धरहरा निर्माणमा स्थानीयको अबरोध, व्यापारीले दिए सरकारलाई नै चुनौती 

धरहरा निर्माणमा स्थानीयको अबरोध, व्यापारीले दिए सरकारलाई नै चुनौती 

काठमाडौं । भूकम्पले ढालेको सुन्धाराको धरहरा निर्माणमा स्थानीयले अवरोध गरेपछि निर्माणकार्य अबरुद्ध भएको छ । निर्माण कार्यले गर्दा सुन्धारा संरक्षण हुन नसकेको र पैदलमार्ग अबरुद्ध भएको भन्दै स्थानीय व्यापारीहरुले बिरोध गरेपछि काम रोक्नु परेको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए ।

धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल भइरहेको बेलामा काम नैं अवरुद्ध पार्नु आश्चर्य भएको जनाएको छ ।

स्थानीयले हुलाक कार्यालय र काठमाडौं मलको बीचमा पैदल मार्ग खुलाउनु पर्ने माग गर्दै विगत ६ महिनादेखि अवरोधको प्रयास गर्दे आएका थिए । हाल धरहरा निर्माणको काम १३ प्रतिशत मात्र पुरा भएको छ ।

स्थानीयले अवरुद्ध गर्दै जाने हो भने निर्माणको काम समयमै सम्पन्न हुनेमा निर्माण पक्षले अशंका व्यक्त गरेको छ । आफुहरुलाई काम गर्ने वातावरण तयार पारिदिन सम्बन्धित पक्षसँग अनुरोध गरिएको प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताए ।

तर स्थानीय बासिन्दा र व्यापारीहरुले भने आफुहरुलाई धरहरा निर्माण कार्यले गर्दा विगत ६ महिनादेखि आजजाउमा समस्या पर्दै आएको आरोप लगाउदै आएका छन् ।