चिया कपको तुफानमा प्रचण्ड–ओली विवाद

चिया कपको तुफानमा प्रचण्ड–ओली विवाद

नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता हुँदा गरिएको पाँच बुँदे सहमति यतिखेर नेकपामा विवाद ल्याउने गज्जबको तुरुप बनेको छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई एक हुन नदिन वासी भइसकेको सहमतिलाई पुनः नवीकरण गर्दै भ्रम दिने प्रयास गरिएको छ । यो तुरुप मात्र राजनीतिको हाटमा फ्याँकिएको हैन दुवै अध्यक्षलाई बोल्न लगाएर यसमा निर्मलीकरण गर्ने काम पनि भएको छ । आजभन्दा एक वर्ष अगाडि सहमति भएको र तत्कालै सार्वजनिक भइसकेको यो सहमति हो । पत्रपत्रिकामा मात्र हैन पुस्तकमा समेत अभिलेख भइसकेको दस्ताबेज हो । तर, त्यो समयमा कुनै समाचारीय मूल्य नदेख्नु र आज आएर त्यसैलाइ ‘हटकेक’ ‘एक्सक्लुसिब’ समाचारको रुपमा प्रक्षेपण गर्नु आफैमा प्रोपोगाण्डा बाहेक केही होइन । विपक्षी त विपक्षी नै भइहाले उनीहरुको धर्म नै हो गाडेको मुर्दा निकालेर जुलुस लगाउने । तर, स्वयम् यसै पार्टीका सदस्यहरु पनि अलगअलग धारमा लागेर उचालिनु आफैमा अराजनैतिक चरित्र हो ।

दुई पार्टी एक हुँदा गरिएको पहिलो बुँदाले विशेष महत्व राख्नु पर्नेमा कसैको चासो नहुनु रहस्यपूर्ण छ । पहिलो बुँदा यति महत्वको छ कि यो बुँदा व्यवस्थित नहुँदा यो पार्टीको भविष्य नै अनिश्चित हुन्छ । दुई धारको कम्युनिष्ट विचार बोकेका पार्टी एक हुने क्रममा सैद्धान्तिक विचारलाई संश्लेषण गर्न सकेनन् भने या दक्षिणपन्थी भाषमा जानेछन् या त विघटनको संघारमा पुग्नेछन् । तर, यो बुँदामा कुनै बहस छैन । गौण बुँदालाई उछालेर रोटी सेक्ने क्रम चलेको छ । चौथो बुँदालाई उमालेर बाफमाथि कवाफ पकाउने यो प्रोपोगाण्डा आफैमा हास्यास्पद छ । 

ढुङ्गा खोज्दा शिलाजित 

राष्ट्रिय राजनीतिको समसामयिक राजनीतिमा बहस केन्द्रित छैन । पाँच बुँदामध्ये महत्वपूर्ण अन्य बुँदाहरु सहमतिका आधारमा भए नभएको विषयले स्थान पाएको छैन् । यसमा बहस केन्द्रित हुन सकेन । तर, नेतृत्वको प्राविधिक सहमतिलाई उचालेर तिललाई पहाड बनाउने काम भएको छ । कम्युनिष्ट आन्दोलन एकीकरण हुँदा गरिने दार्शनिक–राजनैतिक विषय र सन्दर्भहरु हुन्छन । कम्युनिष्ट पार्टीको गठन र विघटन यस्तै राजनैतिक परिदृश्यमा हुन्छन । तर, नितान्त व्यक्तिको सांगाठानिक व्यवस्थापनको अर्थ मुख्य हुँदैन । दक्षिणपन्थी पार्टीहरुको मुख्य आधार भनेको पद र संगठन हो । त्यहाँ राजनीति तथा दर्शनले उति महत्व पाउँदैन तर संगठनको व्यवस्थापन अलि ढिलाढाला हुँदा मात्र पनि शिशाको महल झैं गर्लामगुर्लुम ढल्छ ।

 यो एकता नित्तान्त केपी ओली र प्रचण्डबीच मात्र भएको होइन । विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको विचलनसँगै त्यस्तो विचलनलाई एकताको माध्मबाट रोक्न गरिएको अर्थमा पनि लिन सकिन्छ । कम्युनिष्ट आन्दोलनको आवश्यकताले जन्माएको यो एकता हो । यस्तो एकताको अर्थ विरालाकोटीमा मात्र हुन्छ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको बेला भएको एकता कुनै दुई अध्यक्षको पदभार बाँडफाँडले मात्र निश्चित गर्दैन । इतिहासको आवश्यकतालाई बुझेर गरिएको एकता इतिहासकै आवश्यकताको आधारमा मात्र विच्छेद हुन्छ । यस्तो नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा हुँदै आएको छ ।

