माइबाप विनाको धरान

माइबाप विनाको धरान

भवानी बराल


आधुनिक धरानको ऐतिहासिक सपना:

आधुनिक धरान कुनै समयमा आतंकको पर्यायको रुपमा थियो । टोले, चोके, पानी गुण्डाहरुको विगविगीको प्रतिक थियो । कुनै समय धरान केरला र संघाइको उपनामले पनि चिनिन्थ्यो । साम्यवादको अत्याधिक प्रभाव परेकोले यस्तो नाम पाएको हो । धरान आउने बस्ने जो कोही कम्यूनिष्ट नभइ धरै नपाउने । यति सम्मकि अहिलेसम्म जतिले धरानको राजनीतिक प्रतिनिधित्व गर्न पाए ति सबैको पृष्ठभूमि कम्युनिस्ट नै थिए, छन् । चाहे त्यो पञ्चाययतकालमा होस वा बहुदलीय वा गणतान्त्रिक कालखण्डमा । 

धरानमा कम्युनिस्टहरुलाई ‘खरानी’ र कांग्रेसलाई ‘गोबर’ उपनामले चिनिन्छ । यि नाम रहनु पछिको पनि रमाइलो प्रसंग छ । कम्युनिस्ट साहित्य (उतिबेलाका चिनीया, सोभियत राजनैतिक साहित्य, उपन्यास, रेडबुक, पत्रपत्रिका) पढेर कम्युनिस्ट भएको पत्तो कांग्रेसीजनले लाएछन् । अनि त्यस्ता साहित्य जलाइ दिएपछि कम्युनिस्टहरु घट्छन भन्ने ठहर गरेछन र किताब, पत्रपत्रिका सार्वजनिक स्थलमा डढाइ दिए । अनी कम्युनिस्ट आजदेखि खरानी भए भनेर सगौरव घोषणा गरे । यसरी कम्युनिस्टको उपनाम ‘खरानी’ भयो । उता पुस्तक–पत्रपत्रिका जलाउनेलाई कम्युनिस्टहरुले गाली गर्दै ‘गोबर’ को संज्ञा दिए । यसरी कांग्रेसीको नाम पनि ‘गोबर’ रहन गयो । राजनैतिक रुपले सचेत खरानी र गोबरको बाक्लो उपस्थिति भएपनि नगरले कहिल्यै मलजल भने पाउन सकेन ।

राजनीतिक रुपले सचेत तर धरानको विशिष्ठ बेलामा सर्बश्रेष्ठ नेतृत्व गर्ने बेलामा अचेत हुने प्रतिनिधिहरुले ठीक गर्ने कुरा पनि भएन । विगतको राजनीतिक नेतृत्वले जे गरे, आगतमा पनि त्यही गरिरहेका छन् । पञ्चायतकालमा कोशी अञ्चलको सदरमुकामको धरानले पगरी पाएको थियो । सदरमुकाम चैं नाममात्रको थियो । अड्डा जति विराटनगरमा थिए । लिम्बू जातिलाई राणा, शाहकालमा ‘सुब्बा’ पगरी गुथाएको जस्तो थियो । ‘खानु पिउनु नास्ती सुब्बालाइ सास्ती’ भने जस्तो । विराटनगरको अगाडि धनकुटा मुनी यो सहरको दाल कहिल्यै गलेन । जिल्लाको सदरमुकाम नभएको नगर यसैपनि पञ्चायत र बहुदलकालीन समयमा त उपेक्षित रह्यो नै गणतन्त्रमा पनि धरानले अपेक्षा गरे जस्तो पाएन ।

केहि समय अगाडिसम्म एक नं. प्रदेशको राजधानी धरानलाई बनाउन कम्मर कसेर यहाँका राजनैतिक दलका कार्यकर्ता, व्यापारी, बुद्धिजीवी लागेका थिए । तर, धरान क्षेत्रबाटै चुनिएका प्रदेश सभासदले एकमतले राजधानी विराटनगरमा हुनुपर्छ भनेर ल्याप्चे हानेपछि धरान फेरी माइबाप बेगरको शहर हुन पुगेको छ । विराटनगरका ‘एलिट’का अगाडि धरानकाहरु सायद ‘डिलिट’ भए । धरान राजधानी बनाउन यस क्षेत्रबाटै निर्वाचित सभासदले किन उता विराटनगर राजधानी बनाउन ल्याप्चे लगाए समिक्षासम्म कसैले गरेको होइन । विराटनगरलाइ सर्बसम्मत राजधानी बनाउन सोलुखुम्बूदेखि झापा केचनाकबल सम्मका सभासदको एउटै स्वर किन भयो ? प्रदेश एकका प्रदेशसभा सदस्यको सर्वसम्मत राष्ट्रिय सहमति हुनु पछिको रहस्य देखिभोगि जान्नेले बताउने हो । सुनी जान्नेले समेत राष्ट्रिय सहमतिको खुटखबरसम्म बाहिर ल्याउन सकेनन् ।  

पानीको राजनीति 


धरानको शिरमा जलाधार छ । त्यो जलाधारबाट सर्दु र खर्दु नामका दुई खोलाबाट आउने पानी नै यसको मूख्य स्रोत हो । तर, यो जलाधार क्षेत्रमा भूमाफियाको राष्ट्रिय आक्रमण भएको छ । अदालत पनि माफियाकै मतिहार बनेको छ । यसले धरानको जलस्रोतलाइ अप्ठ्यारोमा पु¥याएको छ । 

अहिले यो सहर पानी राजनीतिमा पनि भुसुक्कै डुबेको छ । एसियाली विकास बैंकको क्रृण तथा अनुदान सहयोगमा पानी वितरण गर्ने आयोजना सम्पन्न नहुँदा घैलाको लाइन सडकमा देख्नु धरानको नियति नै हो । उता जलाधार क्षेत्रमा ‘राष्ट्रिय व्यापार’ (जग्गा दलाली) फस्टाएको छ । प्राकृतिक जलाधार क्षेत्रमा छेडखानी गरेपछि धरान काकाकुल त हुने नै भयो । काकाकुलमा बाँचेको शहरको थाप्लोमा एकाध वर्ष अगाडि पूर्व सभामुख ओनसरी घर्तीले १५० फिट अग्लो ‘थाउजेण्ड बुद्ध’ बनाउने परिकल्पनाको सिल्यान्यास गरेकी थिइन । देशविदेशका अनेकान बौद्ध भिक्षुहरुले बुद्धको प्रतिमासंगै सम्पन्नताको आधारशिला तयार हुने मन्त्रोचरणसहितको प्रबचन दिएर गए । अहिले पनि यो ‘थाउजेण्ड बुद्ध’को स्थापना गफगाफमै सिमित छ । ‘थाउजेण्ड बुद्ध’ बनेपछि पर्यटकको लर्को लाग्ने कल्पनामा धरानवासी कल्पित थिए । कपाली नै सही धेरैले धरानको सम्पन्नताको सपनामा तमसुक गरिदिएका छन् । त्यहि सम्पन्नताको शिलालेखमा धरानवासीको आशाको त्यान्द्रो जोडिएको छ ।  

धरानको न्वारान


आखिर धरान के हो ? पहिलो संविधानसभासम्म माओवादीले धरानलाई कोचिला प्रदेशको खातामा एक अभिन्न अंगको रुपमा प्रस्ताब गरे । लिम्बुवानजन्य संगठनले यसलाई लिम्बुवानको तहसिल राजधानी भन्छन् । किरातसम्बद्ध संस्थाले यो नगरलाइ अन्तिम किरात राजा हाङ बुद्धिकर्ण रायको उपस्थिति रहेकोले ‘किरातलेण्ड’ भन्छन् । मधेससम्बद्ध संगठनले मधेसभन्दा पर्तिर सोच्न नसकिने ठान्थे । उनीहरुको त रमाइलै तर्क थियो मच्छड लाग्ने ठाउँसम्म मधेस । विराट, मोरङ, पूर्व कोशी नजाने अनेकन नामले शुशोभित गर्दै यसलाई ‘नो मेन्स लेण्ड’ जस्तो बनाइएको थियो । 

धरानको ऐतिहासिक रुपरेखामा निकट विगतको किरातकालीन इतिहास त जोडिएकै छ । सेनकालीन उपनिवेशबाट विजयपुरको इतिहासिक चस्माले धरान कहाँ ठम्याउन सकिएला । बरु किरातकालीन विजयपुरको इतिहासको सिसाबाट चियाउँदा यसको साङ्गोपाङ्गो खुट्टिएला । महाभारतकालीन मिथकको आधारमा हेरे झनै अल्मलिएला । पिण्डेश्वर, दन्तकाली, बराहक्षेत्र जस्ता मन्दिरहरुको उपस्थितिले यसको पुरातात्विक महत्तालाई गहन अनुसन्धान माग गर्दछ । तर, निकट विगत भनेको त किरातकालीन विजयपुरको सेरोफेरो हो । 

धरानको नामाकरण चारकोशे जंगलमा काठचिर्ने धरान थापिएकोले यसको नाम धरान रहेको भन्नेहरु पनि छन् । यसैले केही वर्ष अगाडिसम्म धरान छिर्ने प्रवेशद्वारमा आरा लाउँदै मुढा चिर्दै गरेको मुर्ति राखिएको थियो । तर केही समयपछि नै त्यो मुर्ति हटाइयो । किन हटाइयो त्यो भने थाहा भएन ।

शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र भनेर धरानलाई उठाउने थिमहरु पनि आए । तर, शिक्षा, स्वास्थ्य नीजिकरणले गाँजीसकेको बेला आएको यो थिम बक्स अफिसमा फ्ल्प भयो । कुनै बेला यस्तो पनि परिस्थिति आएको थियो धरानलाई त्यो सुन्दा आजका धरानवासीले जिब्रो अबश्य टोक्छन् । ‘ए त्यस्तो पनि भएको थियो ?’ भन्लान । तर कुरो साँचो हो । त्यतिखेर हालको महेन्द्र कलेज विस्थापनको तारतुम्मे पञ्चायतीकारले गरेको थियो । त्योबेला धरानका शिक्षासेवी, विद्यार्थीले ‘कलेज बचाउ समिति’ बनाएर संघर्ष गर्नु परेको थियो । त्यो संघर्षको फलस्वरुप आजका पुस्ताले महेन्द्र कलेजलाई देख्न र शिक्षा लिन पाएका हुन । तर, शिक्षाको नीजिकरणसंगै सरकारी स्वामित्वका कलेजहरु धर्मशालामा परिणत हुँदैछन् । सार्वजनिक, सरकारी शिक्षणसंस्थाहरु विघटनको संघारमा पुगेका छन् । तानाशाही मानिएको पञ्चायतले स्थापित गरेको शिक्षण संस्थालाई अधिकारसम्पन्न स्थानीय सरकारले पनि केही नगर्ने हो भने सरकार भन्नुको के औचित्य रहला ? तत्कालीन धरान नगर पञ्चायतले चलाएको पञ्चायत स्कूल अझैपनि त्यहि नाममा अस्तित्वमा छन् । त्यति नै कुरा धरान नगर सरकारले नसिक्ने हो भने के को स्थानीय सरकार ? तत्कालीन धरान नगर पञ्चायतसंग शिक्षाको व्यवस्थापन गर्ने अधिकार संविधानमा नहँुदा पनि त्यति गर्न सक्यो भने अहिले त स्थानीय तहलाई शिक्षाको अधिकार संविधानको अनुसूचिमै व्यवस्था गरिएको छ । राणाशाही कै बेला ‘पब्लिक’ नाममा शिक्षण संस्था खोल्ने तत्कालीन धरानका बौद्धिक शिक्षासेवीका उत्तराधिकारी आज खड्कदो विषय हो । मनमोहनदेखि माओवादीसम्मलाई निर्वाचित गराउने धरानले माइबाप नमूनाको राजनैतिक नेतृत्व भने कहिल्यै पाउन सकेन ।

भूकम्पले थङ्थिलो


०४५ सालको भूकम्पले थङ्थिलो धरान त्यसपछि खण्डहर हुने क्रममा थियो । ठूलै धनजनको क्षति बेहोरेको धरानले त्यसपछि प्रशासनिक उत्पीडन पनि बेहो¥यो । यहाँ भएका केही सरकारी अड्डाहरु, वित्तिय संस्थाहरु पनि अन्यत्र लगिए । धरानको आर्थिक जिवनमा प्रभाव पार्ने गोर्खा भर्ति केन्द्र पनि उठेर गयो । यसपछि भने यो शहरको नामको अगाडि ‘मृत’ जोडियो । कुनै शहर मृत हुन्छ कि हुँदैन आफ्नै ठाउँमा छ तर, मृत शब्दले भने यहाँका बासिन्दामा आतंक नै छायो । धेरैले यो ठाउँ छोडेर अन्यत्र पलायन भए । भूकम्पको क्रृण मिनाहा हुने आशा साँचेर केही बसे । धेरैले क्रृण तिरेर व्यवस्था गरे । कुनै सुरतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) विसं २०५० सालमा धरानमा स्थापित भयो । सम्भवत: गोर्खा भर्ति केन्द्र (ब्रिटिस केम्प)ले ओगटेको सयौं विगाहा जमिन र भौतिक संरचना नभएको भए यो प्रतिष्ठान आउने कुरामा विश्वास गर्ने आधार भने थिएन । तर जे होस अहिले धरानको आर्थिक जिवनमा यसले पुनर्जलीय उपचार गरेको छ । शहरलाई चल्तीको भाषामा भनिएको मृत हुनबाट बचाउँदै गुल्जार बनाएको छ ।

लाहुरे र जनजाति बहुल शहर

धरानलाई लाहुरेहरुको शहर पनि भनिन्छ । गोर्खा भर्ति केन्द्रको स्थापना पछि नेपालको मात्र होइन दार्जिलिङ, देहरादुन, भाक्सु, डुअर्ससम्मका नेपाली भाषीहरु यो शहरमा स्थायीरुपमा बसे । मजम्फरपुरबाट मरिक (डोम) समुदायलाई पनि अंग्रेजले सफाइ मजदूरको रुपमा यो क्षेत्रमा लिएर आएका थिए । उनीहरु पनि अन्ततः यो शहरकै वासिन्दा हुन पुगे । व्यापारिक केन्द्र भएकोले राजस्थानबाट आएका मारबाडीहरुले पनि यो शहरलाइ कर्म थलो बनाए । नगरको स्थाइ बासिन्दा भए । 

भर्तिकेन्द्रकै माध्यमबाट पूर्व पश्चिमबाट आएका आदिवासी जनजातिले पनि यहि थलो बनाए । साविक पूर्वाञ्चलका पहाडि जिल्लाबाट शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार, व्यवसाय, जनजिविकाको अवसर खोज्दै धरानलाई कर्मक्षेत्र बनाए । पूर्वाञ्चलका पहाडि जिल्लाको ढोकाको रुपमा रहेकोले पनि धरान रोजाइको विषय बन्यो । यसरी यो लाहुरेको शहरसंगै आदिवासी जनजातिको पनि शहर बन्यो । नश्लको हिसाव र भाषाको हिसावले चारै नश्ल र चारै भाषा परिवारका मानिसहरु यहाँ बसोबास गर्छन् । जनगणना  अनुसार ६२ प्रकारका जातीय समुदाय यहाँ बस्छन् । धरान सिङ्गो नेपालको सानो चित्र हो । धरानको भौतिक विकासमा लाहुरे आदिवासी जनजातिको ठूलो सहभागिता छ । तर, बेलायती सरकारको असमान व्यवहारकाकारण लाहुरेहरु उतै बेलायत प्रवाशमा जान बाध्य भएका छन् र नेपालको अर्वौं रुपैया बाहिर गएको छ । आजपनि बेलायती सेनामा पूर्व कार्यरत भूपू सैनिक आन्दोलनरत छन् । उनीहरुको परिवारिक विछोड भएको छ । यसले नेपाली समाजको सभ्यतालाई दीर्घकालीन असर गर्ने निश्चित छ । 

विजयपुरको पृष्ठभूमीमा धरान :

विजयपुर र धरानको ऐतिहासिक सम्बन्ध धरान नगरको ऐतिहासिक पृष्ठभूमि विजयपुर सहरको स्थापनाको धेरै पछिबाट सुरु हुन्छ । विजयपुर राज्यका प्रथम राजा विजयनारायण राय (वि.सं. १६४१–१६६६) ले विजयपुर सहर बनाइ त्यहीँ विजयपुर राज्यको राजधानी बनाएका थिए । विजयपुर धरान नगरभित्रकै एउटा ऐतिहासिक महत्वको क्षेत्रको रुपमा आज पनि उही नामले चिनिन्छ । तर नगरपालिकाले राजनैतिक र प्रशासनिक रुपमा यो क्षेत्रलाई १४ नं. वडा भनेर मात्र चिन्दछ । यसको नामको अस्तित्व जोगाई राख्ने हो भने ‘विजयपुर वडा समिति’ नाम दिँदा हुँदैन ? तत्कालीन विजयपुरको काखमा रहेको नयाँ बस्ती नै आजको धरान हो ।

लगभग १६औं शताब्दीमा स्थापित विजयपुर सहर करिव दुई सय वर्षसम्म विजयपुर राज्यको राजधानीको रुपमा अस्तित्वमा रह्यो । पछिल्लो समयमा धरान सहरको उर्लदो भौतिक विकासले प्राचीन विजयपुर सहर छायाँमा पर्दै गयो । तर, विजयपुरको ऐतिहासिक महत्वलाई हेर्ने हो भने धरानको नाम परिवर्तन गरी विजयपुर नाम राख्नु पर्ने हो । पछिल्लो स्थानीय तह पुनर्संरचना गर्दा धेरै ऐतिहासिक नाम गुमनाम हुँदैछन् । नगरमा गाभिएका यस्ता प्राग–ऐतिहासिक क्षेत्रलाई सोही नाम दिए उपयुक्त हुन्छ । अंककै आधारमा प्रशासनिक इकाइ (वडा समिति) बनाउनु पर्छ भन्ने केहि छैन । जस्तो की विश्णु पादुका, पाँचकन्या, बाँझगरा, फुस्रे, घोपा, रेल्वे, भोटेपुल, चौकीबारी, ठींगाबारी, जनपथ, चतरलाइन, जुद्ध नगर, चन्द्र नगर, देशी लाइन, मंगलबारे, अमरहाट, शिवधारा, छाताचोक, बगरकोट, राँगा चोक वडा समिति । एउटा–एउटा ऐतिहासिक र परिचित नाम दिएर यस्ता अंकका आधारमा गठन गरिएका वडा समितिका अंके नामलाई विस्थापन गरे हुन्छ । गणना त स्वतः भैहाल्छ नी । 

ईतिहास तिर फर्कदा :

इतिहासकार इमानसिंह चेम्जोङका अनुसार– ‘विजयनारायण राय नाम गरेका राजाले लिम्बुवान फेदाप थुमको मुरेहाङ खेबाहाङ राजासंग मित्रता कायम गरेर उनकै सर–सल्लाहबाट साँगुरीगढी र वाराताप्पा गढीको मध्यस्थानमा एउटा नयाँ सहर बसाइ त्यसलाई उनकै नामबाट सुशोभित गरी, त्यो सहरको नाम विजयपुर राखे ।’ अर्का इतिहासकार महेशचन्द्र रेग्मीले पनि विजयपुरबारे उल्लेख्य चर्चा गरेका छन् । उनको अंग्रेजी भाषाको पुस्तक ‘नेपालको आर्थिक इतिहासको अध्ययन’ (A study in Nepal Economic History) अनुसार ‘विजयपुर राज्यले सुदूरपूर्वका पहाडि जिल्लाहरु धनकुटा, पाँचथर, इलाम, ताप्लेजुुङ, तेह्रथुम र संखुवासभा, यसैगरी तराइका जिल्लाहरु मोरङ, सुनसरी र झापामा शासनसत्ता कायम गरेको थियो ।’

