भारतको निर्वाचन परिणामको घोषणासँगै दक्षिण एसियाको राजनीतिले कोल्टे फेर्ने संकेत
काठमाडौं । भोलि अर्थात, विहिवार (मे २३) मा भारतको तल्लो सदनको निर्वाचन परिणाम आउँदैछ । यो परिणामको घोषणासँगै दक्षिण एसियाको राजनैतिक गतिविधिले कोल्टे फेर्यो भने पनि अन्यथा नमाने हुन्छ । सत्तारुढ भाजपाले सरकार बनाए पनि दक्षिण एसियाली सम्बन्धहरुसँगै विश्व राजनैतिक धुरीमा पनि व्यापक परिवर्तन हुने लक्षण छ ।
लोकसभा निर्वाचनको परिणाम सत्तारुढ भाजपा गठबन्धनकै पक्षमा आउने देखिएसँगै दक्षिण एसियाको क्षेत्रीय राजनीतिमा व्यापक परिवर्तन हुने संकेत विश्लेषकहरुले गरेका हुन् । सत्तारुढ भाजपाले विगतको परम्परागत क्षेत्रीय कूटनीतिलाई पुनरावलोकन गर्ने र त्यसमा सबैभन्दा बढी नेपाल प्रभावित हुने अड्कल गरिएको छ ।
नेपालमा यसअघि भएको पश्चिमा शक्ति खासगरी हिन्द–प्रशान्त रणनीतिमा भएको कुदाकुदले पारेको राजनीतिलाई सत्तारुढ भाजपाले नजिकबाट नियालिरहेको थियो । यसै परिदृश्यमा हिन्द–प्रशान्त रणनीतिकारले भाजपालाई निर्वाचनमै सेबोटेज गर्न चाहेको थियो । यसमा रणनीतिकारले खासै सफलता प्राप्त गर्न त नसकेको नै अड्कल गरिएको छ । तर, भाजपालाई निर्वाचनमै हावाकावा भने खेलाइ दियो । लोकसभा निर्वाचनमा अन्तर्राष्ट्रिय शक्ति केन्द्र खासगरी पश्चिमा शक्तिहरुले खेलेको भूमिकाका कारण भाजपाले निर्वाचनपछि क्षेत्रीय राजनीतिलाई बढावा दिने देखिएको हो । यसमा सार्कलाई पुन सक्रिय बनाउने र यस क्षेत्रको क्षेत्रीय शक्ति सन्तुलन र सम्बन्धलाई सामान्यीकरण गर्ने हदसम्मको काम बढाएर क्षेत्रीय राजनीतिलाई आफू अनुकूल बनाउने प्रयास अब आउने भारत सरकारले गर्ने संकेत हालै भारत भ्रमणमा गएका नेपाली पत्रकारलाई भारतको विदेश मन्त्रालयले गरेको छ ।
यसो नगरे फेरि पनि भारतीय राजनीतिको बर्चस्व यस क्षेत्रबाट गुम्दै जाने अड्कल सरकारले गरिसकेको आफूलाई लागेको एक पत्रकारले समयबद्धलाई बताए । छिमेकी चीनसँगको अनावश्यक प्रतिष्पर्धाले भारतमा पश्चिमा शक्तिको प्रवेशसँगै भारतीय राजनीतिमा भारतीय दलकै पकड ढिला हुँदै गएको भारतीय राजनीतिका विचारकहरुले गर्दै आएका छन् । पश्चिमाहरुको प्रभावलाई विचरण गर्न दिए भारतको दक्षिण एसियाली बर्चस्व गुम्ने र अन्तर्राष्ट्रिय मञ्चहरुमा बार्गेनिङ गर्ने क्षमतामा कमी आउने निश्चित छ । यसै कुराको पूर्तिका लागि अब बन्ने सरकारले कम से कम दक्षिण एसियाली राष्ट्रहरु, सरकारहरुसँगको पुरानो सम्बन्धलाई नयाँ आधारमा नविकरण गर्ने देखिएको छ । श्रीलंकामा भएको आतंकवादी हमलामा भारत मुकदर्शक हुनुपरेको स्थितिले आउने सरकार झनै गम्भीर हुनुपर्ने स्रोतहरुले जनाएका छन् ।
क्षेत्रीय राजनीतिको अनिवार्यता
