भाजपाले दई लाख सरकारी स्कूल बन्द गराएको छ, हरियाणामा विज्ञान विषयको अध्ययनमा रोक लगाएको छ : कन्हैया कुमार

भाजपाले दई लाख सरकारी स्कूल बन्द गराएको छ, हरियाणामा विज्ञान विषयको अध्ययनमा रोक लगाएको छ : कन्हैया कुमार

(कन्हैया कुमार जवाहरलाल नेहरु (जेएनयू) विश्वविद्यालय छात्र संघका पूर्व अध्यक्ष हुन । हालै उनी भारतीय कम्युनिष्ट पार्टीकोतर्फबाट १७ औं लोकसभा निर्वाचनमा विहार बेगुसराय जिल्लाबाट प्रत्यासी भएका थिए । उनी केही दिन यता बेगुसरायबाट हराएको प्रचार फेक मिडियाहरुले गरिरहेको सन्दर्भमा उनको यो भनाई सार्वजनिक भएको हो । मोवाइलको प्रयोग नगर्ने भएकोले उनीसँग सम्बन्ध साँध्न कठिन छ । तर, उनी पश्चिम बंगालमा पार्टी कामको सिलसिलामा आएको खबर छ । हालै पश्चिम बंगाल (कोलकाता) मा ईश्वरचन्द्र विद्यासागरको प्रतिमा तोडफोड भएको घटना ठूलो राजनैतिक मुद्धा भएको छ । भारतीय जनता पार्टी र बंगालको सत्तारुढ पार्टी तृणमुल कांग्रेसले यो घटनामा एकअर्कालाई दोष दिएर चुनावी माहोल आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको बेला कन्हैयाको यो भनाइ उनको ब्लकमा आएको छ । विद्यासागरलाई बंगालमा ठूलो समाज सुधारक, शिक्षाविद, बाग्ला भाषाका प्रचारक र अंग्रेज विरोधी आन्दोलनका स्वतन्त्रता सेनानीको रुपमा उच्च सम्मान गरिन्छ ।) 

आज करौडौं रुपैया खर्च गरेर देशमा हिन्दूहरु खतरामा परेका छन् भनेर भ्रम फैलाइएको छ । तर, साँचो चाहिं के हो भने यहाँ हिन्दू होइन, विज्ञान, तर्क र संविधान खतरामा छ ।

जसले विद्यासागरको मुर्ति तोड्यो वास्तवमा उसले पूरै देशमा शिक्षा (विद्या) को विरुद्ध अघोषित युद्ध छेडेको छ । भाजपाले आफ्नो शासनकालमा देशभर करिव दुई लाख सरकारी स्कूल बन्द गरेको छ । हरियाणा राज्यमा तीन सयभन्दा बढी स्कूलमा विज्ञानको पढाइ बन्द गरिदियो । यतिमात्र होइन आधुनिक शिक्षामा भाजपाले बर्षेनी बजेट कटौती गर्दै आएको छ । 

यसको पछाडि उसको एकमात्र अभीष्ट छ, कि भाजपा नागरिकलाई एउटा भिडमा रुपान्तरण गर्न खोज्दैछ । लोकतन्त्र र मानवअधिकार माथि चोट पु¥याउनु भाजपाको विचारधारा हो । लोकतन्त्रमा हिंसा र प्रतिहिंसाको कुनै गुन्जाइस हुन्न । जुनसुकै प्रकारको हिंसा होस त्यो समस्याको समाधान होइन ।

जसले विद्यासागरको मुर्ति तोड्यो उसले भविष्यमा विद्यासागरको सेतु तोड्ने मनसाय राख्यो भने पनि आश्चर्य मान्नु पर्दैन । अंग्रेजले फुटाउने र राज गर्ने नीति ल्याएका थिए । तिनै अंग्रेजको ताबेदारी गर्नेले नागरिकलाई विभाजन गर्ने नीति अपनाइरहेका छन् । आम नागरिकलाई विभिन्न बहानामा बाँडेर उनीहरुको ध्यान भड्काउने नीति अपनाइरहेका छन् । 

यस्तो ध्यान तब भड्काउन सकिन्छ जव स्कूल (अस्पताल) बाट ध्यान मोडेर श्मसान (कब्रस्तान)लाई राजनीतिको केन्द्रमा राखिन्छ । भाजपाले देशमा ठूलो नोक्सानी गरेको छ । यो नोक्सानीको भर्पाइ चुनावी जीतहारले मात्र गर्न सक्तैन । आगामी समयमा नागरिकको सामूहिक प्रयासले मात्र नोक्सानीको भर्पाइ गर्न सकिन्छ ।

नरेन्द्र दाभोलकर, गौरी लंकेश, गोविन्द पानसरे, कुलबुर्गी आदि सपुतहरु अज्ञानतालाई भगाउने र ज्ञानको बाटोमा हिँडाउने अभियान गर्दागर्दै शहिद भए । हामीले उनीहरुको योगदानलाई भुल्नु हुँदैन । अज्ञानताको अन्धविश्वासलाई फैलाउन कपट गर्नेहरुको विरुद्ध एकजुट भएर संघर्ष गरेमात्र ति शहिद स्मृतिको सम्मान गरेको ठहर्छ ।