जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक: प्रचण्ड

जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक: प्रचण्ड

काठमाडौँ,५ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक रहेको बताएका छन् ।

ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवनिर्मित भवनको आइतबार ढोलाहिटीमा उद्घाटन गर्दै उनले थानीय तहका जनप्रतिनिधिहरुलाई जनताको मन जितेर काम गर्न आग्रह गरे । उनले भने “सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको सरकार बनेको हो । स्थानीय तह जनताको सेवासुविधाका लागि हो । त्यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ”, उनले भने ।

केन्द्रीय सिंहदरबारबाट जनताले सेवा लिन नसकेको कारण तीन तहको सरकार बनाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री दाहालले बजेट र पूर्वाधारको अभावले धेरै स्थानीय तहमा जनअपेक्षित सेवा प्रदान गर्न नसके पनि जनपक्षीय काममा केन्द्रित हुन सकिने बताए । 

स्थानीय सरकार सञ्चालनका लागि केही ऐन नियम बनिनसकेको र अभाव रहेकैबेला हिजोकै एकात्मक राज्य नै ठीक भन्ने केही सल्बलाउन थाले पनि क्रमशः विकास निर्माणले गति लिन थालेपछि त्यस्तो प्रवृत्ति हराएर जाने उनको भनाई थियो ।

ललितपुरको समृद्धि र विकासमा आफ्नो पनि चाहना रहेको भन्दै अध्यक्ष दाहालले यसका लागि प्रधानमन्त्रीसहितको जनप्रतिनिधिको बैठक राख्न पहल गरिने बताए उनले भने, “ललितपुर जिल्लाको समृद्धि र यहाँको जनताको हितका निम्ति निरन्तर सहयोग गर्ने वचन दिन्छु ।”