विप्लव समूहका पोलिटब्यूरो सदस्य पदम राई नेकपा प्रवेश, प्रचण्डले भनेः विप्लवको बाटोले गन्तव्यमा पुर्याउँदैन

 विप्लव समूहका पोलिटब्यूरो सदस्य पदम राई नेकपा प्रवेश, प्रचण्डले भनेः विप्लवको बाटोले गन्तव्यमा पुर्याउँदैन

काठमाडौं, १९ जेठ । सरकारद्वारा प्रतिबिन्धत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राई सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।

धुम्बाराएस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच राईलाई पार्टी प्रवेश गराउँदै नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले विप्लवलगायतका कम्युनिष्ट समूहहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउने आफ्नो अभियानमा सहभागि हुन आग्रह गरेका छन् । प्रचण्डले अन्य पार्टी छाडेर आफू नेतृत्वको नेकपा पार्टी प्रवेश गर्ने क्रम नरोकिने भन्दै एकदिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्ने धारणा राखे ।

विप्लवले हिँडेको बाटो गन्तव्य पुग्ने बाटो नभएको भन्दै प्रचण्डले त्यो बाटोले राष्ट्र र जनतालाई क्षती पुर्याउने दावी गरे ।

कम्युनिष्ट समूह चालाउने सबैलाई प्रचण्डले छलफल र सम्बाद गर्न आव्हान गर्दै इतिहास, वर्तमान, राष्ट्रिय र अन्तराष्ट्रिय सबै परिस्थितिको समिक्षा गर्नुपर्ने बताए । उनले अहिलेको परिस्थिति नितान्त भिन्न परिस्थिति रहेको भन्दै लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने जिम्मेवारी सबैको भएको र समाजवादको आधार तयार गर्ने कुरामा नेकपाले जोड दिएको बताए । 

नेकपा पार्टी प्रवेश गरेका राइले देशलाई समृद्ध बनाउने अभियानमा नेकपा रहेकाले आफू यो पार्टी प्रवेश गरेको बताए ।