भारतीय संसदमा बामपन्थीको हास्यास्पद पतन

भारतीय संसदमा बामपन्थीको हास्यास्पद पतन

भवानी बराल

भारतीय लोकसभाको १७ औँ संस्करणमा आइपुग्दा भारतीय बामपन्थी पार्टी पतनको सन्दर्भ संसदीय व्यवस्थामा अनुसन्धानयोग्य विषय बनेको छ । कुनै समय लोकप्रिय मतबाटै संसद र सरकार बनाउन सफल कम्युनिष्टहरु यहिँनेर आएर किन पराजित भए ? बंगाल, त्रिपुराको सरकार कसरी एकै झोक्कामा ढल्यो ? लोकसभामा सत्ताको साँचो बोक्ने पार्टीहरुको यो हविगत कसरी सम्भव भयो ? यि प्रश्नहरुको हल खोजियो भने वास्तवमै आजका कम्युनिस्टहरुको सिद्धान्तनिष्ठ यात्रा र संसदीय व्यवस्थाको संरचनागत यात्रामा उनीहरुको सहभागितासंगै जानसक्छ, सक्तैन खुल्नेछ । कुनैबेला पञ्चायत र वालिक मताधिकारसंगै जान सक्तैन भनेझैं भारतीय वामपन्थी र संसदीय व्यवस्थासंगै जान सक्तैन यो विचारणीय विषय बनेको छ ।

विगतमा बामपन्थीः

कुनै समय थियो भारतमा केरला, त्रिपुरा, पश्चिम बंगाल जस्ता राज्यहरुमा बामपन्थी पार्टीले पूर्ण बहुमतकासाथ सरकार बनाउने गर्दथे । विश्वमै पहिलो पटक संसदीय निर्वाचन उपयोग गरेर केरला राज्यमा सरकार बनाए । सन् १९५७ मा भएको केरला विधानसभामा पहिलो पटक पूर्ण बहुमतकासाथ भारतीय कम्युनिष्ट पार्टीले पहिलो राज्य सरकार बनायो । यसका नेता इएमएस नम्बुदरीपाद मूख्य मन्त्री बने । सन् १९५२ देखि नै लोकसभा निर्वाचनमा भाग लिएको पार्टी पहिलो लोकसभामा दोस्रो ठूलो पार्टी थियो । लामो समयसम्म भारतीय कम्युनिष्ट पार्टी (भाकपा) को लोकसभामा सम्मानित उपस्थिति नै थियो । सन् १९७१ को पाँचौ लोकसभा निर्वाचनसम्म करिव दूइ दर्जनको औसत हाराहारीमा लोकसभा सिटमा प्रतिनिधित्व गर्दै आएको थियो । अधिकतम ९ प्रतिशतसम्म मत प्रतिशत ल्याएको थियो ।

तर जसै छैटौ लोकसभा निर्वाचन (१९७७) देखि भाकपा ओह्रालो लाग्न सुरु ग¥यो । त्यस यता एघारौं लोकसभा (१९९६) सम्म एक दर्जनको हाराहारीको सिटबाट लोकसभामा प्रतिनिधित्व गर्दै रहे । तर बाह्रौं लोकसभा निर्वाचन (१९९८) बाट भने भाकपाको पतन सुरु भयो । सन् २०१४को लोकसभा निर्वाचनमा भाकपाको एक जना उम्मेदवारले मात्र जिते । र, यतिखेर भाकपाले कुलमतको ०.७८ प्रतिशतमात्र मत सुरक्षित गरेको थियो । १७ औं लोकसभाको निर्वाचनमा विहार बेगुसरायबाट कन्हैया कुमारसहित केही सिट ल्याउने अडकल भाकपाको थियो ।

तर, कन्हैया कुमार पनि पराजित भए । यतिखेर भाकपा फेरिपनि दूई सीटमा सिमित भएको छ । अर्थात संसदीय व्यवस्थामा राष्ट्रिय राजनीतिबाट क्रमसः विलोप हुने क्रममा गएको छ । पछिल्लो पटक भाकपाको विभाजनसंगै उसको पतनको रुपमा लिन सकिएला । तर भाकपाबाटै फुटेर बनेको भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)को पनि सन् २०१४ यता त्यस्तै हालत हुँदै गएको छ । अघिल्लो संस्करणमा ९ सिट जितेको माक्र्सवादी १७ औं संस्करणमा ३ सिटमा सिमित भएको छ । भाकपाले एक सीट बढाएर दूई सिटमा प्रतिनिधित्व गर्दैछ । रिभ्यूलस्नरी सोसलिस्ट पार्टी (आरएसपी) १ सिट गरी भारतीय बामपन्थीको लोकसभामा ६ जनाले मात्र प्रतिनिधित्व गर्दैछन् ।

भारतीय संसदको तल्लो सदन लोकसभामा कुनै समय थियो त्यहाँ बामपन्थी (कम्युनिष्ट नामका पार्टी)हरुको उपस्थिति दोस्रो ठूलो पार्टीको रुपमा हुने गर्दथ्यो । तर, भारतीय संसदीय व्यवस्थाको लामो अभ्याससंगै उनीहरुको प्रतिनिधित्व यति संकुचनमा परिसकेको छ कि आज भारतका कम्युनिष्ट पार्टीहरु अस्तित्व रक्षाको लागि लडि रहेका छन् । लोकसभामाा एकाध प्रतिनिधि पठाउन सक्ने हैसियत पनि गुमाउँदै गएका छन् । अप्रिल ११–मइ १९ सम्म भएको  लोकसभाको निर्वाचनमा आधादर्जन मात्र प्रतिनिधि निर्वाचित गराएर खातासम्म खोलेका छन् ।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)को उदयः

भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीले भारतको संसदीय राजनीतिमा सन् १९६७ बाट प्रवेश ग¥यो । सन् १९६७ को चौथो लोकसभा निर्वाचनमा भाग लिएर १९ सिट हासिल ग¥यो । चौधौं लोकसभा (सन् २००४) निर्वाचनसम्म माक्र्सवादी पार्टीले लोकसभामा अधिकतम सिट ४३ वटासम्म जितेको थियो । र कुलमतको औसत ५ प्रतिशत मत हासिल गरेको थियो । सन् २००४ मा भाकपाले १० स्थानमा जितेको थियो । अर्थात यो वर्षमा भारतीय कम्युनिष्टहरु तेस्रो शक्तिको रुपमा थिए । भाजपालाइ पाखा लगाउन उनीहरुले मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउन समर्थन गरे । माक्र्सवादीका सोमनाथ चटर्जी सभामुख बने ।

पछि सरकारबाट बाहिरिदा चटर्जीले सभामुखबाट राजिनामा दिन स्विकार गरेनन् । उनलाइ पार्टीले कार्यवाही ग¥यो । उनले कम्युनिष्ट पार्टी नै परित्याग गरे । यो कुरा किन उल्लेख गरिएको भने भारतीय कम्युनिष्टहरुको पतन माथिल्लो स्तरबाट यहिँबाट सुरु भएको थियो । ज्योति बसुलाई प्रधानमन्त्री बन्न गरेको अफर पार्टीको निर्णय र उनले यस विषयमा ‘महाभूल’ भनेर गरिएको फरकमत पनि भारतीय कम्युनिस्ट पार्टीको पतनसंग छलफल गरिने विषय हो । लामो समयसम्म पश्चिम बंगालको मूख्यमन्त्री बसुको मृत्यु १७ जनवरी २०१० मा भैसकेको छ ।

माक्र्सवादी पार्टी पन्द्रौं लोकसभाबाट ओह्रालो लागेको सन् २०१४ को लोकसभामा आएर ९ सिटमा सिमित भएको छ । १७ औं लोकसभामा ३ सिटमा सिमित भएको छ । यता पश्चिम बंगाल विधानसभामा बर्चस्व जमाउँदै माक्र्सवादीले ३४ वर्षसम्म एकल राज्य सत्ता सञ्चालन ग¥यो । तर लगातार ३४ वर्ष बंगालमा शासन सत्ता सञ्चालन गरेको माक्र्सवादीको पतन सन् २०१४ मा समाप्त भयो । उता त्रिपुरामा पनि त्यहि हालत भयो । त्रिपुरा राज्य विधानसभामा भारी बहुमतले २५ वर्षदेखि शासन सत्ता सञ्चालन गरेको राज्यबाट गत वर्ष नराम्रोसंग पराजित हुन पुग्यो । यो वर्ष पश्चिम बंगालबाट उसले एक सिट पनि सुरक्षित गर्न सकेन ।

