किरातको लागि हाई एलर्ट : प्रचण्ड धरान जाने

किरातको लागि हाई एलर्ट : प्रचण्ड धरान जाने

प्रकृतिपुजक चार किरातको यतिखेर उभौली चाड छ । वैशाखे पूर्णेदेखि १५ दिनसम्म लगातार मनाइने यो चाड चार किरात राई, लिम्बू, सुनुवार र याक्खा समुदायले मनाउने गर्छन ।

यसमध्ये किरात राईले ‘साकेला उभौली’, किरात सुनुवारले ‘ष्याँदर’, यक्वा– किरात लिम्बूले ‘यक्वा’ र किरात याक्खाले ‘यूच्याङ’ नामले यो चाड मनाउने गर्छन् । किराती समुदायको यो महान चाड यतिखेर पूर्व १ नं. प्रदेशको रौनक नै भएको छ । 

यसै चाडलाई मनाउने क्रममा उनीहरुले प्रदेश एकको नामाकरणमा पहिचान खोजिरहेका हुन्छन । यो पटक पनि चाडसँगै पहिचानको मुद्धालाई उठाइ रहेका छन् । किरात राई समुदायको जातीय संस्था किरात राई यायोक्खाले पहिचानको नारा नै बनाएर साकेला नृत्य गरिरहेको हुन्छ । यसपटकको उसको नारा हो, ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान : एक नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान ।’ 

यता लिम्बूसमुदाय सम्बद्ध राजनैतिक संगठन तथा उसको जातीय संस्था किरात याक्थुङ चुम्लुङले लिम्बुवानको माग गरिरहेको छ । गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले यो प्रदेशको नाम ‘किलिको’ (किरात–लिम्बुवान–कोचिला) प्रस्ताव गरेर प्रदेश संगठनको नाम पनि सोही अनुसार राखेको छ । 

प्रचण्ड धरान जाने :

यसैक्रममा किरात राई जातिको साकेला उभौलीको जेठ १८ गते हुने समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा अध्यक्ष प्रचण्ड जाने व्यापक प्रचार भएको छ । एक नं प्रदेशलाई किरात बनाउन बारम्बार आश्वासन दिएकोले पनि यायोक्खाले प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निम्त्याएको बुझ्न सकिन्छ । 

कांग्रेसको विगत र पहिचानको मुद्धा :

यतिखेर नेपाली कांग्रेस पार्टी विपक्षमा छ, यसर्थ कांग्रेसलाई विपक्षको मुद्धा प्यारो लाग्छ । जतिबेला कांग्रेस सत्तापक्षमा हुन्छ उसले विपक्षी मुद्धालाई घाटमा मुर्दा छोडेर फर्किए जस्तो गर्छ ।

पहिलो संविधानसभामा पहिचानका पाँच र सामथ्र्यका चार आधारबाट संविधानसभाको विषयगत समिति राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले पहिचान जनित १४ प्रदेशको खाका बहुमतले पारित गरेर ल्याएको थियो । त्यो खाकमा लिम्बुवानसहित किरात प्रदेश पनि थियो । तर, कांग्रेस, एमाले पार्टीको विरोधकाकारण समितिले प्रस्ताव गरेको संघीय संरचना खारेज भयो । 

त्यसपछि बनेको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड आयोगले पनि पहिचानजनित ११ प्रदेशको खाका बहुमतले सिफारिस गरेर प्रस्तुत ग¥यो । यो खाकामा पनि लिम्बुवान, किरातसहित पहिचानजनित प्रदेशको संरचना थियो । तर यो आयोगमा कांग्रेस पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले लिखित 
फरकमत लेखेर प्रस्तावको बहिष्कार गरे । यसरी पहिलो संविधानसभा पहिचानको आधारमा संघीय संरचना निर्माण गर्दा तुहिन पुग्यो ।

दोस्रो संविधानसभामा पहिचानजनित प्रदेशरहित सात प्रदेशको व्यवस्था हुनासाथ संविधान पारित भयो । यसरी कांग्रेस पार्टीकै कारण पहिचानजनित नाम खारेज हुन पुगेको हो । तर यतिखेर कांग्रेसका उपल्लला नेतादेखि भुइँ तहका नेताहरु पहिचानजनित नाममा सहमति जनाउँदै हिँडेका छन् । केही समय अगाडि कांग्रेस पार्टीका केन्द्रीय उपाध्यक्ष विमलेन्द्र निधीले जनकपुररमा पुगेर प्रदेश नं. २ लाई मिथिला–भोजपुरा नामाकरण गर्नु पर्ने पार्टीको धारणा रहेको वताएका थिए ।

कांग्रेसको किरात मोह :

