प्रेस संगठनको माग बजेटमा सम्बोधन, लोककल्याणकारी विज्ञापन रकम बढ्दा पत्रकार खुशी

प्रेस संगठनको माग बजेटमा सम्बोधन, लोककल्याणकारी विज्ञापन रकम बढ्दा पत्रकार खुशी

काठमाडौं, १६ जेठ । सरकारले सञ्चार माध्यमहरूलाई दिँदै आएको लोककल्याणकारी विज्ञापन वृद्धि गरेसँगै साना लगानीमा सञ्चालित स्वरोजगारमुखि पत्रकारहरु खुशी भएका छन् । अर्थमन्त्री खतिवडाले १५ प्रतिशतले लोककल्याणकारी विज्ञापनको रकम बढाएको बजेट भाषणमा उल्लेख गरेका कारण पत्रकारहरुमा खुशी छाएको हो ।

प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालको नेतृत्वमा केही दिन अघि सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई बुझाइएको ज्ञापन पत्रमा लोककल्याणकारी बिज्ञापन बापत दिइदै आएको रकममा २५ प्रतिशत बृद्धि गर्न माग गरिएको थियो । ज्ञापन पत्र बुझ्दै मन्त्री बास्कोटाले आफ्नो लय संगठनसँग मिलेको हुनाले पत्रकारहरुको माग सम्बोधन गर्न आफुले खेल्नुपर्ने भूमिका पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । 

त्यसैगरी प्रेस संगठनको माग र बिगतका सरकारले उठाउँदै आएको सरकारी सञ्चारमाध्यमहरुमध्ये रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकरण गरी सार्वजनिक प्रशारण सेवा (पब्लिक सर्भिस ब्रोडकास्टिङ) मा रुपान्तरण गर्ने मागलाई पनि बजेटले सम्बोधन गरेको छ ।
जेष्ठ पत्रकारहरुको जीविकोपार्जनलाई सहज बनाउन कार्यक्रम ल्याउनु पर्ने संगठनको माग भए बमोजिम नै बजेटले नेपाली पत्रकारितामा गुणस्तरीयता, व्यावसायीकता र स्वच्छ अभ्यासलाई प्रोत्साहित गर्न तथा पत्रकार हित र कल्याणमा परिचालन गर्न बजेटको व्यवस्था गरेको छ ।
सरकारले बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट घोषणा गरेपछि यसको सर्वत्र स्वागत भएको छ । बजेट समग्रमा समाजवाद उन्मुख भएको विश्लेषकहरुको भनाई छ । अर्थ विश्लेषकहरुले वर्तमान सरकारले समाजवाद उन्मुख आधारशीला निर्माण गर्ने लक्ष्यसहित बजेट सार्वजनिक भएको जनाएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेस गरेको बजेट १५ खर्व ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ रहेको छ ।