गणतन्त्र दिवसको अवसर पारेर चार वर्षपछि खुल्यो तातोपानी नाका 

गणतन्त्र दिवसको अवसर पारेर चार वर्षपछि खुल्यो तातोपानी नाका 

सिन्धुपाचोक १५ जेठ । २०७२ बैशाख १२ गतेको भूकम्पका कारण बन्द भएको सिन्धुपाल्चोकस्थित नेपाल–चीन तातोपानी नाका चार वर्षपछि खुलेको छ । उक्त नाकामा निर्मित भोटेकोशीमाथिको पुल गणतन्त्र दिवसको अवसर पारेर दुवै देशको सहमती अनुसार खुला गरिएको हो । 

नाका बुधवार बिहान उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो । 

नाका खुलाउने विषयलाई चीनले उच्च महत्व दिएको देखिएको छ । चिनियाँ राजदूत मंगलवार साँझदेखि नै कोदारीमा आएर बसेकी थिइन् भने नाका पुनः सञ्चालनबारे समाचार संकलनका लागि दर्जनौं चिनियाँ पत्रकार आइपुगे थिए ।