल्लाको अवस्था भने धेरै नै पेचिलो देखिन्छ । उदाहरणका लागि नुवाकोट जिल्लालाई लिन सकिन्छ ।
नुवाकोटमा अर्जुननरसिंह केसी दाजुभाइको एउटा गुट र डा. रामशरण महतका दाजुभाइको अर्को गुटबीच दशकौंदेखि पानी बाराबारको अवस्था छ ।  केन्द्रमा केसी र महत प्रायः एउटै गुटमा रहन्छन् तर एकापसमा बोलचाल नभएको वर्षौ भइसकेको छ । केसी र महतबीचको यो द्वन्द्व पञ्चायतकालदेखिकै हो ।

केसी नेवि संघका संस्थापक केन्द्रीय सदस्य हुन् । त्यतिबेला उनको उचाई देउवा र रामचन्द्र पौडेलको हाराहारीमै थियो । दोस्रो अधिबेशनमा केसी पनि अध्यक्षका दावेदार थिए । तर, पार्टीले हस्तक्षेप गरी देउवालाई निर्विरोध अध्यक्ष बनायो । महामन्त्री बन्ने पालो केसीकै थियो । तर, अध्यक्ष देउवाले नुवाकोटकै डा. रामशरण महतलाई महामन्त्री बनाए । त्यसबेलादेखि नै केसीले आफूलाई असुरक्षित महसुस गरे । २०३६ सालको जनमत संग्रहमा बहुदलकै पक्षमा प्रचारमा लागेका केसी बहुदलको पराजयपछि पञ्चायत प्रवेश गरे ।  

२०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा कांग्रेसकै मत पाएर उनले चुनाव जिते । पञ्चायती राजनीतिमै केसीको उचाई राष्ट्रिय स्तरमा पुग्यो । उनी मन्त्री समेत भए । यता डा. महत भने विश्व बैंकमा मोटो तलव आउने जागिर खान गए । डा. महतको ठाँउमा उनका भाइ डा. प्रकाशशरण महत नेवि संघको राजनीतिमा स्थापित भए । 

२०४४ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा डा. प्रकाशशरण महत नेवि संघको महामन्त्री थिए । पार्टीमाथि प्रतिबन्ध लागेका कारण खुल्ला राजनीति नेवि संघको माध्यमबाट हुन्थ्यो । जब २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा अर्जुननरसिंह केसी दोस्रो पटक नुवाकोटबाट चुनाव लडे तब नेवि संघका तत्कालीन महामन्त्री डा. प्रकाशशरण महत ठूलो दलबलसहित नुवाकोट पुगेर चुनाव बहिष्कारको अभियान सुरु गरे । कांग्रेसका मत केसीले पाउने अवस्था रहेन । चुनाव हारे । महतहरुकै कारण चुनाव हार्नुपरेको कुरा केसीलाई थाहा थियो ।

२०४६ सालको अन्दोलन सफल भयो । २०४७ जेठ १५ गते सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा अलगअलग राष्ट्रिय प्रजातन्त्र पार्टी दर्ता भए । जसमध्ये थापाको पार्टीका महामन्त्री तथा प्रवक्ता बने– अर्जुन नरसिंह केसी । तर त्यसबेला महत कांग्रेसको राजनीतिमा कोइराला गुटमा थिए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले महतहरुलाई रुचाउँदैनथे ।

यो अवस्था बुझेका अर्जुन नरसिंह केसीले गणेशमान सिंहमार्फत् कांग्रेस प्रवेश गरी २०४८ सालको निर्वाचनमा नुवाकोटबाट टिकट लिए । नुवाकोटमा त्यतिबेला तीनवटा निर्वाचन क्षेत्र थिए । जसमध्ये दुई वटामा केसी र महत चुनाव लडेका थिए । तर, केसीले महतलाई अन्तर्घात गरिदिए । केसीले जिते, महतले हारे ।  

चुनाव हारेका महतलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए तर चुनाव जितेका केसीले केही पनि पाएनन् । यसरी आक्रोसित बनेका केसीले गणेशमान सिंहको कान फुक्न  थाले । चुनाव हारेकाहरुलाई कुनै पदमा ल्याउन नहुने विज्ञप्ति गणेशमान सिंहको नामबाट जारी गर्न केसी सफल भए ।

नेपाली कांग्रेसको दुर्दशा गणेशमान सिंहको यही विज्ञप्तिपछि सुरु भएको हो । यो द्वन्द्व लम्बिँदै जाँदा ०५१ सालमा संसद विघटन भई मध्यावधि निर्वाचन भयो । मध्यावधि निर्वाचनमा केसी र महत दुबैले चुनाव जिते । नेपाली कांग्रेस सत्तामा जाँदा कि त दुबैलाई मन्त्री बनाउनु पर्ने कि त दुबैलाई बाहिर राख्नुपर्ने अवस्था सिर्जना भयो । तर, दुबै जना मन्त्री भइरहे । २०५६ को निर्वाचनमा केसीले हारे, महतले जिते । जितेका महत मन्त्री भइरहे । बाहिर बसेर केसीले खेलकुद गरिरहे ।

पार्टी विभाजनका बेला पनि यी दुबै नेताहरु कोइराला पक्षमै रहे । ११औं र १२औं महाधिवेशनमा पनि कोइराला पक्षबाटै चुनाव जिते । १३ औं महाधिवेशनमा केसी देउवा पक्षबाट महामन्त्रीको उम्मेद्वार बने भने महत पौडेल पक्षबाट केन्द्रीय सदस्य बने ।

देउवा पक्षबाट महामन्त्रीको उम्मेद्वार भए पनि केसीले चुनाव जित्न सकेनन् । अर्थात्, देउवा पक्षले उनीमाथि अन्तर्घात ग¥यो । किनकि देउवा पक्षमा भाइ महत (डा. प्रकाशशरण) हावी थिए । देउवा पक्षबाट महामन्त्रीको उम्मेद्वार बन्नु नै केसीका लागि ठूलो राजनीतिक घाटा थियो ।

कांग्रेसका दुई पक्षमध्ये एउटा पक्षमा दाइ महत हावी छन्, अर्को पक्षमा भाइ महत हावी छन् । सिटौला पक्षमा लाग्नुबाहेक केसीका लागि विकल्प छैन । उनले आफ्ना ज्वाइँ गगन थापालाई सिटौला पक्षको नेता बनाइसकेका छन् । अब ज्वाइँ गगन थापामार्फत् महत दाजुभाइमाथि बदला लिने रणनीतिमा केसी छन् ।-समयबद्ध साप्ताहिकबाट