कम्युनिष्ट आन्दोलनको रुपरेखा नबुझ्नेहरुका लागि यो सुनामी, तुफान जस्तो लाग्न सक्छ । तर राजनैतिक उद्देश्य प्राप्तिका लागि सांगठानिक प्रक्रियाहरुलाई मिलाउँदा सहमतिका रुपहरु आउन सक्छन् । ती सांगठानिक रुपहरु आफैमा पत्थरका लकिर होइनन् । समयसन्दर्भमा यस्ता सहमतिहरु विकसित हुँदै जानेछन् वा नयाँ आधारमा नयाँ एकता हुनेछन् । विपक्षी खेमा, कथित मिडियाले राजनीतिको मुख्य गन्तव्यलाई अन्यत्र मोड्न यो मसला पाएका छन् । ढुंगा खोज्दा शिलाजित भेट्टाए जस्तो गरेका छन् । यो तुरुपसम्म होला शिलाजित नै हुन सक्तैन ।

प्रचण्डको स्पष्टोक्ति 

नेपालको राष्ट्रिय राजनीतिको विकासका अवरोधहरु हटिसकेका छैनन् । बाधा अड्काउ फुकाउ नहुन्जेलसम्म यस्ता अबरोधहरु आउने नै गर्छन । सामन्तवादी राज्यव्यवस्थाको अन्त्यको यात्रा एउटा लामो आन्दोलन, युद्धका अनेक शृङ्खलाबाट यहाँ आइपुगेको हो । यसलाई पुरानै स्थितिमा फर्काउन सुरुङरुपी क्षिद्रहरुबाट भ्वाङ पार्ने चेस्टा नै अहिलेको यो बुँदाको चर्चा हो । तर, अध्यक्ष प्रचण्डले बारम्बार यसको प्रस्टीकरण पनि दिँदै आएका छन् । बाह्रबुँदे समझदारी हुँदै संविधानसभा र संविधान निर्माणको प्रक्रियासम्म विवाद र झगडामात्र गरेर सम्भव थिएन । यसर्थ दायाँबायाँ विचारको सम्मिलनको कुल जोडले नै नेपाली राजनीतिको अगाडि जाने बाटो प्रशस्त गरेको हो । यसर्थ यस्ता गौण महत्वका विषयले प्रभाव पार्दैन भन्ने बेलैमा बुझ्न प्रचण्डले हालै सार्वजनिक गरेको यो भनाइबाट पनि प्रस्ट हुन्छ, ‘विवाद र झगडा गरेर सिङ्गो राष्ट्रको एकता, कम्युनिष्ट आन्दोलनको एकता र मुलुकको समृद्धिको आकांक्षामा बाधा नपरोस् भन्ने चाहना छ ।’

पार्टी एकताको कुन्जी 

नेपालका यी दुर्ई धारको पार्टी एकताको कुन्जी कसैसँग छ भने यसले लिने राजनैतिक धारमा छ । पार्टीले बाटो विराउँदै गयो भने एक वर्ष अगाडि गरिएको यो सहमतिले पनि यो एकतालाई बचाउन सक्नेवाला छैन । पार्टीका दुई नेतालाई पालैपालो अध्यक्ष वा प्रधानमन्त्री दिँदैमा एकताको गाँठो कस्सिने नदिए गाँठो फुकेर जाने भन्ने प्रश्नमा कुनै दम छैन । यो नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन विश्व कम्युनिष्ट आन्दोलनले दिएको शिक्षामा निर्भर छ । बुझिने लवजमा भन्दा यो एकताको आधार विघटनको पृष्ठभूमिमा तयार गरेको रुपरेखा हुँदै होइन । पदीय आधारबाट विघटन हुँदै जाने भए यसमा जोडिने आधार हुँदैन थियो । हालै विप्लव माओवादीका पोलिट व्युरोसदस्य पदम राईहरु ‘क्रान्तिकारी’ पार्टी छोडेर अवश्य आउने थिएनन् । यो मूल प्रवाहमा केही धमिलोपन देखिएकै आधारमा यसमाथि गरिएको प्रहार नित्तान्त झुसिलो डकार बाहेक केही होइन । समयबद्ध साप्ताहिकबाट