सन् १९२५ मा गठन भएको दक्षिण एसिया कै भारतको जेठो पार्टी भारतीय कम्युनिस्ट पार्टी सन् १९६४ मा पहिलो पटक विभाजन भएको थियो । त्यस यता भारतका कम्युनिष्ट पाटीहरु सयौंको संख्यामा विभाजित छन् । भारतीय कम्युनिस्ट पार्टीका दूइ धार छन् । भाकपा, भाकपा –माक्र्सवादी), भाकपा –माले) लगायतका कम्युनिस्ट पार्टीहरु संसदीय धारमा र ७० को दशकमा नक्सलवादी आन्दोलनबाट आएको अर्को धार गैरसं।दीय धारमा माओवादी विद्रोहमा छ ।

विलय र विघटनको संघार

भारतीय कम्युनिष्टहरुको निर्वाचन परिणामका तथ्याङ्कहरु किन दिइएको भने भारतीय कम्युनिष्ट पार्टीहरु किन संसदीय व्यवस्थामा उदाए र अस्ताए भन्ने विषयको सोध अनुसन्धानको लागि नै हो । यो निर्वाचनमा भारतीय कम्युनिष्ट  पार्टी खासगरी माक्र्सवादीको स्थिति झनै खस्केको छ ।

भारतीय कम्युनिष्ट पार्टीको संसदमा उदय र अस्त कसरी सम्भव हुनसक्यो ? यी र यस्तै बग्रेल्ती प्रश्नहरु अनुत्तरित छन् । कम्युनिष्ट पार्टीहरु विलय र विघटनको संघारमा गैरहेको बेला दक्षिणपन्थी क्षेत्रीय दलहरुको उदय भएको थियो । बंगालमा तृणमुल कांग्रेसले बामपन्थी पार्टी माक्र्सवादीलाई दर किनार गरिदियो । तर, यसपटक दक्षीणपन्थी क्षेत्रीय दलले बामपन्थीलाई दर किनार गरेको होइन । त्यसको ठीक विपरित त्यस्ता क्षेत्रीय दललाई पनि राष्ट्रिय स्तरको दक्षिणपन्थी दलले किनारामा धकेले । बंगालमा तृणमुललाई भाजपाले यसरी नै धकेलेको छ । विहार र उत्तर प्रदेशको महागठबन्धनलाइ पनि भाजपाले साइजमा ल्याएको नै मान्नु पर्ने हुन्छ ।

उसो भए के अव भारत वर्षको राजनीति दक्षिणपन्थ तिर ढल्किएको हो ? भारतीय जनता पार्टी जस्तो एकल हिन्दु धर्मतान्त्रिक सांस्कृतिक राष्ट्रवादको नारा बोकेको दक्षिणपन्थी पार्टीको भारी आयतनमा उदय हुनु तर त्यर्हीँनेर आएर कम से कम तुलनात्मक बाम समाजवादी रुझान भएका पार्टीहरुको विलय, पतन हुँदै विघटनको संघारमा पुग्नु पछिको राजनैतिक सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवेशको व्याख्या नै आजको राजनीतिको चुरो कुरो हो । नेपालकै सन्दर्भमा पनि गतवर्ष बाम गठबन्धन नभएको भए नेपालको केन्द्रिय राजनीतिमा यो हदको पकड अवश्य हुने थिएन । तर, अहिले नेपालका दूइ ठूला पार्टीहरु एक भएर नेकपा बनेको छ । तर आगामी आवाधिक निर्वाचनमा पनि यहि हदको राजनैतिक बर्चश्व कायम रहन्छ ? यसको उत्तर खोजी गर्न भारतीय कम्युनिष्टहरुको पतन नेपालका यि पार्टीका ‘होनाहार’ले खोज्न जरुरी छ । राजनीतिबाट अवकास लिनलाई यतिसम्म गरेको हो भने बेग्लै कुरा, नत्र राजनीति गर्नेले समाजमा पौडन जानेन भने विचलनबाट कसैले रोक्न सक्तैन । नेपालको जेठो प्रजातान्त्रिक पार्टी प्रजापरिषदको विघटनबाट पनि शिक्षा लिनु त पर्छ नै ।

