मिडिया काउन्सिल विधेयक र 'क्लिन फिड'का फाइदा

मिडिया काउन्सिल विधेयक र 'क्लिन फिड'का फाइदा

फणीन्द्र फुयाल ज्वाला

विदेशी च्यानलमा विज्ञापनरहित प्रसारण ‘क्लिन फिड’ नीति लागु हुनुपर्ने माग आइरहेका बेला संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा पनि क्लिन फिड नीतिको व्यबस्था गरिएको छ ।

क्लिन फिड नीति विज्ञापनको विषय मात्र नभएर नेपाली मिडिया उद्योगको विकास र राष्ट्रिय स्वाभिमानसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो । थुप्रै मुलुकमा अभ्यास भइरहेको र नेपालमै पनि अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त कतिपय मिडिया क्लिन फिड स्वरुपमै प्रसारण भइरहेका भएपनि त्यसको कार्यान्वयन पूर्णं रुपमा हुन भने सकेको छैन ।

सरकार नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापनरहित सामग्री (क्लिन फिड) २०७३ सालमा पहिलो पटक ल्याएको थियो । तर सुरुआती दिनमा उक्त नीति कार्यान्वयनमा ल्याउन तत्कालिन सरकारलाई निकै सकस भयो । प्रसारण नै रोक्ने भारतीय प्रसारकहरुको चेतावनीपछि उक्त नीति परिमार्जन गर्ने निष्कर्षमा सरकार पुगेको थियो ।

तर उक्त नीति लागू गर्न मन्त्रालयले छुट्टै प्रसारण प्राधिकरण (ब्रोडकास्टिङ अथोरिटी) गठन गर्ने योजना बनाएको थियो । सबै टेलिभिजन वितरकले क्लिन फिड सामग्री दिने गरी प्रविधि राख्ने अवस्था थिएन । त्यसैले समग्र रुपमा सरकारले नै क्लिन फिड गरिएका सामग्री वितरकलाई उपलब्ध गराउन सक्ने गरी प्राधिकरण नै गठन गर्नु पर्ने निस्कर्षमा सरकार पुगेको थियो ।

नेपालले क्लिन फिड लगाउने तयारी गरेपछि भारतीय टेलिभिजन वितरकहरुले नेपालका लागि छुट्टै सामग्री उत्पादन गर्न नसकिने बताएका थिए । पछिल्ला सकारीस्तरका छलफलमा पनि उनीहरुले त्यसमा आफ्नो ठूलो लगानी र जनशक्ति लाग्ने भएकाले सम्भव नहुने बताएका थिए ।

तर बर्तमान सरकार क्लिन फिड नीति लागु गर्नेमा प्रतिबद्ध छ । जुन विषय भर्खरै राष्ट्रियसभाबाट पास भइ प्रतिनिधिसभामा पेस भएको मिडिया विधेयकमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । क्लिन फिडका कारण देशमा प्रसारण हुने टेलिभिजन सामाग्री कानूनी दायरामा आउँछन् भने क्लिन फिड लागू भएपछि भारतीयसहित विदेशी च्यानलहरुले नेपालमा अहिलेकै अवस्थामा प्रसारणको अधिकार पाउँदैनन् । उनीहरुले नेपालमा प्रसारण हुने आफ्नो सामग्रीमा विज्ञापन हटाउनै पर्छ ।

क्लिन फिड नीति अक्षरसः लागू भए भारतीय तथा अन्य बैदेशिक सामाग्रीहरुको नेपालमा सित्तैमा बिज्ञापन गर्ने प्रचलनको अन्त्य हुने छ भने स्वदेशमै उत्पादित सामाग्रीले राम्रो बजारीकरणको अवसर प्राप्त गर्न सक्छन् र देश आर्थिक समृद्धितर्फ उन्मुख हुनेछ । सरकारले लिएको समृद्ध नेपाल, सुखि नेपालीको अवधारणामा क्लिन फिड नीतिले टेवा पु¥याउने बिश्लेषकहरुको भनाई छ ।

नेपाली बजारलाई लक्षित गरेर बहुराष्ट्रिय कम्पनीहरुले भारतका च्यानलमा पैसा खर्च गर्ने गरेका कारण नेपालले त्यसबाट लाभ लिन सकिरहेको थिएन । क्लिन फिड लागू भए उनीहरुले नेपालमै विज्ञापनका लागि पैसा खर्च गर्न पाउँछन् । साथै, नेपाली टेलिभिजन दर्शकले पनि विदेशी च्यानलमा अनावश्यक विज्ञापन हेर्नु पर्दैन । यो नीति पूर्णरुपमा लागू भए अहिले वार्षिक ६ अर्बको नेपाली विज्ञापन बजार १२ अर्बभन्दा माथि पुग्ने दाबी व्यवसायीहरुको छ ।

क्लिन फिड नीति लागू गर्नकै निम्ति केबुल वितरक संघहरुले पनि सरकारको अवधारणालाई सहयोग पु¥याउँदै आएका छन् । त्यही भएर हाल टेलिभिजनमा सेटअप बक्स, डिस होम लगायतका प्रविधिको जडान गर्नेपर्ने ब्यबस्था लागू भएको छ । समयबद्ध साप्ताहिकबाट