अख्तियारको निशानामा जनप्रतिनिधिहरु

अख्तियारको निशानामा जनप्रतिनिधिहरु

जनकपुर, २२ जेठ । प्रदेश २ का स्थानीय तहका जनप्रतिनिधिहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ । 

प्रदेश २ का ८ वटै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु अनियमितता र भ्रष्टाचारमा लिप्त भएको भन्दै जनगुनासो बढ्ेपछि अख्तियारले निगरानी बढाएको हो ।

स्थानीयका जनप्रतिनिधिहरु सेवाग्राहीसँग बिभिन्न बहानामा घुस माग्ने, सामान खरिदै नगरी नक्कली बिल बनाउने, सडकमा माटो ग्राभेल गर्ने नाममा अनियमितता गर्ने जस्ता प्रबृति मौलाएपछि अख्तियारले सक्रियता बढाएको छ । सक्रियता बढाएको अख्तियारले एक महिनाको अबधिमा सप्तरी, महोत्तरी र बाराका बिभिन्न स्थानीय तहका ३ जना जनप्रतिनिधिहरुलाई घुससहित पक्राउ गरेको छ । 

अख्तियारले सेवाग्राहीसँग घुसबापत लिएको रु.दुई लाख ७५ हजार रुपैयाँसहित बाराको महागढीमाई नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बरैलेलाई पक्राउ गरेको छ ।

कलैया उपमहानगरपालिका ७ स्थित दुर्गा माध्यामिक विद्यालयको हाताबाट वडाअध्यक्ष बरैलाई पक्राउ गरेको छ ।

सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय मावि बबुआइनको कम्पाउन्ड पर्खाल बनाउने क्रममा घुस मागेको सूचनाका आधारमा अख्तियारले वडा अध्यक्ष बरैमाथि निगरानी बढाएको थियो ।

यसअघि गत जेठ दोश्रो साता घुससहित अख्तियारको टोलीले महोत्तरीको एकडारा गाउँपालिका ४ का वडा सदस्य रामचन्द्र राय यादवलाई पक्राउ गरेको थियो ।

ठेकेदारसँग ३६ हजार रूपैयाँ घुस लिदैगर्दा वडासदस्य यादवलाई अख्तियार बर्दिबासको टोलीले पक्राउ गरेको थियो ।

त्यस्तै गत बैशाख १६ गते सर्वसाधारणसँग रु.२५ हजार घुस लिदैगर्दा अख्तियारको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मो. शिल्टु मियाँलाई थियो ।

जग्गा नामसारीका लागि सिफारिस गर्न मियाँले सर्वसाधारणसँग घुस लिदै गर्दा पक्राउ गरिएको थियो । यसरी एकपछि अर्काे गरि स्थानीय तहका जनप्रतिनिधिहरु अख्तियारको फन्दामा पर्न थालेपछि उनीहरुमा त्रास उत्पन्न भएको छ ।