माक्र्सवादीको संसदीय पतनः
सन् १९६४ मा भारतीय कम्युनिष्ट पार्टी विभाजित भयो । भाकपाका असन्तुष्ट नेताहरुले भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी नामको अलग पार्टी गठन गरे । भाकपाका जुझारू नेताहरु नम्बूदरीपाद, ज्योति बसु, हरकिशन सिंह सुरजीत आदि माकपामा गए । यो विभाजनले पश्चिम बंगाल जस्ता राज्यमा भाकपाको आधार खस्किदै गयो । केरल राज्यमा पार्टी विभाजनका शुरुआतका केही दशकसम्म भाकपाको प्रभावमा कुनै कमी आएको थिएन ।

सन् १९७०–७७ को दशकमा भाकपाले कांग्रेससँग गठबन्धन गरेर सरकार बनायो । भाकपाका के सी. अच्युत मेनन राज्यको मुख्यमन्त्री (४ अक्टुबर १९७०–२५ मार्च १९७७) भए । यसपछि भने भाकपाको पतन सुरु भयो । सन् १९७७ को भाकपाले माकपासहित साना दलहरुलाइ मिलाएर बाम मोर्चा बनाए । केरलसहीत भारतवर्षमा भाकपा, माकपाको सहयोगी दलको रुपमा छ । बाममोर्चाबाट देखिने प्रतिनिधित्व वाहेक राष्ट्रिय तथा क्षेत्रीय राजनीतिमा उसको नेतृत्व गुमिसकेको छ ।

तर, २०१४ पछि माकपाको स्थिति पनि भारतीय संसदीय राजनीतिमा  कमजोर हुँदै गईरहेको छ । पश्चिम बंगालमा ३४ वर्ष बर्चश्व कायम गरी राज्य सरकार चलाएको माक्र्सवादी पार्टी यति कमजोर देखिएको छ कि उठेर फेरी सोही स्थानमा आउने सम्भावना छैन । केही वर्ष अगाडि (सन् २००४) सम्म राष्ट्रिय राजनीतिको साँचो बोकेर बसेको माकपा सोह्रौं लोकसभामा आएर यति खुम्चिएको छ कि उसको भाउ निर्दलीय सांसद जतिको पनि छैन ।

३४ वर्ष लगातार पश्चिम बंगालमा केही वर्ष जनमत गुमाएर धारासायी भयो । र २५ वर्ष लगातार शासन चलाएको माकपाले गत वर्ष त्रिपुरा राज्यमा नराम्रो पराजय भोगेपछि भने आगामि हुने निर्वाचनमार्फत नै माकपा पनि पतन र विघटनको संघारमा पुग्ने सम्भावना बढेर गएको हो । अहिलेको ताजा निर्वाचन परिणामले यहि परिदृश्य देखाएको छ ।

तथ्यांकबाट पनि विचार विश्लेषण गर्न सकिन्छ । संसदीय व्यवस्थाको उपयोग गर्न कम्युनिष्टहरुलाई आम जनसमुदायले लोकप्रिय बनाउन खोजेकै थिए । तर, कम्युनिष्टहरु संसदीय व्यवस्था उपयोग गर्ने सवालमा चुके । यहिँनेर आएर उनीहरुको पतन सुरुभयो । जनताको दैनिकीसंग भारतीय कम्युनिष्टहरुको सम्बन्ध अन्य दक्षिणपन्थी पार्टीहरु भन्दा केही मानेमा पनि फरक भएन । प्रदेश सरकारमा भारी बहुमत हुँदा बंगालमा जनताको रोजमर्रा भन्दा पनि टाटा नानोको उत्पादन उद्योग सञ्चालन गर्न जनताको जमिन बेदखल गर्ने काममा सरकार लाग्यो । दशौं हजार हेक्टर जमिनबाट समुदायलाइ बेदखल गर्ने र विदेशी कम्पनीलाई उपलब्ध गराउने गैर जनपक्षीय काम गर्न थालेपछि उनीहरुको भोट बैंकमा निराशा छायो ।

