प्रदेश २ मा जनता आवास कार्यक्रम अलपत्र

प्रदेश २ मा जनता आवास कार्यक्रम अलपत्र

सप्तरी, २२ जेठ । अति विपन्न दलितका लागि सञ्चालन भएको जनता आवास कार्यक्रम प्रदेश २ मा अलपत्र परेको छ । प्रदेश सरकारको उदासीनता र कार्यान्वयन गर्ने निकायको लापरवाहीका कारण जनता आवास कार्यक्रम अलपत्र परेको हो ।

गत वर्ष ०७४/०७५ मा स्वीकृत भएका एक हजार छ सय आवास सर्वेक्षणमै रोकिएको छ भने यस वर्ष पनि अति बिपन्न परिवारका लागि स्वीकृत भएका एक हजार छ सय सात आवासको निर्माण कार्य अझैं सञ्चालन हुन सकेको छैन ।

प्रदेश सरकारले यसै वर्ष आवास निर्माण कार्य सम्पन्न गर्न रु.३० करोड रुपैयाँ विनियोजित गरी ५० प्रतिशत रकम कार्यालयलाई पठाइसकेको छ । तर, प्रदेश मातहतमै रहेको शहरी विकास तथा भवन कार्यालय राजविराजले आर्थिक वर्ष सकिन लाग्दा समेत लाभग्राहीको विवरणसम्म पनि संकलन गर्न नसक्दा जनता आवास कार्यक्रम अलपत्र परेको हो । 

आर्थिक वर्ष ०७३/०७४ मा कुल रु.११ करोड ८७ लाख ९१ हजार रुपैयाँ विनियोजित बजेटबाट एक बर्षभित्र सिरहा र सप्तरीमा १/१ हजार पक्की घर निर्माण सम्पन्न हुनुपर्नेमा अझै पूरा हुन सकेको छैन । केही घरमा डीपीसी, गारो, जग र छानासम्मै कार्य भएको छ । 

आवासविहीन दलितलाई आवास उपलब्ध गराउने सरकारी योजना अनुसार आर्थिक वर्ष ०६६/०६७ देखि जनता आवास कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

एकातिर तोकिएको समयमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने निर्माण सकिएको अधिकांश घरहरुको काम समेत गुणस्तरहीन रहेको दलित अगुवाहरुको कथन छ । 

जनता आवास कार्यक्रम अन्तर्गत नयाँ घर पाउने आशमा पुरानो घर भत्काइएका बिपन्न परिवारको लामो समयसम्म नयाँ घर निर्माण हुन नसक्दा पीडा बढेको छ । 

यता शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जनता आवास निर्माणका लागि स्थानीय तहलाई पत्राचार गरे पनि अहिलेसम्म स्थानीय तहले विवरण नपठाएकाले ढिलाइ भएको बताए ।