‘व्यापार विवाद चर्काउनु नाङो आर्थिक आतंकवाद’–चीन
काठमाडौ । अमेरिकाले चर्काइरहेको व्यापार विवाद नाङो रूपको आर्थिक आतंकवाद भएको एक वरिष्ठ चिनियाँ कुटनीतिकले बताएका छन् ।
तत्काल अमेरिका र चीनबीचको व्यापार युद्ध समाप्त हुने कुनै संकेत नदेखिएको बेला ती चिनियाँ कुटनीतिज्ञले यस्तो टिप्पणी गरेका हुन् ।
चीनले विगतमा गरेका प्रतिबद्धताहरूबाट पछि हटेको जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ मालसामानको अमेरिकी प्रवेशमा थप भन्सार शुल्क बृद्धि गर्ने निर्णय गरेयता यी दुई देशबीचको व्यापार तनाव बढदै गइरहेको देखिएको छ ।
२ खर्ब अमेरिकी डिलर बराबरको चिनियाँ मालसामानको अमेरिकी प्रवेशमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क थपेको थियो ।
त्यसपछि चीनले पनि अमेरिकी मालसामानको चीन प्रवेशमा अतिरिक्त भन्सार लगाउने निर्णय गरेको थियो ।
चीनको उप विदेशमन्त्री झाङ हानहुइले व्यापार प्रतिबन्ध, अतिरिक्त महशुल र संरक्षणवाद जस्ता ठूला लट्ठीको प्रयोगलाई चीनले विरोध गरेको बताए ।
उनले भने “ हामी व्यापार युद्धको विरोध गर्छौ तर व्यापार युद्धबाट डराउँदैनौं ।
व्यापार विवाद चर्काउने यस्ता स्पस्ट गतिविधिले नाङो आर्थिक आतंकवाद, आर्थिक हत्या र आर्थिक त्रास फैलाइरहेको छ ।”
अमेरिकासँगको व्यापार युद्धका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै झाङले यस्तो बताए ।
चिनियाँ राष्ट्रपति सी जिनपिनले अर्को साता रूसका राष्ट्रपति भ्लदामिर पुटिनसँग भेटवार्ता गर्न रूसको राजकीय भ्रमणमा जाने विषयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
व्यापार युद्ध लड्ने कुनै पक्षलाई लाभ नहुने बताउँदै झाङले भने “ यो व्यापार युद्धले विश्व आर्थिक विकासमा गम्भीर नकारात्मक प्रभाव पर्नेछ ।”
चीन र रूसबीच हुने व्यापार सम्झौताले सबै बाह्य चुनौतीलाई सामना गर्ने र हाम्रा अर्थतन्त्रको विकास गर्ने र हामी दुई देशका जनताको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया