वहुचर्चित प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अझै अनिश्चित

वहुचर्चित प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण अझै अनिश्चित

भरतपुर । देशको नै गौरवको आयोजना भनेर हेरिएको प्रस्तावित गौतम बुद्ध रंगशालाको डोजरकाण्डले हाल सम्पूर्ण नेपालीको ध्यान पुनः रामपुर, चितवनमा केन्द्रित गरेको छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, धुर्मुस सुन्तली फाउण्डेशन र स्थानीय टोल सुधार समितिको बाटो खोल्ने क्रममा भएको विवादका कारण घटनाले उग्र रुप लिई जेष्ठ १५ गते बिहान ७ बजेदेखि जम्मा भएका पाँच सय जना स्थानीयले आफै अग्रसर भई डोजरको प्रयोग गरी ४/५ घण्टा नै लगाएर झण्डै एक किलोमिटर बाटो बिस्तार गर्ने र पश्चिम पट्टिको तारबार भत्काउने काम भयो । सो पश्चात मेयरको ठाडो निर्देशनमा स्थानीय छ जना महिला र १२ जना पुरुष गरी १८ जना हिरासतमा लिइएको छ ।

स्थानीय जनताको मागका बारेमा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र धुर्मुस सुन्तली फाउण्डेशनले प्रारम्भदेखि नै उपेक्षा गर्दा नै यो परिणाम आएको देखिन्छ । स्थानीय निकै लोकप्रिय र स्थापित नेता प्रकाश कँडेल र स्थानीयवासीको टाउकामा पूरै समस्या थोपरेर भरतपुर नगरपालिका मेयर र धुर्मुस–सुन्तली फाउण्डेशन अहिले पानीमाथि ओभानो बन्न लागेका छन् । स्थानीय जनतालाई विश्वासमा लिएर भन्दा पनि प्रशासनिक दमन गरेर निर्माण गर्न लागिएको यो रंगशालाको निर्माणको भविस्य अनिश्चित बन्दै गएको छ । यसै विषयलाई लिएर आज आइतवारदेखि स्थानीयहरु आन्दोलनमा जोडिदैं छन् ।  


देशको धेरै ठाउँमा खोजी गर्दैगर्दा अन्त असफल भइ सबैभन्दा उपयुक्त ठाउँको रुपमा ठहरिएर चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा प्राप्त भएको २० विघा जग्गामा केही समय अघिसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धमाधम निर्माण कार्य सुरु भइसकेको देखिन्छ तर भित्रभित्र ४/५ महिनादेखि रहेको सिमानाको बाटोको विवाद र स्थानीय टोल विकास समितिले पटकपटक मेयर कार्यालयमा निवेदन दिएको र छलफल गरेको कुरा डोजरकाण्डपछि बल्ल बाहिर आएको छ । यसबीच भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेशनले धेरै पटक गर्दै आएको कुनै पनि पत्रकार सम्मेलन र छलफलमा बहिर ल्याइएन । यसले सम्बन्धित निकायको प्रशासनिक निकम्मापन र अपारदर्शी शैलीलाई नै दर्शाउँछ । समयमा नै यसको समाधानको प्रयास गरेको भए घटनाले यति ठूलो उग्र रुप लिने थिएन । 


गणतन्त्र दिवसको दिन बिहान भएको डोजरकाण्डको अधिकांश रुपमा विरोध देखिएको छ भने सो कार्यमा संलग्नलाई एक दुई दिन तर्साउन नियन्त्रणमा लिएको बुझेका स्थानीय बासिन्दा १८ जना टोलबासीलाई धेरै दिन नै थानामा सडाउने बुझेपछि झिनो स्वरमा विरोध गर्न थालेका छन् ।  यस घटनाको मुख्य योजनाकार भनेर चित्रित गरिएका चितवनमा लोकप्रिय युवा नेता तथा विद्यार्थीका केन्द्रीय नेता प्रकाश कँडेललाई नेकपामा नवनियुक्त जिल्ला अध्यक्ष एक विज्ञप्ति जारी गरी कारवाही पनि गरिसकेका छन् भने नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण दाहालको ठाडो निर्देशनमा अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले विद्यार्थी संगठनबाट पनि कारवाही गरेको जनाएका छन् । 


घटनामा संलग्न दोषीलाई कानुन हातमा लिएर बार भत्काएकाले हदैसम्म कारवाहीको तयारी भएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी बस्नेतले सम्पूर्ण अपराधीहरुलाई दुई वर्ष समयको कैद सजाय हुने र गृहमन्त्री वा प्रधानमन्त्रीको दबाब आए पनि आफू पछि नहट्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारीले नै आयोजना गरेका सर्वदलीय बैठकमा धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरेले युवा नेता कँडेललाई देश निकालको माग गरेकी छन् भने मेयर रेणु दाहालले ‘चोर’ उपमा दिइन । दुबैले बोलेको कुराको पनि सामाजिक सन्जालहरुमा धेरै निन्दा भएको पाइन्छ तर त्यसको कहीँ कतै खण्डन नआएकाले उनीहरु आफ्नो माग र मान्यताप्रति प्रतिवद्ध रहेको बुझ्न सकिन्छ ।


यसबीच स्थानीय पाँचवटा टोल सुधार समितिले एक विज्ञप्ति निकाली आफ्ना जायज माग राख्ने क्रममा भएको सानो भुलप्रति दुःख व्यक्त गर्दै हिरासतमा रहेका १८ जना सबैको रिहाइको मागसहित आन्दोलनका कार्यक्रम बिहान सार्वजनिक गरे पश्चात शुक्रवार दिनभर सुन्तली फाउण्डेशनका धुर्मुस सुन्तली, मेयर रेणु दाहलको प्रतिनिधिको रुपमा रामचन्द्र अधिकारी र आन्दोलनरत टोल बिकास समितिसँग बार्ता भयो र सो क्रममा निकै विवादका बीच केही समझदारी भएको पाइन्छ र शनिवार मेयर रेणु दाहालको उपस्थितिमा पुनः सोही ठाउँमा बार उठाएर लगाउने र काम सुचारु गर्ने सार्वजनिक घोषणा भयो । तर यसबीच नेत्र बहादुर चन्द विप्लव निकट नेकपा चितवनको रंगशाला निर्माण कार्य रोक्न चेतावनीका साथ आएको वक्तव्यका कारण दुई दिनका लागि अझैं फाउण्डेशनका सम्पूर्ण कार्य रोकिएको र नेकपा चितवनसँग वार्ता गर्न भरतपुर महानगरका तर्फबाट मेयरका पिए गोपाल न्यौपाने र फाउण्डेशनका तर्फबाट अर्जुन भुषाल खटिएको फाउण्डेशनको सचिवालयले जानकारी गराएको छ । यसले रंगशाला निर्माण केही समय अझ अनिश्चित देखिएको छ । तर केही कमिशन दिएर पनि यो कुरा सल्टाइने फाउण्डेशनका कर्मचारी अर्जुन भुषालले बताए ।


यसबीच हिरासतमा रहेका १८ बन्दीहरु रिहा नभएमा आइतबारदेखि अझ सशक्त आन्दोलन र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने स्थानीय जनताले शनिवार साँझ बसेको बैठकले निर्णय गरेको छ । प्रकृति टोल सुधार समितिका सचिव टीकाराम ढकाल, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष सुशील लामा, शान्तिदीप एकता टोल संस्थाका अध्यक्ष मीन बहादुर लामा र रामपुर टोल विकास संस्थाका अध्यक्ष टंकप्रसाद घलेसहितको बैठकले सो निर्णय गरेको हो । सो छलफलको क्रममा स्थानीय रामपुरका समाजसेवी पूर्ण गुरुङले कुनै पनि विकास निर्माणसँग आउने नकारात्मक परिणाम सबैभन्दा नजिकको बस्तीले भेट्नुपर्ने भएकाले त्यसबाट केही सकारात्मक फाइदाको हकदार पनि सबैभन्दा नजिकका बासिन्दाको हुने भएकाले यो बाटो माग्ने अधिकार स्थानीयबासीको रहेको जनाए । 


प्रस्तावित रंगशाला निर्माण भए पश्चात परापूर्वकालदेखि माथिबाट बगेर आउने कुलो अवरुद्ध हुने र त्यसपश्चात यो क्षेत्रमा खेतीपातीको लागि समस्या आउने भएकाले त्यसको क्षतिपूर्तिका लागि विश्वविद्यालयको जग्गाबाट नै कटिने गरी बाटो निर्माण हुनुपर्ने उनीहरुको तर्क रहेको छ । वातावरणीय प्रभाव मूल्यांकन राम्रोसँग गरेको भए यस्तो समस्या नआउने तर यहाँ सबै झारा टार्ने काम मात्र भएको देखिन्छ । 


सोही छलफलको क्रममा प्रकृति टोल सुधार समितिका रामचन्द्र बस्ताकोटीले नेकपाका नेता साध्यबहादुर भण्डारीको बाटोको माग र १८ जना हिरासतमा लिइएका सम्पूर्ण जनताको बिनाशर्त रिहाइको मागप्रति ऐक्यवद्धता रहेको र सो कुरा सम्पूर्ण आन्दोलनकारीलाई  बताइ दिन आग्रह गर्दै टेलिफोन गरेको बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई घटनामा संलग्न भएका भनी हिरासतमा लिइएकालाई तुरुन्त छोड्न आग्रह पनि गरेको र प्रजिअले उनलाई ती जनताको समस्या जायज भएको तर आफूलाई निकै ठूलो दबाब रहेकाले हिरासतमा लिनुपरेको तर छिट्टै सबैलाई छाडिने बताएको पनि उनले स्पष्ट पारे । यसमा प्रजिअको सर्वदलीय बैठकमा प्रस्तुत भएको भनिएका धारणाहरु बाझिन्छन् । यसकारण प्रस्तावित रंगशालाको विवाद मत्थर नहुने र निर्माण कार्य अझैं अनिश्चित भएको देखिन्छ ।

२०७६ साल जेठ १९ गते