जबज र २१ औँ शताब्दीको जनवादलाई सश्लेषण गरी समाजवादतर्फ उन्मुखः अध्यक्ष प्रचण्ड

 जबज र २१ औँ शताब्दीको जनवादलाई सश्लेषण गरी समाजवादतर्फ उन्मुखः अध्यक्ष प्रचण्ड

काठमाडौँ ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताएका छन् ।

छब्बीसौँ मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सन्दर्भमा आज मदननगरमा आयोजित कार्यक्रममा उनले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताए ।

पूर्व पव्रधानमन्त्रीसमेत रहेको दाहालले अन्तराष्ट्रिय रुपमा माक्र्सवाद सङ्कटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय भएको दाहालको कथन छ । नयाँ परिस्थितिअनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र हामी वैज्ञानिक सश्लेषण गर्न समर्थ हुन्छौँ” उनले भने ।

अध्यक्ष दाहालले एकता भाँड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकोणका कारण कसैको केही नलागेको बताए ।

केही महीनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गरिने योजना रहेको पनि उनले बताए ।