मेयर, एक करोडको नाकेडाँडी, पदीय गरिमा र पत्रकारिता !

मेयर, एक करोडको नाकेडाँडी, पदीय गरिमा र पत्रकारिता !

फणीन्द्र फुयाल ज्वाला

इटहरीका पत्रकार विराट अनुपमलाई ‘नाके डाँडी भँच्छु’ भन्दै धम्क्याउने इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकालाल चौधरीको यतिबेला देशव्यापी आलोचना भैरहेको छ ।  

बिभिन्न सामाजिक सञ्जालदेखि समाचार पोर्टलहरुमा मेयर चौधरी अहिले ‘हट केक’ बनेका छन् । नेपाली पत्रकारिता जगत नै उनको उक्त अभिब्यक्तिप्रति तरंगित भएको छ । केही पत्रकारहरुले व्यांग्यात्मक रुपमा मेयरबाट पत्रकार बचौँ, नाकको मूल्यमा बृद्धि, जनयुद्धमा प्रचण्डको टाउकाको मूल्य पाचस लाख अहिले पत्रकारको नाकको मूल्य एकरोड, जस्ता स्ट्याटस लेख्दै सामाजिक सञ्जालका भित्ताहरु भरेका छन् ।

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ती जारी गर्दै मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा दिएको धम्कीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 
मेयर चौधरीले जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’ भनेर धम्की दिएका थिए ।

राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुला रुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघले ठहर गरेको छ ।
घटनाको घोर भत्र्सना गर्दै धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाई यस्ता घटना नदो¥याउनेतर्फ ध्यान दिन महासंघले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । 

फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा पत्रकारदेखि राजनीतिज्ञसम्म धेरैले यस विषयमा मुख खोलेका छन् । केही दिनयता मेयर चौधरीले पत्रकार र अन्य कतिपय व्यक्तिहरुका बारेमा सार्वजनिक गरेका अभिव्यक्ति स्वयम् उनले धारण गरेको सार्वजनिक पद, प्रतिनिधित्व गरेको पार्टी (नेकपा) र स्वयम् उनको राजनीतिक उचाइका लागि कदापी सुहाउँदैन । तसर्थ आफ्ना भनाइप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहनु उनको लागि कल्याण हुनेछ ।

मेयर द्वारिका चौधरी हकी स्वभावको छन् भन्ने कुरा उनका पटक पटकका अभिव्यक्तिहरुबाट प्रष्ट हुन्छ । तर उनले आफु सम्वद्ध राजनीतिक दलको मान्यताका बारेमा भएका बुझाई भने गलत हुन सक्छन् । लोकतन्त्रमा कसैको नाकाको डाँडी भाँचेर हिँड्ने छुट कसैलाई पनि छैन । मेयरलाई त्यो कानूनले दिएको अधिकार होइन । उनलाई थाहा होला उनको पार्टी नेकपा विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताप्रति दृढ छ र उनी पनि पार्टीले अंगिकार गरेको नीतिप्रति स्पष्टमात्र होइन देशकै कानूनका बारेमा जानकार हुनु त पर्छ नै त्यसको अक्षरस पालनासमेत गर्नु पर्छ । 

मेयर चौधरीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भएपनि उनका अभिव्यक्ति भने अस्वाभाविक र गलत छन् । उनको रिस र कुण्ठा अभिव्ययक्त गर्ने शैली त्यो तहको पक्कै पनि होइन । यदि कसैले पितपत्रकारिता गरेको भए र यदि कुनै पनि पत्रकारले भ्रष्टाचार गरेको भए त्यसको छानबिन, उपचार र निराकरण गर्ने छुट्टै सरकारी संयन्त्र छ । त्यो भनेको प्रेस काउन्सिल नेपाल हो । उनले त्यहाँ निवेदन जाहेर गर्न सक्छन् ।

पत्रकारले पनि पटक पटक एउटै व्यक्तिमाथि खनिएर एकतर्फि समाचार लेख्ने काम गर्नु हुँदैन । मेयर चौधरीले के गल्ति गरेका थिए र उनी उक्त गल्तिबाट सुध्रिएकी पटक पटक उही गल्ति जानाजान दोहोर्याइ रहेका छन् त्यसको पनि समीक्षा गर्नु जरुरी हुन्छ ।