नेपालका नेताहरुले दिएको शुभकामनामा मोदीले फर्काए यस्तो जवाफ...

नेपालका नेताहरुले दिएको शुभकामनामा मोदीले फर्काए यस्तो जवाफ...

काठमाडौं, १० जेठ । भारतको तल्लो सदन लोकसभाको मतगणना नसकिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सत्तारुढ पार्टी भारतीय जनता पार्टीलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बहीबार नै शुभकामना दिएका थिए । 
प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले मोदीको बिजयलाई ट्वीटर र टेलिफोनमार्फत नै शुभकामना दिएका हुन् भने अर्का अध्यक्ष प्रचण्डले सामाजिकसञ्जालमार्फत शुभकामना ब्यक्त गरेका हन् ।

त्यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि भारतीय प्रधानमन्त्री मोदीलाई पत्रमार्फत शुभकामना दिएका थिए । काँग्रेसका नेता रामचन्द्र पौडेलले पनि मोदीलाई ट्वीटमार्फत शुभकामना दिएका थिए भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, राप्रपा अध्यक्ष कमल थापालगायतले सामाजिकसञ्जालमार्फत शुभकामना दिएका थिए ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएको शुभकामना भारतीय सञ्चारमाध्यमलेसमेत प्राथमिकतासाथ प्रकाशन तथा प्रसारण गरेका छन् ।

भारतमा चुनाव जितेपछि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई दिइएको बधाईको लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेपाली नेताहरुलाई जवाफ फर्काएका छन् । 

उनले प्रधानमन्त्री ओलीलाई फर्काएको जवाफमा धन्यवाद दिँदै नेपाल र भारत लामो समयदेखि निकटका साथी र छिमेकी भएको उल्लेख गरेका छन् । उनले जनस्तरमा प्रगाढ सम्बन्ध रहेको चर्चा गर्दै  दुई देशको सम्बन्ध अझ उचाईमा पुर्याउनका लागि ओली सँग काम गर्न आफू प्रतिक्षा गरिरहेको समेत जनाएका छन् ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको बधाईको जवाफ फर्काउँदै मोदीले भारतले नेपालसँग सम्बन्धलाई महत्व दिएको बताउँदै नेपालको उच्च राजनीतिक तहमा निरन्तर सम्बन्धको लागि आफू प्रतिक्षारत रहेको समेत जनाएका छन् । 

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको बधाईको जवाफमा मोदीले धन्यवाद दिँदै नेपाल र भारतबीचको विशेष सम्बन्धको चर्चा गरेका छन् । उनले  दुई देशबीच रहेको  परम्परागत निकट र मित्रवत सम्बन्धलाई अझ बलियो बनाउन आफूहरु प्रतिबद्ध रहेको समेत जनाएका  छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ट्विट मार्फत दिएको बधाईमा धन्यवाद दिँदै मोदीले भारत दुई पक्षीय सम्बन्ध सुदृढ गर्नका लागि नेपाल सरकारसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा जवाफ फर्काउँदै मोदीले आफूहरु नेपालसँगको साझेदारीलाई अझ बलियो बनाउने कुरामा गहिरो हिसाबले प्रतिबद्ध रहेको जनाएका छन् ।