बौद्धमार्गीबाट लखेटिएकाहरु बुद्धको देशमा शरण

बौद्धमार्गीबाट लखेटिएकाहरु बुद्धको देशमा शरण

काठमाडौं । बौद्धमार्गीको देशबाट लखेटिएका जनता बुद्धको देश नेपालमा शरणार्थीको रुपमा रहेका छन् । कुल जनसङ्ख्यामध्ये झण्डै ९० प्रतिशत बौद्धमार्गी रहेको म्यान्मारबाट खेदाइमा परेका रोहिंग्या म्यान्मारमा अल्पसङ्ख्यकका रुपमा रहेको समुदायका हो । आफूहरु अल्पसङ्ख्यक हुनु नै देशनिकाला हुनुको कारण हो त ? यो प्रश्नको उत्तर यतिबेला उनीहरु खोजिरहेका छन् ।

बुद्धले प्रतिपादन गरेको अहिंसा र सदाचारको बाटोलाई बुद्ध धर्म भनिन थाल्यो । बुद्ध दर्शन वा धर्मका अनेक आयाम छन् । दृष्टि, संकल्प, वचन, कर्म, जीविकालगायतमा धैर्यता प्रदर्शन गर्नुलाई बुद्ध धर्मको प्राण नै मानिन्छ ।
जीवनोपयोगी यस्तै उपदेश दिएर ख्याति कमाएका उनै बुद्धको २५६३ औं जन्मजयन्ती भर्खरै मात्र संसारभर मनाइयो । तिनै बुद्धको विचारबाट निर्देशित ‘धर्म’ मान्ने म्यान्मारको सत्ताले आफ्नै देशका अल्पसंख्यक रोहिंग्यामाथि चलाएको बर्बर दमनले यतिबेला धर्मको नाममा सत्ताले कसरी दमन गर्छ भन्ने जल्दोबल्दो दृष्टान्त पेश गरेको छ ।

सन् २०१६ को अगस्टदेखि राखिने राज्यमा फैलिएको हिंसात्मक घटनाका कारण ६ लाख ४० हजार रोहिंग्या म्यान्मारबाट विस्थापित भए  । विस्तापितमध्ये लाखौं रोहिंग्या बंगलादेशमा शरणार्थीका रुपमा बस्दै आएका छन् । तिनैमध्ये कयौं रोहिंग्या शरणार्थी नेपालसम्म आइपुगेका छन् ।
शरणार्थीका रुपमा आएका रोहिंग्या आफूमात्र आएका छैनन् । उनीहरुसँगसँगै समस्या पनि आएका छन् । बंगलादेश आफै पनि अत्यधिक जनसंख्या बृद्धिको मार खेपिरहेको छ । शरणार्थीका रुपमा प्रवेश गरेको लाखौं रोहिंग्या यतिबेला उसको टाउको दुखाइको विषय बनेको छ ।

अहिलेसम्म नेपालले धान्नै नसक्ने गरी रोहिंग्या शरणार्थी आइपुगेका छैनन् । जति आएका छन् तिनले समस्या जरुर सिर्जना गरेका छन् । रोहिंग्या शरणार्थी जहाँ बसेका छन्, त्यहाँको सामाजिक जीवनमा असर परेको आवाज स्थानीयले उठाएका छन् । झट्ट सुन्दा सामान्य लागे पनि यो जटिल समस्या हो ।

भुटानमा भएको आन्तरिक द्वन्द्वका कारण सुरुका दिनमा फाट्टफुट्ट मात्र भुटानीहरु नेपाल प्रवेश गरेका थिए । पछि भुटानी शरणार्थी नेपालका लागि ठूलै टाउको दुखाइको विषय बन्यो । संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले भुटानी शरणार्थी समस्यालाई लिएर नेपाललाई ‘निगरानी’ मा राखेको उदाहरण पुरानो भइसकेको छैन । संख्या थोरै भए पनि नेपाल भित्रिएका रोहिंग्या शरणार्थीको विषय कुनै दिन अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका लागि नेपालमा चलखेल गर्ने ठूलै विषय बन्न सक्छ । 