(Farther east, The Kingdom of Vijayapur controlled the whole of the far eastern hill district Dhankutta, Panthar, Ilam, Terathum, Taplejung and Sankhuwasava as well as the Tarai districts of Morang, Sunsari and Jhapa.) रेग्मीले विजयपुर राज्यको ऐतिहासिक पहलुलाई केलाउँदै गोर्खा राज्यको विस्तारको क्रममा विजयपुर नेपालको सह–राज्यको रुपमा आएको प्रसंग पनि उल्लेख गरेका छन् । उनले लेखेका छन् –‘यसरी नै पल्लो किरात क्षेत्र (वर्तमानका पहाडी जिल्लाहरु धनकुुटा, पाँचथर, इलाम, तेह्रथुम र संखुवासभा ) लाई  पृथ्वीनारायण शाहले आन्तरिक स्वायत्तता उपयोग गर्ने गरी त्यहाँ बसोबास गर्ने लिम्बूू समुदायलाई सुुनिश्चित गरिदिएका थिए ।’ (सन् १७७४ को लालमोहर अनुसार ।)  (Similarly, in the Pallo Kirat areas -covering the present districts Dhankutta, Panthar, Ilam, Terathum, Taplejung and Sankhuwasava_ Prithivi Narayan Shah gaurented internal autonomy in the Limbu community. According to a real order issued in 1774)

भवानी बराल र कमल तिगेला लिम्बूले पनि आफ्नो पुस्तक लिम्बुवानको राजनीतिमा लेखेका छन् ‘पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्नु अघि कामदत्त सेनलाई बर्खास्त गरी बुद्धिकर्ण राय विजयपुरका राजा बने । पृथ्वीनारायण शाहको राज्य विस्तारका क्रममा विजयपुर सह–राज्य (किपट लगायतका स्वायत्तता उपयोग गर्ने गरी भएको लालमोहर अनुसार) को रुपमा नेपालमा एकीकृत भएको हो । विजयपुरको एकीकरण पछि यो क्षेत्र बस्ती विकाससँगै लिम्बुवानको तहसिल राजधानी रहेको विजयपुर, धरान नामले चिनिन थाल्यो ।’ राणाहरुले बसाएको सहर यसरी सप्तकोशी पूर्वमा रहेको हालको सुनसरी जिल्लाको पूर्व–पश्चिम राजमार्ग चारकोशे झाडी उत्तर, महाभारत पर्वत सृङ्खलाको फेदी विजयपुर शहरको काखमा फैलिएको घना चारकोशे झाडीलाइ वि.सं. १९५० बाट फाँड्ने आदेश राणा प्रधानमन्त्रीले दिए ।

वि.सं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेरले फाँडिएको जमिनलाइ चन्द्रनगर (हालको पुरानो बजार) को नाममा बस्ती बसाउने आदेश गरे । वि.सं. १९९० मा अर्का राणा प्रधानमन्त्री जुद्ध शमसेरले जुद्धनगर (हालको मुख्य नयाँ बजार) बस्ती बसाए पछि धरान नगर स्थापनाको सुरुवात भयो । चन्द्रनगर र जुद्धनगर नामको दुई बस्ती नै आजको धरान नगर हो । वि.सं. २००५ सालमा राणा प्रधानमन्त्री पद्म शमसेरको पालामा स्थानीय ऐन बनेको थियो । सोही ऐन बमोजिम २००६ सालमा मुक्तिनाथ बास्तोला प्रमुख रहेको एउटा कमिटी बन्यो । पं. छविलाल पोखरेल, अभिनारायण उपाध्याय लगायत पाँच जनाको कमिटीले ‘धरान बजार सफाइ कमिटी’को रुपमा काम ग¥यो । नगरपालिकाको प्रारम्भिक स्वरुपको यो स्वतस्फूर्त कमिटी थियो । वि.सं. २००७ सालको परिवर्तनपछि आएको पहिलो स्थानीय ऐन अनुसार २०१७ साल साउन ३२ गते गठित धरान नगरपालिका नै पहिलो स्थानीय जननिर्वाचित स्थानीय निकाय थियो । वि. सं. २०१७ साल मंसीर १५ गते नवगठित नगरपालिका बोर्ड बैठकको विविध निर्णयले यसको पुष्टि गर्दछ ।  वि.सं. २०१० सालमा बेलायती सेनामा नेपाली नागरिकलाई भर्ति गर्ने उद्वेश्यले बेलायत सरकारले गोर्खा सैनिक भर्ती केन्द्र ‘बृटिश गोर्खा डिपो’ (बिजिडी)को स्थापना गरेपछि यहाँको जनघनत्व ह्वात्तै बढ्यो ।  र, २०१७ साल साउन ३२ गते यो क्षेत्रलाई राजनीतिक–प्रशासनिक इकाइको रुपमा धरान नगरपालिका घोषणा गरियो । 

