सन्दर्भ कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसः सूर्य र चन्द्रमान पुरस्कृत

सन्दर्भ कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसः सूर्य र चन्द्रमान पुरस्कृत

काठमाडौं, १३ जेठ । प्रेस संगठन नेपालले पत्रकार तथा साहित्यकार शहिद  कृष्णसेन ‘इच्छुक’को १७औँ स्मृति दिवस मनाएको छ । सो अवसरमा ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार सूर्य थापा र ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार चन्द्रमा श्रेष्ठ सम्मानित भएका छन् । 

नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडामा भएको कार्यक्रममा पुरस्कृत पत्रकारहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गर्दै नेकपा अध्यक्षले प्रचण्डले कृष्णसेन इच्छुकले गरेको जनपक्षिय पत्रकारिता र साहित्यको स्मरण गर्दै सेन निर्भीक रुपमा निष्ठापूर्वक श्रमजीवीका पक्षधर भएको स्मरण गरे । 

अध्यक्ष प्रचण्डले पार्टी एकताप्रति अव संस्थागत समस्या नभएको स्पष्ट पनि पारे । उनले पार्टी एकतालाई जनताले नै स्वीकार गरिरहेको भन्दै अव एकताप्रति कुनै समस्या नरहेको स्पष्ट पारेका हुन् ।

जनताले नै पार्टी एकतालाई स्वीकार गरिरहेको भन्दै उनले एकतामाथि कसैको समस्या वा गुनासो भए त्यो व्यक्तिगत समस्या भएको तर पार्टीको समस्या नभएको बताए । उनले पार्टीलाई सशक्त रुपमा अघि बढाउन निरन्तर दुई अध्यक्षबीच छलफलमा रहेको पनि दाबी गरे ।

प्रचण्डले पार्टी एकता दुरगामी भएको भन्दै यो राष्ट्रिय तथा अन्तराष्ट्रिय परिघटना भएको पनि स्मरण गराए । साथै उनले बिना विचार पार्टी एकता नगरिएको भन्दै जनताको माग र अधिकारलाई ध्यान राख्दै संविधानलाई आवश्यक संशोधन र परिमार्जन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले सदनमा दर्ता भएको मिडिया विधेयक परिमार्जन छलफलकै माध्यमबाट हुने पनि बताए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले कृष्णसेनले देखाएको जनपक्षीय बाटोको स्मरण गर्दै मिडिया काउन्सिल विधेयकका बुँदा मिडियाकर्मीसँगकै आपसरी छलफलमा परिमार्जन गर्दै प्रेस स्वतन्त्रतालाई अझ बलियो र जनउत्तरदायी बनाइने बताए ।