भाजपा मोदी नेतृत्वको सरकार बने यता क्षेत्रीय राजनीतिलाई वेवास्ता गर्ने वा अतिरिक्त सोच लागू गर्दा भारतले घाटा मात्र व्यहोरेको छ । नेपाल–भारत, हिन्द–पाक, हिन्द–चीन र हिन्द महासागर वरपरका श्रीलंका, माल्दिप्स, बंगलादेशसँगका सबै सम्बन्धहरु पुनरावलोकन नगरे उसले बर्चस्व स्थापित गर्न नसक्ने स्थितिमा पुगेकाले अबको भारतीय राजनीति त्यसै दिशातर्फ केन्द्रित हुने देखिएको छ । चीनसँग सम्बन्ध सुमुधुर गर्ने र पाकसँगको सम्बन्ध सामान्यीकरण गरे दक्षिण एसियामा भारतीय बर्चस्व कायम रहने निश्कर्षका भारतीय विचारकहरु पुगेको र त्यसै अनुरुप भारतीय राजनीतिले कोल्टे फेर्ने संकेत गरेका छन् । यो विचारको कार्यान्वयन अनिवार्य गराउन भारतीय चुनावमा पश्चिमा शक्ति राष्ट्रहरुले गरेको अनावश्यक हस्तक्षेपलाई भारतले गम्भीरतापूर्वक लिएको बुझिन्छ ।
यता भारतको निर्वाचनमा चीन र पाकिस्तानको सदासयताले भाजपालाई गम्भीर शिक्षा दिएको भारतीय विचारकहरुको धारणा छ । भारतको आन्तरिक मामिलामा दुवै देशले कुनै पनि प्रकारको गडबडीमा हिस्सेदार नभएकोले नै भाजपाको अस्तित्व जोगिन पुगेको अर्थमा लिएका छन् ।
एसियाली सभ्यताको सेरोफेरो
यता चीनले विश्व राजनीतिमा आफ्नो बर्चस्व बढाउन बेल्ट एण्ड रोड इनिसिएटिभको दोस्रो शिखर सम्मेलन लगत्तै ‘प्रथम एसियाली सभ्यता सम्मेलन’ आयोजना ग¥यो । यो सम्मेलनमा एसियाका सबै देशहरुले सक्रियताका साथ भाग लिएका छन् । पश्चिमा शक्ति राष्ट्रहरुको एक से एक कूटनैतिक, रणनैतिक दौडादौडको बीचमा गरिएको यो सम्मेलनले एसियाली सभ्यताको एकताको प्रस्थान विन्दु प्रदर्शन गरेको छ । भारत यो सभ्यता सम्मेलनमा उच्च महत्वका साथ सहभागी भइरहेको छ । आगामी वर्ष चीन–भारत कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव भव्य बनाउने पूर्व तयारी पनि भारतले यसै वर्षदेखि गरिरहेको छ ।
सभ्यता पुनर्जागरणका लागि गरिन्छ । कुनै समय सम्पन्न एसियाली सभ्यता पश्चिमा देशको हमला र आपसी बैमनस्यताले युद्धमा परिणत भएको थियो र यहाँको शान्ति, समृद्धि र सद्भाव खत्तम भएको थियो । चीनले गरेको यो सभ्यता सम्मेलन एसियाली समाजमा शान्ति स्थापना, समृद्धि र सद्भावका लागि हो । यसरी वीआरआईलाई स्थापित गर्न सभ्यताको पुनर्जागरण गर्न गरिएको लक्ष्यसहित एसियाली मुलुक भन्दा बाहिर गए भारतले पाउँदै आएको दक्षिण एसियाली वर्चस्व गुम्न नदिने भूमिकामा लाग्ने छ । यस्तो बर्चस्व विकसित गराउन भारत सरकार अबका दिनमा आक्रामक रुपले राख्ने देखिन्छ । दक्षिण एसियामा आफ्नो बर्चस्व स्थापित गर्ने र बाँकी एसियामा चीनको स्वार्थसँग नबझाउने गरी नेतृत्व पनि लिन सक्नेछ ।
विगतमा दक्षिण एसियाली देशहरुलाई भारतीय चस्माबाट हेर्ने पश्चिमा रणनीति फेरिए र सिधै हेर्ने पश्चिमा शक्ति राष्ट्रहरुको दृष्टिकोण बाहिर आएसँगै भारत अहिले क्षेत्रीय राजनीतिलाई आफ्नो पकडमा राख्ने अभियानमा जुट्ने निश्चित छ । नयाँ सरकार बनेसँगै यस क्षेत्रको सत्ता, सरकार परिवर्तन भयो भने अनौठो नमाने हुन्छ । भारत–चीन–पाकिस्तान–रुससँगको नयाँ सम्बन्ध विस्तारसँगै दक्षिण एसियाको क्षेत्रीय राजनीतिमा व्यापक परिवर्तन हुनेमा अहिले नै आश्चर्य नमाने हुन्छ । समयबद्ध साप्ताहिकबाट
प्रतिक्रिया