यो नगरको प्रशासनिक क्षेत्रफल पनि विभिन्न समयमा विस्तार हुँदै आएको छ । वि.सं २०३५ सालमा यो नगरको पूर्वपट्टि रहेको तत्कालिन बाँजगरा गाउँ पञ्चायत र पश्चिम पट्टिको घोपा गाउँ पञ्चायतलाई यसै नगरमा मिलान गरियो । वि.सं. २०७१ साल वैशाख २५ गते र २०७१ साल मंसीर १६ गते नगरको पूर्व र पश्चिमका छिमेकी गाविसहरु पञ्चकन्या तथा विष्णुपादुका गाविस नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार नगरमा गाभी धरान उप–महानगरपालिका घोषणा गरिएको छ । समशीतोष्ण हावापानी पाइने यो नगर पहाड र तराइको संगमस्थल (भावर प्रदेश) मा पर्छ ।

दक्षिणमा चारकोशे जंगल उत्तरमा महाभारत पर्वत श्रृङ्खलाको काखमा रहेको यो शहर वि. सं. २०१८ सालको राजनीतिक–प्रशासनिक विभाजन अन्तरगत कोशी अञ्चल, सुनसरी जिल्लाको मुख्य शहर र जिल्लाकै पहिलो जेठो नगरपालिका हो । १९२.६१ वर्ग किमि क्षेत्रफलमा फैलिएको यो नगरमा वर्षेनी सालाखाला २६२६ मिलिमिटर वर्षा हुनेगर्छ । पछिल्लो राष्ट्रिय जनगणना–२०६८ अनुसार यसको कुल जनसंख्या १ लाख ३७ हजार ७०५ रहेको छ । २६ डिग्री उत्तर अक्षांश र ८७ डिग्री पूर्व देशान्तरमा रहेकोे धरानको उचाइ समुद्र सतहदेखि ३०५ मिटरदेखि १७९७ मिटरसम्म छ ।

रहल–पहल :

पछिल्लो संविधानले राज्यको संघीय संरचना निर्माण गर्दा पहिलेको व्यवस्था भन्दा विल्कुल विपरित तिन तहको संरचना निर्माण गरेको छ । यसअघिको संविधानले स्थानीय तहलाई स्थानीय निकायको रुपमा मात्र परिभाषित गरेको थियो । अहिले स्थानीय तह अधिकारसहितको सरकार हो । संविधानको अनूसूचीमा भएको अधिकारले यसलाई स्थानीय सरकारको स्वायत्त अधिकार दिएको छ । तर, अधिकारलाई उपयोग गर्न वा अधिकारको मनोरञ्जन गर्न सकेन भने त्यो केवल पुस्तकालयका ज्ञान बराबर हुन्छ । अहिले ठीक त्यस्तै भएको छ । कर्मचारीहरु हिजोकै संरचनाको धङ्धङीमा रमाएका छन् । जनप्रतिनिधीहरुले अधिकारको मनोरञ्जन लिन सकेका छैनन् । समृद्ध धरानको खाका कोर्न पनि सकेका होइनन् ।