तामिलनाडु र केरलाबाटमात्र बामपन्थी खाता

तामिलनाडु र केरलाबाटमात्र बामपन्थी खाता

विश्व चर्चित माक्र्सवादी इतिहासकार एरिक हब्सवमले इतिहासमा सोभियत संघको विघटनलाई पहिलो आश्चर्यजनक घटना मानेका थिए । उनले दोस्रो आश्चर्य मान्दै भनेका थिए, ‘पश्चिम बंगालमा जसरी भाकपा (माक्र्सवादी) को पत्तासाफ भयो, मैले यस्तो कल्पना पनि गरेको थिइन ।’
लोकसभाको सत्रौं संस्करण (२०१९) भारतीय कम्युनिष्टहरु यसरी साफ भए की उनीहरुले पश्चिम बंगालमात्र गुमाएनन् केरला, त्रिपुरा पनि गुमाइसकेका छन् । केरलाबाट एक सीट मुस्किलले जिते । तामिलनाडुले इज्जत नधानेको भए भारतीय कम्युनिस्टको विउ मात्र बाँकी रहन्थ्यो । सन् १९५२ पछि तामिलनाडुबाट पहिलो पटक चार सिट मध्ये भाकपा र माकपाले २/२ सीट र केरलाबाट माकपाले एक सीट जितेको छ ।

रमाइलो त के छ भने पश्चिम बंगालमा माकपाले एक सीट मात्र जितेन, उल्टो एकजना जाधवपुर निर्वाचन क्षेत्रका प्रत्यासी विकासरञ्जन भट्टाचार्य बाहेक कसैको पनि जमानत जोगिएन । जमानत जोगाउन भारतीय निर्वाचन कानून अनुसार खसेको मतको १६ प्रतिशत ल्याउनु पर्छ । यतिमात्र होइन पश्चिम बंगालका बरिष्ठ माक्र्सवादी नेता मोहम्द सलिमको जमानत जफत हुनुलाई पनि अनौठो मानिएको छ । यता विहार बेगुसरायमा भाकपाका चर्चित उम्मेदवार कन्हैया कुमार पनि धेरै मतले पराजित भए ।

सन् १९७७ देखि २०११ सम्म पश्चिम बंगालमा ३४ वर्ष शासन गरेको माक्र्सवादी पार्टी पहिलो पटक २०११ मा तृणमुल कांग्रेसबाट पराजित भयो । त्यही वर्षदेखि माक्र्सवादीको लोकप्रियता गुम्दै गयो । सन् २०११ मा ३०.१ प्रतिशत मत ल्याएको पार्टीले यताका वर्ष २०१६ मा १९.७५ प्रतिशत र २०१९ मा ६.२८ प्रतिशत मतमात्र पायो । जबकी २००९ र २०१४ मा क्रमसः ३३.३ र २१ प्रतिशत मत पाएको थियो ।

जाग एक होउ र हराउ 


माक्र्सवादीले यसपटकको निर्वाचन घोषणापत्रमा यस्तो नारा तय गरेको थियो । तर परिणाम नाराको ठीक विपरित आयो ।  पश्चिम बंगालमा ‘भाजपालाई निकालेर देश बचाउ, तृणमुल कांग्रेसलाइ निकालेर बंगाल बचाउ’ नारा तय गरेको थियो । यो नारा पनि बक्स अफिसमा फ्लप भयो । भाजपालाइ निकालेर देश बचाउने कुराले हावा खायो, तृणमुललाई हटाएर बंगाल बचाउने कुराले पनि पानी पियो ।

कम्युनिष्टको मत घट्नु भाजपाको बढ्नु 

भारतीय निर्वाचनमा कम्युनिस्टको मत घट्दै भाजपाको खातामा जानु यहाँको राजनीतिमा अनौठो संयो भएको छ । बामपन्थबाट एकैचोटी दक्षिणपन्थमा मत ओइरिनु आफैमा नौतुन घटना हो । 
 

एकमात्र राज्य

सन् २०१६ को विधानसभा निर्वाचनमा बाम लोकतान्त्रिक मोर्चा मार्फत केरला राज्यमा बामहरुको सरकार अझैछ । राज्यको १४० सिट मध्ये ९१ सिट जितेर लोकप्रियता पाएको बामहरुको यो सरकारको कतै प्रचार छैन । बामहरुले सरकार बनाएका राज्यहरुको प्रचार नभएकोले पनि भारतमा बामपन्थीहरु साफ भएको हल्ला चलेको छ ।