फोरम–नयाँ शक्ति एकतामा कार्यकर्ताको असन्तुष्टि

फोरम–नयाँ शक्ति एकतामा कार्यकर्ताको असन्तुष्टि


सिरहा, ३१ बैशाख । तामझामका साथ राजधानीमा एकता गरेको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीभित्र असन्तुष्टि बढेको छ । 


एकताको नाममा पार्टीबाट ‘मधेस’ र ‘फोरम’ शब्द हटाइएको भन्दै फोरमका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् भने पार्टी एकताको नाममा अपमानजनक व्यवहार भएको भन्दै नयाँ शक्तिका नेता कार्यकर्ताहरु असन्तुष्ट छन्् ।


ती दुई पार्टीले एक साताअघि राजधानीमा एकताको घोषणा गर्दै एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखेका छन् । मधेस आन्दोलनको जगमा निर्माण भएको पार्टीको नामबाट ‘मधेस’ र ‘फोरम’ शब्द हटाइएको भन्दै फोरमका अगुवा कार्यकर्ताहरूले असन्तुष्टि जनाएका हुन ।


पार्टीको नामबाट ‘मधेस’ र ‘फोरम’ शब्द हटाएर समाजवादी पार्टी बनाउनु मधेश आन्दोलनको भावनाविपरीत भएको भन्दै फोरमका असन्तुष्ट नेता कार्यकर्ताहरुले यसबाट पार्टी अध्यक्ष उपेन्द्र यादव मधेसको एजेन्डाबाट पछाडि हटेको आरोप समेत लगाएका छन् ।


पहिलो मधेस आन्दोलन मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा भएको र फोरमको नामबाटै परिचित भए पनि अहिले एकीकरणका नाममा त्यसलाई हटाउनु गलत भएको टिप्पणी गरेका छन् । 


‘फोरम’ शब्द हटाएपछि अब पार्टीले मधेस आन्दोलनको मुद्दा छाडेको महसुस भएको यसबाट मधेसी सहिदहरुको अपमान भएको फोरमका अगुवा कार्यकर्ताहरुको भनाई छ । 

आन्दोलनको माग पूरा नभएको अवस्थामा पार्टीको नामबाट ‘मधेस’ र ‘फोरम’ शब्द हटाइनु मुद्दा छाड्नु सरह भएको समेत असन्तुष्टहरु बताउँछन् । 


मधेसका लागि आन्दोलन गर्ने तर माग पूरा नभएको अवस्थामा एकताको बहानामा मुद्दा नै ओझेलमा पर्ने गरी नाम परिवर्तन गर्नु गम्भीर धोका भएको भन्दै मधेश आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेल भएको उनीहरुको बुझाइ छ । 


मधेसवादी भनेर मतदाताले रूचाएको पार्टीबाट ‘मधेस’ र ‘फोरम’ शब्द हटेपछि मधेसी मतदातासमेत रूष्ट बनेकोले अगामी निर्वाचनमा पार्टीको जनाधार कमजोर हुने उनीहरुको चिन्ता बढ्ेको छ ।


यस्तै नयाँ शक्ति नेपालका नेता कार्यकर्ताहरु समेत फोरम–नयाँ शक्ति एकताबाट सन्तुष्ट हुन सकेको छैन् । 

फोरमसँग एकता गरे लगत्तै पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका विश्वासपात्रको रुपमा परिचित नेता रामरिझन यादवले पार्टी एकता गर्दा पार्टीभित्र गम्भीर छलफल नभएकाले एकता प्रक्रियामा सहभागी नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।


 
एकताको नाममा पुर्वप्रधानमन्त्री डा. भट्टराईलाई उपेन्द्र यादवले सपथ खुवाउनु उचित नभएको भन्दै यसबाट एकताको नाममा अपमानजनक व्यवहार भएको बताए । 


एकीकृत पार्टीको केन्द्रीय पदाधिकारी चयनमा समेत अपमानजनक भएको भन्दै यस्तै अवस्थामा पार्टी एकतालाई स्वीकार्न नसकिने नेता यादवको कथन छ ।