बुद्ध जयन्तीकै दिन सिरहाको ढोढनास्थित राजदेवी मन्दिर परिसर रगताम्य

बुद्ध जयन्तीकै दिन सिरहाको ढोढनास्थित राजदेवी मन्दिर परिसर रगताम्य

सिरहा, ४ जेठ । बुद्धजयन्तीकै दिन आज सिरहाको लहान नगरपालिका १५ ढोढनास्थित राजदेवी मन्दिरमा बहानैदेखि रगतको खोलो बगेको छ । 

लहान बजारदेखि करिब ७ किमि उत्तरमा पर्ने ढोढनाको चुरेको छेउमा सानो डाँडामाथि रहेको राजदेवीको मन्दिरमा बोका, कुखुरा, हाँस, परेबा लगायत लाखौ पशुपंक्षीहरुको बली चढाएका कारण रगतको खोलो बगेको हो । 

पशुपंक्षीहरुको बली चढाउने गरेका कारण मन्दिर परिसर रगताम्य बनेको छ भने रगतको सानो खोलो नै बगेको देखिन्छ । अन्य बर्षको तुलनामा यो बर्ष बढी बली चढ्ने अनुमान गरिएको छ ।

वैशाख पूर्णिमाकै दिन बली दिइने सो मन्दिरको वलिप्रथा हालसालै नभई त्यसले करीब एक सय २५ वर्षभन्दा बढीको गाथा बोकेको छ । मन्दिरका पाँचौ पुस्ताका पुजारी डम्बर बहादुर भट्टका अनुसार राजदेवी माताले वैशाख पूर्णिमाका दिन आफ्नो मन्दिरमा बली चढाएमा सबैको फलिफाप हुने भनी सपनामा बताएपछि त्यहाँ वलिप्रथा शुरु भएको थियो ।

एक सय २५ वर्ष अगाडि अहिले मन्दिर रहेको स्थानमा ठूलो जङ्गल र चरण क्षेत्र रहेको थियो । चुरे नजिकै रहेको चौधरी र भट्टहरुको परिवारमा पालन गर्ने गाईवस्तुहरु चराउन चुरे जंगलमा लगिन्थ्यो । 

त्यसक्रममा प्रत्येक दिन एउटा÷एउटा गाई हराउन थालेपछि त्यतिखेर गाउँका ठूला धामीको रुपमा रहेका दिलाराम भट्टले त्यस स्थानमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दर्शन दिई वैशाख पूर्णिमाकै दिनमा बली चढाए र भाकल गरी पुजा गर्ने हो भने सबै समस्या टर्ने जनश्रुती रहेको पुजारी भट्टको कथन छ । त्यही विश्वासमा प्रत्येक बर्ष बैशाख पुर्णिमाका दिन मन्दीरमा बली चढाउन आउनेको संख्या बर्षेनी बढ्दै गएको छ । 

सिरहा, सप्तरी, सुनसरी, धनुषा, महोत्तरीसहित छिमेकी देश भारतबाट समेत श्रद्धालुहरु बली चढाउन आउने गरेको मेला समितिका सदस्य विरेन्द्र चौधरीले जानकारी दिए । 

लहान बजारदेखि ढोढनास्थित मन्दिरसम्मको सडकमा अत्यधिक बिहानैदेखि भिडभाड देखिएको छ । भिड हुँदा आवतजावतमा कठिनाइ भइरहेको छ । 

मेलामा कुनै किसिमका आपराधिक क्रियाकलाप हुन नदिन व्यापक मात्रामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।