त्यही निरासाको फल नगदीकरण गर्न त्रिणमुल कांग्रेस जस्तो घोर दक्षीण पन्थी पार्टी अगाडि आयो । भारतका अन्य दक्षिणपन्थी  पार्टीहरु भन्दा फरक कार्यशैली, कार्यक्रम दिन नसक्ता नै भारतीय कम्युनिष्ट पार्टीहरुको पतन संसदमा हुँदै आएको हो । एउटा सिद्धान्तनिष्ठ कम्युनिष्ट पार्टी कार्यकर्तामा सिमित हुँदैछ । यस अघिनै यस्तै आलेखमा लेखिएको थियो, ‘आउने निर्वाचनमा पनि सोह्रौं लोकसभाको निर्वाचनमा पाएको जत्तिको सफलता पनि प्राप्त गर्ने सम्भावना तुहि सकेको छ । अहिले नै ग्यारेण्टी गर्न सकिन्छ कि मुस्किलले लोकसभामा खातासम्म खोल्ला । यसरी भारतीय राजनीतिमा कम्युनिष्टहरुको तेजोबध हुँदैछ ।’ निर्वाचन अगाडि लेखिएको यी हरफको पुस्टि भएको छ ।

माक्र्सवादी पार्टीले ल्याएको कुलमतको प्रतिशत पनि निराशा जनक छ । यो पार्टीको संसदीय राजनीति उत्कर्षमा पुग्दा कुल मतको ९ प्रतिशत लोकप्रिय मत संग्रह गरेको देखिन्छ । जब संसदीय निर्वाचनमा ओरालो लाग्दै गयो यसको मत प्रतिशत पनि त्यसरी नै घटेको छ जसरी सिटामोल खाए पछि ज्वरोमो पारो घटछ । पछिल्लो तथ्यांक अनुसार सन् २०१४ मा उसको कुल मत प्रतिशतमा १ प्रतिशत पनि पुग्न सकेको थिएन । यसवर्ष झनै निरासाजनक अंक आएको छ ।

भारतको क्षेत्रीय राजनीतिमा उदाएका क्षेत्रीय दलसंगै कम्युनिष्ट पार्टीको पतन सुरु हुनु एउटा संयोग मानिएला तर उसको पराजयको कारण यतिमा मात्रै सिमित छैन । पश्चिम बंगालमा माक्र्सवादीको पतन त्यहाँ भएको भ्रष्टाचार, अनियमितता, गैर जनपक्षीय निर्णय, गोर्खालेण्डको मुद्धामा माक्र्सवादीको विचलनसहीत दक्षिणपन्थी पार्टी भन्दा फरक नदेखिनु प्रमुख कुरा हो । माक्र्सवादी पार्टी भित्र देखिएको बंगाली नश्लवाद, त्रिपुरामा आदिवासी जनजातिमाथि गरिएको उत्पीडन थप कारकहरु हुन ।

यो संगसंगै माक्र्सवादीहरुको सिद्धान्तनिष्ठ संसदको उपयोग गर्नु पर्नेमा त्यसैमा सती जाने प्रवृत्ति मूख्य हो । भारतको दक्षिणपन्थी भाजपा लगायतका पार्टीहरुले अगाडि सारेको कथित हिन्दु धर्मतन्त्रात्मक राष्ट्रवादलाई चिर्न सकेनन् । यस्तो गलत कुरालाइ चिर्नको साटो माक्र्सवादीकै पोलिटब्युरो सदस्य वृन्दा कारतको अभियान त झनै घातक तुरुप बन्यो ।

