राष्ट्रिय एकता हुन नदिन विभिन्न षड्यन्त्र भइरहेका छन्ः प्रधानमन्त्री ओली

 राष्ट्रिय एकता हुन नदिन विभिन्न षड्यन्त्र भइरहेका छन्ः प्रधानमन्त्री ओली

काठमाण्डौ, ३ जेठ । प्रधामन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अहिले आफ्नो पार्टी नागरिकका पक्षमा काम गरिरहेकाले आगामी निर्वाचनमा पार्टीले दुई तिहाई मत प्राप्त गर्ने दाबी गरेका छन् । उनले भने ‘अहिले हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन । अहिले हामीसँग अलिकति दुई तिहाई छैन । नपचेर के गर्ने अर्को पटक दुई तिहाईको हुन्छ यो सरकार ।’

मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिन विभिन्न षड्यन्त्र र प्रयास भइरहेको बताए । उनले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्वन्द्व मच्चाउन खोज्ने प्रयास भइरहेको दाबी गरे । सरकारको विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भइरहेको भन्दै त्यसतर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने दाबी गरे ।

प्रतिक्रियावादी, नेपालविरोधि, जनविरोधि शक्तिका दूराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पूर्णता दिने काम भएको र जनवर्गीय संगठनहरुको एकीकरण गरी नेतृत्वको टुंगो लगाइएको उनले बताए ।

एकीकरणको भावनालाई ध्यानमा राखेर मन फराकिलो बनाउदै अघि बढ्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरे । उनले भने ‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन । यतिबेला फराकिलो पन र फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई ध्यानमा राख्दै अघि बढ्ने हो ।’