आफूलाई शान्ति र अहिंसाका पक्षपाती बौद्ध धर्मको अनुयायी म्यान्मारका शासकले त्यहाँका अल्पसंख्यक मुस्लिम समुदायमाथि गरेको दमनको बाछिटा नेपालसम्म आइपुग्नु राम्रो होइन । अमानवीय ढंगले आफ्नो देश र बासस्थान छाड्न बाध्य रोहिंग्या बंगलादेशका अतिरिक्त भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ ।

म्यान्मारको रखावान प्रान्तमा बसोबास गर्ने मुसलमानहरुलाई त्यहाँको सरकारले दमन गरेपछि केही रोहिंग्याहरु भागेर नेपाल प्रवेश गरेका थिए । सरकारी सेनाले गरेको अत्याचारबाट सिर्जित गृहयुद्धका कारण सन् २०१२ देखि रोहिंग्या समुदाय शरणार्थीका रुपमा नेपाल प्रवेश गरिरहेका छन् । 
आफ्नो घरबास र देश छोडेर भाग्न बाध्य रोहिंग्या शरणार्थीमध्ये नेपाल छिरेकाहरु विगत ७ बर्षदेखि काठमाडौंको कपनस्थित लसुनटार, चुनिखेल, राम मन्दिर क्षेत्रमा शिविर खडा गरी बसोबास गरिरहेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर) र विभिन्न मुस्लिम संगठनहरुले उनीहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

भर्खरै मात्र काठमाडौंको कमलपोखरी बस्ने मोहम्मद इब्राहिमले राम मन्दिर शिविर क्षेत्रमा बसोबास गर्ने ८२ परिवार राहिंग्या शरणार्थीलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन् ।

भारतीय प्रहरीसँगको मिलेमत्तोमा उनीहरुलाई भारत हुँदै नेपाल प्रवेश गराउने गरिएको पछिल्ला दिनमा खुलासा भएको छ । अन्यत्र भन्दा नेपाल आफूहरुका लागि उपयुक्त रहेको उनीहरु बताउँछन् । त्यही भएर भारतीय र नेपालका सीमा क्षेत्रका प्रहरीलाई पैसा खुवाएर नेपाल भित्रिने रोहिंग्याको संख्या बढ्दै गएको छ । नेपालमा आइपुगेका रोहिंग्या शरणार्थीहरुले चन्दा र सहयोगका रुपमा विभिन्न माध्यमबाट संकलन गरेको रकम प्रहरीलाई दिने र त्यसबापत उनीहरुका आफन्त र साथी शरणार्थीलाई नेपाल प्रवेशको चाँजोपाँजो प्रहरीले मिलाइदिने गरेको नेपालमा रहेका रोहिंग्या शरणार्थी बताउँछन् ।

कपन क्षेत्रमा करिव एक सय ७० परिवार गरी ७ सय हाराहारीको संख्यामा रहेको बताइन्छ । म्यान्मार सरकारले रोहिंग्या समुदायमाथि देशद्रोहीको आरोप लगाएको थियो । त्यसपछि उनीहरुलाई स्वदेशमा बस्ने वातावरण भएन र अन्य मुलुकमा शरणार्थीको रुपमा पुगे । सोही क्रममा नेपालमा पनि रोहिंग्याको प्रवेश गरे ।

स्थानीयको जग्गा भाडामा लिएर बसिरहेका उनीहरुले विभिन्न मजदुरी गर्दै आएका छन् । रोहिंग्याका कारण आफूहरुलाई विभिन्न समस्या आइलागेको भन्दै स्थानीयले प्रहरी प्रशासनमा समेत उजुरी दिएका छन् । 
यसरी नेपालमा शरणार्थी थपिंदै जाँदा देशको आन्तरिक सुरक्षामा त खतरा हुन्छ नै यसले साँस्कृतिक पहिचानमा समेत धक्का पु¥याउन सक्ने समाजशास्त्रीहरु बताउँछन् ।