कांग्रेसी नेताले अन्य स्थानमा जसरी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने आश्वासन बाँड्दै हिँडेका छन त्यसरी नै प्रदेश एकलाई पनि किरात नामाकरण हुनुपर्ने थप आश्वासन दिँदै आएका छन् । यतिखेर प्रदेश एकमा नामाकरणको मुद्धा चर्को रुपमा उठेको छ । यसै कुरालाई भजाउन प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेसी सभासद र नेताहरु लागि परेका छन् । यसक्रममा जातीय रुपमा संगठित संस्था किरात राई यायोक्खाले राखेको उभौली सांस्कृतिक कार्यक्रममा किरात प्रदेश प्रस्तावको साखुल्ले भएर प्रस्तुत हुने गरेका छन् । 

गएको शनिवार यायोक्खाले धरानमा राखेको उभौली कार्यक्रममा प्रदेश सभाका प्रतिपक्षी दलका नेता राजिव कोइरालाले किरात प्रदेश नामाकरणको सवालमा नेपाली कांग्रेसलाई शंका नगर्न आग्रह गरे । त्यतिमात्र होइन प्रदेश एकको नेकपाको सरकारलाई किरात नाम प्रस्ताव गर्न चुनौती पनि दिए । उनले भने,  ‘सरकारले प्रदेश सभामा नामको प्रस्ताव मात्र ल्याओस त्यसपछि कांग्रेसले के गर्छ भन्ने प्रश्न उठाउन जायज हुन्छ ।’  

यतिमात्र होइन हिन्दू धर्म शास्त्रको हवाला दिदै नेपाल देशे किरात खण्डे भनिदै आएको प्रसंग पनि कोट्याए । किरात सभ्यतालाइ कांग्रेसले सधै सम्मान गर्ने पनि बताए । उनले किरातलाई सभ्यताको रुपमा हेर्नु पर्ने भन्दै राई, लिम्बू समुदायलाई उचाल्नुसम्म उचाले । र २००७ सालको क्रान्तिको अघिल्लो मोर्चामा राई, लिम्बू लडेको स्मरण गदै नारदमुनी थुलुङ, जीवि याक्थुङ, बलबहादुर राईको नाम लिए । तर भोजपुरका क्रान्तिकारी नायक रामप्रसाद राईको भने नामसम्म उच्चारण गरेनन् ।

किरातको ‘हाई एलर्ट’ :

यता उभौलीकै सन्दर्भमा प्रदेश एकको नामाकरण गर्न किरातीहरुलाइ हाइ एलर्टमा रहन यायोक्खाले चेतावनी मिश्रित अपिल गरेको छ । मोरङको बेलबारीमा बुधबार आयोजित साकेला कार्यक्रम र यलम्बरको प्रतिमा अनावरण कार्यक्रममा यायोक्खाका नेताहरुले प्रदेशका मूख्यमन्त्री शेरधन राईलाई प्रमुख अतिथि बनाएर आफ्नो मुद्धामा संवेदनशील हुन आग्रह गरेका थिए ।  प्रदेशको नाम किरात राख्न प्रदेश सरकार र सदनलाई अनुरोध गरेको तर त्यसो नभए आन्दोलनको लागि हाई अलर्ट रहन प्रदेशबासीलाई यायोक्खाले आव्हान गर्दछ भने । मुख्यमन्त्री राईले पनि प्रदेशको नाम यायोक्खाले प्रस्ताव गरेको किरात नाम तथ्य, तार्किक भएकोले सरकारको ध्यान आकर्षण भई छलफल भइरहेको बताए ।
यायोक्खाका पूर्व  सभापति तिलक राईले नेपालको राजनैतिक परिवर्तनहरुमा निर्णायक भूमिका खेलेको प्रदेश १ लाई किरात नामाकरण गर्न दलहरुलाई अपिल गरे । उनले किरातलाई जातीय नामाकरणको आरोप लगाउनु आपत्तिजनक भएको बताए । उनले भने ‘किरात सभ्यता हो, इतिहास र भूगोल हो, यस्लाई जातीय माग भनेर अर्थ लगाउनु सर्वथा गलत हो ।’

स्मरण रहोस कांग्रेस पार्टीको कुनैपनि तह वा उसको आदिवासीसम्बद्ध भातृ संगठनले किरात प्रदेश हुनु पर्छ भनेर कतै किटानी बैठक, छलफल, अभिलेख गरेको छैन । जसरी मिथिला–भोजपुराको पनि गरेको छैन । तर त्यस यता किरात प्रदेशको वकालत गर्नु आफैमा आश्चर्य लाग्दो छ । प्रदेश एकमा सत्तारुढ नेकपाले पनि किरात प्रदेश प्रस्ताव गर्न नसक्दा नामाकरण हुन नसकी प्रदेश सभा स्थगित भएको हो । सम्भवतः किरात प्रदेश प्रस्ताव गर्न कठीन भएकोले नै कांग्रेसले सार्वजनिक खपतको लागि चिण्डो उठाइ–उठाइ कुर्लेका हुन ।