विप्लवको बमले प्रदेश २ का जिल्लाहरुमा आतंक

विप्लवको बमले प्रदेश २ का जिल्लाहरुमा आतंक

जनकपुर, १३ जेठ । नेत्रबिक्रम चन्द्र (विप्लव) समुहले प्रदेश २ को बिभिन्न स्थानमा बम राखेर आतंकित बनाएको छ । प्रदेश २ मा पर्ने महोत्तरीको बर्दीबास, रौतहटको चन्द्रपुर, सर्लाहीको हरिपुर लगायतका स्थानमा बम फेला परेपछि सर्वसाधारण त्रसित भएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकाको मुलगेटमा आज विहान बम फेला परेको छ । २.५ लिटरको कुकरमा विष्फोटक पदार्थ राखेर त्यसमाथि एउटा मोबाइल फोन कनेक्ट गरिएको बमा फेला परेको हो । अहिले नेपाली सेनाको टोलीले बम डिस्पोज गरिरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

यस्तै रौतहटको चन्द्रपुरमा पनि बम फेला परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुरको मुख्य चौकीभन्दा करिब एकसय मिटर पूर्व राजमार्गमा चाउचाउको कार्टुनमा प्रेसरकुकर बम फेला परेको हो । बमको कारण त्यस क्षेत्रमा यातायात प्रभावित भएको छ ।

त्यस्तै अज्ञात समुहले गएराति सर्लाहीको हरिपुर नगरपालिका कार्यलयमा बम विस्फोट गराएको छ । वडा नं. २ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात समुहले गराएको बम स्फिोटबाट कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बिस्फोटबाट झ्यालका सिसा फुट्नुकासाथै पूर्वपट्टिको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक प्रतीतसिंह राठोरले जानकारी दिए ।

बिप्लब समुहले आब्हान गरेको नेपाल बन्द सफल बनाउन बम राख्ने र बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

त्यसैगरी अज्ञात समुहले बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा रोकिराखेको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रकमा आज बिहान आगजनी गरेको हो । आगजनी गरिएको उक्त ट्रक नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बाकेर आएको थियो ।

आगजनी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको स्रोतले जनाएको छ । यता बिप्लब समुहले गरेको नेपाल बन्दको प्रदेश २ मा खासै प्रभाब परेको छैन् । धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी जिल्लामा बजार पसल खुलेको छ भने यातायात साधनहरु समते सञ्चालन भईरहेको छ । नीजि विद्यालयहरुमा बिदा दिईएपनि सरकारी शिक्षण संस्था, उद्योग धन्दा पुर्ण रुपमा सञ्चालनमा छन् ।