सुमार्गी नेतृत्वको कम्पनीले अर्बौ रकम बुझाउन बाँकी

सुमार्गी नेतृत्वको कम्पनीले अर्बौ रकम बुझाउन बाँकी

काठमाडौं । विवादास्पद व्यवसायी अजेयराज सुमार्गी स्वामित्वमा रहेको नेपाल स्याटलाइट टेलिकमले अर्बौं रकम बराबरको पुँजीगत लाभकर भुक्तानी नगरेको देखिएको छ ।

आन्तरिक राजस्व विभागले सूचना जारी चार अर्ब ३१ करोड रूपैयाँ बराबरको पुँजीगत लाभकर बुझाउन आग्रह गरेको छ ।

यो रकम सात वर्ष पुरानो भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । 

नेपाल स्याटलाईट कम्पनीले आफ्नो हिस्साका ७५ प्रतिशत शेयर टेलिया सोनेरालाई बिक्री गर्दा बुझाउनुपर्ने पुँजीगत लाभकर नबुझाएकोले सो चुक्ता गर्न आन्तरिक राजस्व विभागले सूचना जारी गरी आग्रह गरेको हो ।

सन् २०११ मा नेपाल स्टाटलाइट टेलिकमले साइप्रसमा रहेको एयरबेल सर्भिस मार्फत टेलिया सोनेरालाई ७५ प्रतिशत शेयर पाँच अर्ब ७१ करोड रूपैयामा बिक्री गरेको थियो । त्यस बिक्रीमा कम्पनीलाई पाँच अर्ब ६३ करोडको रेकर्ड मुनाफा भएको थियो ।

आन्तरिक राजस्व विभागले जनाए अनुसार सुमार्गी स्वामित्वको नेपाल स्याटेलाइट टेलिकमले त्यतिखेर एक अर्ब ४० करोड बुझाउनुपर्ने रकम नबुझाएको देखिएको हो ।

त्यतिखेरको प्रचलित कानुन अनुसार यस्तो सम्झौताबाट मुनाफाको २५ प्रतिशत बुझाउनुपर्ने भएकोमा नबुझाइएको हो । समयमा सो रकम नबुझाएर अहिले बढेर चार अर्ब ३० करोड रूपैयाँ हुन पुगेको हो । यो रकममा बिलम्ब शुल्क र अन्य लाग्ने सबै दस्तुर जोडिएको हो ।

स्मरणीय छ, तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा सुमार्गीलाई गुन्द्रुकको मूल्यमा वहुमूल्य फ्रिक्वेन्सी दिइएको थियो । 

२०७६ साल जेठ ७ गते