अमानवीय रुपमा निकालिएका र अमानवीय रुपमा शरणार्थी रुपमा बसेका उनीहरुलाई शान्ति सुरक्षाको ग्यारेण्टी गराएर आफ्नै थातथलोमा फर्काउन कूटनीतिक पहल बढाउन र भुटानी शरणार्थीका कारण सिर्जना भएको समस्या दोहोरिन दिन नहुने आवाज यतिबेला उठेको छ ।
आफूहरूलाई रोहिंग्याको रूपमा नागरिकता दिनुपर्ने, सरकारले कब्जा गरेको जमिन फिर्ता गर्नुपर्ने र अन्तर्राष्ट्रिय स्तरमै सुरक्षाको प्रत्याभूति हुनुपर्ने रोहिंग्या शरणार्थीको माग रहेको छ । सुरक्षाको प्रत्याभूति, नयाँ घरको पुनर्निर्माण र सरकारी विभेदकारी नीतिको अन्त्य नभएसम्म आफूहरु म्यान्मार फर्कने वातावरण नबन्ने पनि रोहिंग्या शरणार्थी बताउँछन् ।

बुद्धका उपदेशलाई राज्यधर्मका रुपमा आत्मसात् गरेको म्यान्मारको सत्तालाई बुद्धको जन्मस्थलमा आइपुगेका रोहिंग्या शरणार्थीबारे जानकारी दिन र समस्या समाधानका लागि नेपालले कूटनीतिक पहल गर्नु पर्ने देखिन्छ । नेपाल एक्लैले नसके यसका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चबाट समेत म्यान्मारको सत्तालाई दवाव दिनुपर्छ । यसले आफन्त र देश छोडेर हिंड्न बाध्य रोहिंग्या शरणार्थीलाई त फाइदा पुग्न नै, रोहिंग्या शरणार्थीका कारण झेलिरहेको र झेल्नुपर्ने थप समस्या बेलैमा समाधान हुनेछ ।

भुटानी शरणार्थीलाई नियोजित रुपमा नेपाल पठाएर भारतले ठूलो समस्या सिर्जना गरिदिएको जानकारहरु बताउँछन् । लामो द्वन्द्व र राजनीतिक अस्थिरतापछि यतिबेला नेपाल राजनीतिक परिवर्तनसहित शान्ति र स्थिरताको दिशामा बढिरहेको छ । यस्तो अवस्थामा थोरै संख्यामा रहेका भए पनि अस्थिरता र अशान्तिका लागि यस्ता शरणार्थी पर्याप्त हुन सक्छन् । 

म्यानमारबाट खेदिएका रोहिंग्यालाई भारतले नेपालतिर धपाएर अर्को समस्या सिर्जना गर्न खोजेको पनि हुनसक्छ । हाम्रो भ्रष्टतन्त्रले शरणार्थीहरुलाई नेपालसम्म प्रवेश गर्न थप मलजल पु¥याइरहेको छ । भुटानी शरणार्थीलाई जस्तै राहिंग्यालाई पनि मानवीय सहयोग त गर्नैपर्छ । तर, देशलाई नै बोझिलो बन्न नदिन कूटनीतिक पहल थालिहाल्नुपर्छ । आफ्ना संयन्त्रलाई पनि यसबारे चुस्त राख्न नसके भारतीय र अन्य शक्ति राष्ट्रको स्वार्थको खेलमा नेपाल नराम्रोसँग फस्न बेर छैन । यसतर्फ सबै बेलैमा चनाखो बन्न जरुरी छ । समयबद्ध साप्ताहिकबाट