सैनिक जवानको हत्यापछि तेनुवापट्टीका पुरुषहरु भागाभाग

सैनिक जवानको हत्यापछि तेनुवापट्टीका पुरुषहरु भागाभाग

८ जेठ, सिरहा । सिरहाको वरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी गाउँका युवा तथा पुरुषहरु भागभाग भएको छ । 

संखुवासभाको खाँदबारी स्थित बराह दल गुल्ममा कार्यरत सैनिक जवान अनिस कुमार सिंहको स्थानीयहरुको कुटपिटबाट मृत्यु भएपछि तनुवापट्टीका युवा र पुरुषहरु घर छाडेर भागेका हुन् । 

गत बैशाख २८ गते राती तनेवापट्टीका स्थानीहरुले बिजुलीको पोलमा बाँधेर कुटपिट मृत्यु भएपछि गाउँका युवा तथा पुरुषहरु गाउँ छोडेर भागेका हुन् । 
युवा तथा पुरुषहरु गाउँ छाडेपछि यतिबेला तेनुवापट्टी गाउँमा महिला, बालबालिका र वृद्धहरुमात्र रहेका छन् । 

गाउँमा कोही नयाँ व्यक्ति पुग्नासाथ त्यहाँका महिला र बृद्धबृद्धाहरुमा त्रास देखिने गरेको छ । सैनिक जवान सिंहको मृत्यु भएको खबरसँगै गाउँमा भएका  सबै पुरुषहरु घर छाडेर फरार भएपछि गाउँ नै सुनसान जस्तै बनेको स्थानीयहरुले बताएका छन् । 

बिदामा सिरहाको बरियारपट्टी गाउँपालिका ४ सोहपुरस्थित घर आएका सैनिक जवान सिंहलाई तनुवापट्टीका स्थानीय वीरेक्षण यादवको घरमा चोरी गरेको आरोप लगाउँदै स्थानीयहरुले निर्घात कुटपिट गरेको थियो । 

स्थानीयहरुको कुटपिटबाट गम्भीर घाईते भएका सैनिक जवानको काठमाण्डौस्थित सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा २ दिनपछि मृत्यु भएको थियो । 

पीडित परिवारबाट किटानी जाहेरी आएपनि तनुवापट्टीका अधिकांश पुरुषहरु घरमा ताला लगाएर फरार रहेकाले अभियुक्तहरुलाई पक्राउ गर्न नसिकएको सिरहाका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिए । 

यद्यपी अनुसन्धानका लागि तनुवापट्टीका ५/६ जनालाई नियन्त्रणमा लिएपनि प्रारम्भिक अनुसन्धानबाट उनीहरुको संलग्नता पुष्टी हुन नसकेकाले आवश्यक परेको बेला प्रहरीमा उपस्थित हुने गरी छाडिएको परी उपरिक्षक श्रेष्ठले बताउनुभयो । अनुसन्धानमा असर गर्ने भन्दै प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । 

घटनाका अभियुक्तहरु वरिपरिका गाउँहरुमा लुकेको हुन सक्ने भएकाले प्रहरी परिचालन गरि खोजी गरिरहेको र कतिपय व्यक्तिहरु भारततिर पनि लुकेर बसेको खबर आएकाले भारतीय प्रहरीसँग समन्वय गरिरहेको प्रहरी उपरिक्षक श्रेष्ठको कथन छ ।