मदन–आश्रितको २६ औँ स्मृति दिवसमा यसरी हुँदैछ नेकपा एकीकरण टुंगिएको घोषणा

मदन–आश्रितको २६ औँ स्मृति दिवसमा यसरी हुँदैछ नेकपा एकीकरण टुंगिएको घोषणा

काठमाडौं, १ जेठ । केपी शर्मा ओली नेतृत्वको पूर्व नेकपा एमाले र प्रचण्ड नेतृत्वको पूर्व माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको यही जेठ ३ गते एक वर्ष पुरा हुँदैछ । सो दिन जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस पनि हो । 

पार्टीको काम सकेर काठमाडौं फर्किदै गर्दा मदन र आश्रित सबार जीप २०५० जेठ ३ गते चितवनको दासढुंगाबाट त्रिशुली नदीमा रहस्मय तरिकाले खस्दा उनीहरुको घटानास्थलमै ज्यान गएको थियो ।

सोही अवसर पारेर तत्कालिन नेकपा एमालेको केन्द्रीय कार्यालय मदन नगर बल्खुमा नेकपाले एक विशेष समारोह आयोजना गरेर पार्टी एकीकरण टुंगिएको घोषणाको तयारी गरेको छ ।

ठीक एक वर्ष अघि बल्खुमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्षद्वय ओली र दाहालले मदन भण्डारीको सपना पुरा गर्दै समृद्ध नेपाल निर्माणका दुई पार्टी एकता घोषणा गरेका थिए । पार्टी एकीकरण एक वर्ष हुनै लाग्दा जनवर्गीय संगठनको एकीकरण र पोलिटव्युरो गठनलगायतका काम बाँकी छन् । 

हालसम्मको नेकपाको प्रगति भनेको स्थायी समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटि निर्माण हुनु हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली बुधबार भियतनाम र कम्बोडियाको भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् । उनी फर्किएल लगत्तै अन्तिम चरणमा रहेको पार्टीका सबै जनबर्गीय संगठनको एकता प्रकृयाको काम सम्पन्न हुने एक सचिवालय सदस्यले झिल्कोलाई बताए ।
नेकपाको भातृ संगठनहरुमध्ये मजदुर, महिला, युवा, शिक्षक र पत्रकारसहितका जनसंगठन पूर्वमाओवादीलाई र किसान, विद्यार्थी, पेशागत महासंघ, भारत प्रवास, जातीय मुक्ति समाज, (दलित) पूर्व एमालेको भागमा परेको छ ।