म्यान्मारका रोहिँग्या भारतीय प्रहरीको सेटिङमा नेपाल प्रवेश रोकिएन

म्यान्मारका रोहिँग्या भारतीय प्रहरीको सेटिङमा नेपाल प्रवेश रोकिएन

काठमाडौं, ४ जेठ । शान्ति, अहिंसाको नारा दिने, बौद्ध धर्मको अनुयायी बताउने बर्माका शासकले त्यहाँको अल्पसंख्यक मुस्लिमलाई गरेको दमनको बाछिटा नेपालमा पनि परेकै छ । त्यहाँ अमानवीय रुपमा निकालिएका रोहिंग्या नेपाल प्रवेश बढेको बढेइ छ ।  

म्यान्मारको रखावान प्रान्तमा बसोबास गर्ने मुसलमानहरुलाई त्यहाँको सरकारले दमन गरेपछि केही रोहिँग्याहरु भागेर नेपाल प्रवेश गरेका थिए । बर्मामा भएको गृहयुद्धबाट प्रभावित हुँदा रोहिँग्या समुदाय नेपाल प्रवेश गरी विगत ७ वर्षदेखि बसोबास गरिरहेका छन् ।

बर्माका रोहिँग्या समुदाय भागेर अन्य मुलुक प्रवेश गर्ने क्रममा उनीहरु सन् २०१२ देखि काठमाडौको कपनस्थित लसुनटार, चुनिखेल, राम मन्दिर क्षेत्रमा शिविर खडा गरी बसोबास गरिरहेका छन् । उनीहरुलाई नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर) र बिभिन्न मुस्लिम संगठनहरुले आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । उनीहरुलाई भर्खरै काठमाडौको कमलपोखरी बस्ने मोहम्मद इब्राहिमले राम मन्दिर शिविरको ८२ परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन् ।

भारतीय प्रहरीसँगको मिलेमत्तोमा उनीहरुलाई भारत हुदै नेपाल प्रवेश गराउने गरेको पछिल्ला दिनमा खुलासा भएको छ । अन्यत्र भन्दा नेपाललाई उनीहरुले राम्रो ठाउँ मानेको बताएका छन् । यसैले भारतीय र नेपालका सीमा क्षेत्रका प्रहरीलाई पैसा खुवाएर नेपाल भित्रिएका छन् । नेपालमा रहेका शरणार्थीहरुले पैसा उठाएर प्रहरीलाई पैसा खुवाउने गरेको शरणार्थीहरुले बताएका छन् । 

उनीहरु करिव एक सय ७० परिवार गरी ७ सय हाराहारीको संख्यामा रहेको एक अध्ययनले जनाएको छ । बर्मामा भएको गृहयुद्धको समयमा त्यहाँको सरकारले रोहिँग्या समुदायमाथि देशद्रोहीको आरोप लगाएका थियो । त्यसपछि उनीहरुलाई स्वदेशमा बस्ने वातावरण भएन र अन्य मुलुकमा शरणार्थीको रुपमा पुगे । सोही क्रममा नेपालमा पनि रोहिँग्याको प्रवेश गरे ।

स्थानीयको जग्गा भाडामा लिएर बसिरहेका उनीहरुले विभिन्न मजदुरी गर्दै आएका 
छन् । रोहिँग्याका कारण स्थानीय नेपाली समुदायलाई विभिन्न समस्या आइलागेको भन्दै स्थानीय प्रशासनमा समेत उजुरी दिएका छन् । 

यसरी नेपालमा शरणार्थीहरु थपिदैं जाँदा देशको आन्तरिक सुरक्षामा खतरा हुनुका साथै सास्कृतिक पहिचानमा समेत धक्का लाग्ने विश्लेषकहरु बताउँछन् ।

अमानवीय रुपमा निकालिएका र अमानवीय रुपमा शरणार्थी रुपमा बसेका उनीहरुलाई शान्ति सुरक्षाको ग्यारेण्टी गराएर आफ्नै थातथलोमा फर्काउन कूटनीतिक पहल बढाउनु पर्छ । भूटानीहरुको जुन नराम्रो हालत भयो, त्यो अवस्था दोहोरिन दिनु हुँदैन ।