चिनियाँ डिजिटल भुक्तानी प्रणाली नेपालमा प्रतिबन्ध !

चिनियाँ डिजिटल भुक्तानी प्रणाली नेपालमा प्रतिबन्ध !

काठमाडौं ७ जेठ । अवैधानिक रूपमा सञ्चालनमा रहेका डिजिटल भुक्तानी प्रणालीहरूलाई प्रतिबन्ध लगाउने कार्य अगाडि बढाइएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालमा सञ्चालनमा रहेको भनिएका डिजिटल भुक्तानी प्रणालीहरूको अनुगमन र नियमनलाई अगाडि बढाइरहँदा चिनियाँ डिजिटल भुक्तानी प्रणाली विच्याट पे र अलि पेलाई नेपालमा प्रतिबन्ध लगाउने आदेश दिएको हो ।

राष्ट्र बैंकका पदाधिकारीहरूका अनुसार यस्ता अन्य डिजिटल भुक्तानी प्रणालीका बारेमा कानुन अनुसार दर्ता भए नभएको त्यसको जानकारी लिएर आवश्यक कारबाही अघि बढाइनेछ ।

चीनमा विच्याट र अलि पे भुक्तानीका लागि सर्वाधिक लोकप्रिय डिजिटल एपहरू हुन ।

उपभोक्ताका भुक्तानी गर्नुपर्ने झन्झटलाई यस्ता डिजिटल भुक्तानी प्रणालीले समाधान गरिदिएको छ । बिलको भुक्तानीलाई चिनियाँहरूले यस्तै डिजिटल वालेटको माध्यमबाट गर्ने गर्छन् । 

यस्ता डिजिटल एपहरू नगदहीन(क्यासलेस) व्यवहार भएको समाजमा ज्यादा लोकप्रिय भइरहेका छन् । क्यासलेस व्यवहार भएको समाजमा मानिसहरूलाई रूपैया नदेखेको महिनौ र वर्षौ हुने गरेको छ । सबै काम यस्ता डिजिटल भुक्तानी विधिहरूबाट हुने गरेको छ ।

नेपाल आउने  चिनियाँ पर्टयकहरूले नेपालमा विच्याट र अलि पे एपको प्रयोग गर्ने गरेका थिए ।

राष्ट्र बैकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले नेपालमा दर्ता नभइ डिजिटल भुक्तानी सेवा दिने एप सञ्चालकहरूले अवैध काम गरिरहेको बताए । उनले भने “यसबाट कर सरकारले नपाएर आर्थिक घाटा मात्र नभइ यो सुरक्षाको दृष्टिकोणले समेत समवेदनशील छ ।”

सन् २०१८ मा चिनियाँ पर्यटक १,५३,६०२ आएका थिए । यो सन् २०१७ को तुलनामा ४६.८ प्रतिशतले बढेको थियो । तिनीमध्ये अधिकांशले यही तरिका अपनाउँदा नेपालमा आर्थिक घाटा हुने राष्ट्र बैंकका अधिकारीका ठहर छ ।