थारु पहिचानको साझा अवधारणा के हो ?

थारु पहिचानको साझा अवधारणा के हो ?

१२ जेठ, खस्यौली । रुपन्देहीको मणिग्राममा थारु आयोगले आयोजना गरेको छलफलमा  थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायको पहिचानको विषयलाई व्यवस्थित गर्न साझा अवधारणा निर्माण गर्नुपर्ने बताएका छन् । तर, अध्यक्ष चौधरीले थारु पहिचानको साझा अवधारणा के हो भन्ने भने खुलाएनन् । थारु समुदायको इतिहासको विस्तृत अध्ययन गर्ने काम भइरहेको जानकारी दिँदै भाषाको कठिनाइ, कठरिया र राना थारुको अलगरुपमा सूचिकृत हुने विषय समस्याको रूपमा देखिएको मात्र बताए । 

प्रदेश नं ५ का प्रदेशसभा सदस्य तुल्सी चौधरीले थारु समुदाय मधेसी नभएको बताउँदै थारु समुदायभित्रको बडघरको संरचनालाई संरक्षण गर्नुपर्नेमा जोड दिए । अर्का प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले थारु समुदायको संस्कृति संग्राहालयमा खोज्नुपर्ने अवस्था आएको बताए । अर्का प्रदेशसभा सदस्य दीपेश थारुले रैथाने थारुको लिपि अहिलेसम्म पनि नभेटिएकोमा चिन्ता व्यक्त गरे । यस्तै प्रदेशसभा सदस्य पुष्पा थारुले शिक्षा र राजनीतिमा थारुको पहुँच कम भएको गुनासो गरिन ।  

पछिल्लो जनगणना प्रतिवेदन २०६८ अनुसार नेपालको कूल जनसंख्यामध्ये १७ लाख ३७ हजार ४७० थारु समुदायको जनसंख्या रहेको छ । नेपालको तराई भू–भागमा बस्दै आएका थारु समुदायको आफ्नै भाषा, संस्कृति, भेषभूषा र आदिम सभ्यता जिवित छ । सो कार्यक्रममा पूर्वमन्त्री गोविन्द चौधरी प्रदेशसभा सदस्य धनकली चौधरी, लोटी चौधरी र थारु आयोगका सचिव आन्नदराम रेग्मीलगायतले थारु अधिकारको विषयमा बोलेका थिए ।