गठबन्धनको राजनीति :

भारतीय राजनीतिमा गठबन्धनले यस पटक तुल पक्डिएको छ । भारतका घोर दक्षिणपन्थी पार्टीहरु राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) को झण्डामा भाजपाको नेतृत्वमा थिए । अर्काथरी दक्षिणपन्थी पार्टी भारतीय राष्ट्रिय कांग्रेसको नेत्रित्वमा संयुक्त प्रगतिशिल गठबन्धन (यूपिए) को नाममा मोर्चाबन्दी गरे । यस्तै केहि क्षेत्रीय पार्टीहरुले संघीय गठबन्धन, महागठबन्धन बनाएर निर्वाचनमा भाग लिए । तर, बामपन्थीहरुको गठबन्धन कमजोर थियो । दूइ पार्टी भाकपा र माक्र्सवादीको मात्र गठबन्धन थियो । भारतका घोर दक्षिणपन्थीको बलियो गठबन्धन थियो जसले अन्य गठबन्धनलाइ निर्वाचनमा पाखा लगाउन सहज भयो ।

यूपीए, महागठबन्धन, संघीय फ्रण्ट र लेफ्ट फ्रण्टको मात्र पनि मोर्चावन्दी भएको भए दक्षिणपन्थी एनडिएको यो हदको परिणाम अवश्य आउने थिएन ।

यता भाजपा सहित एनडिएले सोसियल इन्जिनियरिङलाई उग्रतासंग उपयोग गरेको थियो । अर्कोतर्फ भाजपालाई क्षेत्रीय राजनीतिको सहयोग पनि देखिने गरी भएको थियो । चिन, रुस, इरानलगायत पाकिस्तानसम्मको सदासयता देखिएको थियो । विआरआइलाई स्थापित गर्न हिन्द–प्रशान्त रणनीतिलाई विस्थापित गर्न चीनले खेलेको भूमिका भारतीय निर्वाचनको यो परिणाम आउनु पछिको रहस्य हो ।

नेपालमै पनि यस्तो तुरुप तराइ–मधेसमा विकसित भैरहेको छ । नेपाली कांग्रेस तराइ–मधेसबाट बढारिँदै गएको छ । यतिमात्र होइन कांग्रेस तराइ–मधेसमा बढारिए कम्युनिष्टहरु त्यहाँ स्थापित हुनु पर्दथ्यो । तर, त्यहाँ तराइ–मधेस केन्द्रित दलहरु समाजवादी पार्टी (पूर्व ससफो) र राजपा स्थापित भएका छन् । भर्खरै सिके राउतको जनमत पार्टी पनि तराइ–मधेसमा केन्द्रित भएको छ । तर राउतको जनमतले समाजवादी पार्टी र राजपालाई रोक्ने र त्यसैको वैशाखीमा मधेस केन्द्रित बाहेकका दल स्थापित होला भन्ने तर्क गर्ने वा त्यस्तो ख्याली पुलाउ पकाउने कुरामा कसैले विश्वास गरेको छ भने त्यो बेकार हुनेछ ।

भारतमा क्षेत्रीय पार्टीहरु आएकोले जस्तोकी त्रिणमुल कांग्रेस आएकोले कम्युनिष्टहरु अर्थात माक्र्सवादी पार्टीको पत्ता साफ भएको वा हुँदै गएको होइन । बरु माक्र्सवादीहरुले घोषणा पत्र अनुसार काम नगरेकोले तेजोबध भएको अर्थ बढी वैज्ञानिक हो । नेपालको तराइ मधेसको हकमा पनि यहि कुरा लागु हुन्छ । नेपालका अन्य भूभागमा मूख्य पार्टीहरुलाई सघाउने बाध्यता छ । त्यहाँ कुनै प्रकारको वैकल्पिक शक्ति उपस्थित भैसकेको छैन् ।

