चीन नीतिबारे प्रस्ट पार्न दूतावासले पत्र काटेपछि समाजवादी पार्टीमा हंगामा

 चीन नीतिबारे प्रस्ट पार्न दूतावासले पत्र काटेपछि समाजवादी पार्टीमा हंगामा

काठमाडौं, ५ जेठ । मधेसी जनाधिकार फोरम हुँदै संघीय समाजवादी फोरम नेपाल र नवगठीत समाजवादी पार्टीको केन्द्रीय सदस्य बनेका प्रदीप यादव यतिखेर हारगुहार गर्दै हिँडेका छन् । केहीदिन अगाडि यादव लाटभियामा भएको ‘फ्रि तिब्बत मुभमेण्ट’ सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा सहभागि भएका थिए । उनले लाटभियाको सम्मेलनमा उपस्थित भएपछि ‘फ्रि तिब्बत मुभमेण्ट’ को तयारी गर्न कार्यपत्र प्रस्तुत भएपछि जिल्ल परेको जनाएका छन् ।

पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका यादव लाटभिया गएको पार्टीलाई समेत जानकारी थिएन । नेपालस्थित चिनीया राजदूतावासल समाजवादी पार्टीलाई चीन नीतिबारे पार्टीको धारणा प्रस्ट पार्न जब पत्र लेख्यो तब भने नवगठीत पार्टीलाई तातो लाग्यो । चिनीया दूतावासको पत्रमा यादव लाटभिया गएको सूचना पाएपछि मात्र पार्टीलाई जानकारी भएको थियो । 

पार्टीले यादवलाई लिखित स्पष्टीकरण सोध्यो । यादवले जेठ १ गते बुधवार पार्टी मुख्यालयमा स्पष्टीकरण बुझाएका छन् । यादवले स्पष्टीकरणमा झुक्किएर गएको उल्लेख गरेका छन् । पार्टीका केन्द्रीय उप–महासचिव प्रकाश अधिकारीलाई बुधवार बुझाएको स्पस्टीकरण चित्तबुझ्दो नभएकाले अधिकारीले अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईलाई एकै स्थानमा भेला गराएर यो प्रकरण बारेमा राय सल्लाह लिएका थिए । उपेन्द्र यादवले साधारण सदस्यसमेत नरहनेगरी कार्वाही गर्नुपर्ने धारणा राखेको र अन्य दुई नेता भने चुपचाप बसेको स्रोतले जनाएको छ ।

स्रोतले जनाए अनुसार दूतावासको पत्रको जवाफ दिनै पर्ने किसिमको आएको छ । सम्भवतः पत्रको जवाफ तयार भएपछिमात्र यादव प्रकरण बाहिर आउने छ । यादवको विगत र वर्तमानको क्रियाकलापलाई हेरेर कुण्डली तयार गर्ने काम भैरहेको छ । फ्रि तिब्बत मुभमेण्टमा समाजवादीका अन्य नेताहरु पनि लागेको संकेतयुक्त पत्र दूतावासको छ । पार्टीले दूतावासलाई उक्त पत्रको जवाफ लेख्ने तयारी गरिरहेको श्रोतले जनाएको छ ।