पाँचथर हत्याकाण्डः एकै व्यक्तिले नौ जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान
पाँचथर, ७ जेठ । पाँचथर हत्याकाण्डमा एकै व्यक्तिले नौ जनाको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्यको हत्या गरेको बयान र आफुहरुको अनुसन्धान लगभग मिल्न थालेको प्रहरी श्रोतले जनाएको छ । बिहानपख सम्पर्कमा आएकी सीताले खाना खाएर सुतिसकेपछि आएका एक व्यक्तिले खुकुरी हानेर पालैपालो ज्यान लिएको बयान दिएकी छिन् ।
‘परिवारका सदस्यमाथि खुकुरी प्रहार भएपछि म कसैले थाहा नपाउने गरी भागें’, उनले प्रहरीसमक्ष भनेकी छिन् । स्थानीयको सम्पर्कमा बिहान आएकी सीतालाई प्रहरीले आफूसँगै राखेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालयमा छिन् ।
घटनास्थलमा छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा टोली खटाइसकेको छ। प्रदेश नम्बर एकबाट पनि कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ । ‘घटनामा बालिकाले दिएको बयानलाई आधार बनाएर हामीले अनुसन्धान सुरू गरिसकेका छौं’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने,‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानले घटनामा एक जनामात्रै सहभागी भएको देखाउँछ।’
प्रतिक्रिया