यदि त्यहाँ दक्षिणपन्थी बैकल्पिक शक्ति उपस्थित भयो भने बामपन्थी कम्युनिष्ट वा लोकतान्त्रिक कांग्रेसको फेरो समातेर कोही पनि बस्दैन । मधेसको नियति त्यहाँ पनि सर्छ । कम्युनिष्टहरुले भनेझैं त्यहँँ पनि बोकाको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल नै चल्छ । संसदीय व्यवस्थामा यस्तै नक्कली कामले मान्यता पाउँछ किनकि व्यवस्था नै त्यस्तो हो । 

 


लोकसभा    सालसम्बत    भाकपा    भाकपा (मा)    आरएसपी    फरवार्ड ब्लक     जम्मा
पहिलो         १९५२          १६            –                   –                    –                     १६
दोस्रो           १९५७          २७             –                  –                      –                     २७
तेस्रो           १९६२           २९            –                   –                       –                    २९
चौथो          १९६७          २३            १९                    –                      –                   ४२
पाँचौं          १९७१          २३            २५                     –                      –                   ४८
छैटौं           १९७७          ७            २२                       –                       –                  २९
सातौं          १९८०         १०            ३७                     –                         –                  ४७
आठौं          १९८४         ६             २२                       –                           –               २९
नवौं           १९८९         १२            ३३                       –                           –               ४५
दशौं           १९९१         १४            ३५                      –                             –              ४९
एघारौं        १९९६         १२            ३२                       –                            –              ४४
बाह्रौं          १९९८         ९             ३२                       –                              –               ४१
तेह्रौं           १९९९         ४             ३३                         –                           –               ३७
चौधौं          २००४        १०           ४३                         ३                           ३                  ५९
पन्ध्रौं         २००९         ४            १६                           –                           –                २०
सो¥हौं        २०१४         १            ९                           १                              –                ११
सत्रौं          २०१९          २           ३                            १                                –                ६

 

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)


क्रम सं    पार्टी                     सिट
१    भारतीय जनता पार्टी     ३०३
२    शिव सेना    १८
३    जनता दल यूनाइटेड    १६
४    लोक जनशक्ति पार्टी    ६
५    अपना दल (सोनेलाल)    २
६    शिरोमणी अकाली दल     २
७    अल इण्डिया द्रबिड मुनेत्र    १
८    अल झारखण्ड स्टडिज यूनियन पार्टी    १
९    नेशनल डेमोक्रेटिक प्रोग्रेसिव पार्टी    १
१०    राष्ट्रिय लोकतान्त्रिक पार्टी    १
११    मिजो नेशनल फ्रण्ट    १
१२    नागा पिपुल्स फ्रण्ट    १
१३    निर्दलीय (सुमलता अंवरिस)    १
    जम्मा    ३५३

 

संयुक्त प्रगतिशील गठबन्धन (यूपीए)
क्रम सं    पार्टी                सिट

१    भारतीय राष्ट्रिय कांग्रेस    ५२
२    द्रबीड मुनेत्र    २३
३    राष्ट्रवादी कांग्रेस पार्टी    ५
४    इण्डियन यूनियन मुस्लिम लिग    ३
५    जम्बू कस्मिर नेशनल कन्फ्रेन्स    ३
६    जनता दल (सेक्युलर)     १
७    झारखण्ड मुक्ति मोर्चा    १
८    केरल कांग्रेस (एम)    १
९    रिभ्यूलिस्नरी सोसलिस्ट पार्टी    १

१० Viduthalai Chiruthaigal Katchi   १

जम्मा    ९२
 

संघीय फ्रण्ट

क्रम सं              पार्टी                          सिट
१    सर्बभारतीय तृणमुल कांग्रेस    २२
२    युवजन श्रमिक राय थु कांग्रेस पार्टी    २२
३    तेलंगना राष्ट्र समिति    ९
४    बीजु जनता दल    १२
५    अल इण्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीन    २
    जम्मा    ६७
 

महागठबन्धन
क्रम सं            पार्टी               सिट
१    बहुजन समाज पार्टी    १०
२    समाजवादी पार्टी    ५
    जम्मा    १५

 

लेफ्ट फ्रण्ट
क्रम सं    पार्टी                 सिट

१    भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)    ३
२    भारतीय कम्युनिस्ट पार्टी    २
    जम्मा    ५