आरजुको योजनामा एस जयशंकरलाई देउवाको बधाई

आरजुको योजनामा एस जयशंकरलाई देउवाको बधाई

काठमाडौं । जागरण अभियानको अवधिभर १४ औं महाधिबेशनको मुद्दा नउठाउन नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । 

केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेमार्फत् जिल्ला तथा स्थानीय तहमा पठाइएको सर्कुलेशनमा  जागरण अभियानको अवधिभर १४ औं महाधिबेशनको मुद्धा नउठाउन, एकले अर्काको सार्वजनिक रुपमा आलोचना गर्न, पार्टीको हित विपरीत हुने गरी मिडियामा अन्तर्वार्ता नदिन, सामाजिक सञ्जालमा पार्टीका नेता विरुद्धका सामग्री पोष्ट तथा शेयर नगर्न निर्देशन दिइएको छ । 

 कांग्रेसको पहिलो चरणको जागरण अभियान जेठ २५ गते समापन हुँदै छ भने दोस्रो चरणको जागरण अभियान भदौ २४ गते बीपी जयन्तीको दिनबाट सुरु भई पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको दिनसम्म जारी रहनेछ । आगामी पुस १६ सम्म १४ औं महाधिबेशनको माग गर्न नपाउने गरी सर्कुलर जारी गरिनु अर्थपूर्ण छ । सभापति देउवाको कार्यकाल आगामी फागुनको अन्तिम साता सकिन्छ । त्यसैले त्यो मितिसम्म १४ औं महाधिबेशन सम्पन्न गरिसक्नु पर्ने बैधानिक वाध्यता छ । तर, आफ्नो कार्यकाल १० महिना बाँकी छँदा सभापति देउवाले अव आठ महिनासम्म महाधिबेशनको मुद्धा उठाउन प्रतिवन्ध लगाउनुको अर्थ हो– ‘विधानद्वारा निर्धारित मितिमा १४ औं महाधिबेशन सम्पन्न गराउने नियत देउवाको छैन । उनी पार्टी विधानले होइन मुलुकको संविधानले दिएको पाँच वर्ष पाँच महिनाको अवधि गुजार्ने र गल्याङ गुलुङ पारी फेरि आफै सभापति बन्ने अभियानमा छन् । 

 सामान्यतया नेपाली कांग्रेसका महाधिबेशन सम्पन्न हुन एक वर्षको समय लाग्ने गरेको छ । महाधिबेशन हुर्ने वर्ष मात्रै पार्टीको क्रियाशील सदस्यता नवीकरण तथा वितरण गर्ने,  गाउँ तहबाट अधिबेशन प्रारम्भ गर्ने परम्परा छ ।  

  सोह्रौ अधिकार आफ्नो हातमा लिएर प्रधानमन्त्री देउवा अधिनायक बन्न खोजेको आरोप लगाइरहेका देउवा आफैले पार्टीभित्र अधिनायकवाद सुरु गरेको अभिव्यक्ति नेता तथा कार्यकर्ता पंक्तिबाट उठ्न थालेपछि देउवाले अनुशासनको डण्डा अघि सार्दै नेता तथा कार्यकर्तालाई बोल्न र लेख्न प्रतिवन्ध लगाएका हुन् । सतहमा हेर्दा सभापति देउवा कांग्रेस पार्टीभित्र कडा रुपमा प्रस्तुत भएको देखिए पनि पर्दा पछाडि भने राणा–शाह खलकहरु नै छन् । कांग्रेसका एक केन्द्रीय सदस्यले भने– ‘राणा–शाहहरुको हरेक शुक्रबार दारु पार्टी हुन्छ, त्यो दारु पार्टीमा जे कुरा अभिव्याक्त हुन्छ त्यसैलाई देउवाले पार्टीको धारणा बनाउने गरेका छन् ।’ 

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नाकावन्दी लगाउन मुख्य भूमिका खेल्ने एस जयशंकरलाई विदेशमन्त्री नियुक्त गरेकै बेला राणा–शाहहरुको दारु पार्टी चलिरहेको थियो । त्यही दारु पार्टीमा कसैले आरजु राणालाई भन्यो– ‘एस जयशंकर भारतको विदेशमन्त्री बने, तुरुन्त बधाई देऊ ।’ त्यसपछि आरजुले कत्ति पनि ढिलो नगरी पार्टी सभापति देउवाको लेटर प्याडमा वधाई तथा शुभकामना सन्देशको ड्राफ्ट तयार गरी देउवालाई हस्ताक्षर गर्न लगाइन र प्रेसित गरिदिइन । राजतन्त्र फर्काउने अभियानमा भारतका नवनियुक्त विदेशमन्त्री एस जयशंकर सफल हुन्छन् भन्दै राणा–शाहहरुले सभापति देउवाको दिमाग भुटेको कांग्रेसका एक आमन्त्रित केन्द्रीय सदस्यले बताए । 

     वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, गगन थापा लगायतको मुख यसअघि नै बन्द भइसकेपछि डा. शेखर कोइरालाले भने सभापति देउवाका गतिविधिमाथि टिप्पणी गर्ने हिम्मत जुटाउँदै आएका थिए । तर, देउवाले हालै बैंककमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर आएपछि र भारतमा मोदीले चुनाव जितेपछि डा. कोइराला समेत देउवाका गतिविधि विरुद्ध टिप्पणी गर्न हच्केका छन् । मुलुकमा एक सय चार वर्ष राणाका छोराहरुले र राजा त्रिभुवनको निधन भए यता २०४६ सालसम्म राणाका छोरीहरुले मुलुकको वास्तविक सत्ता सञ्चालन गरिसकेका सन्दर्भमा अब नेपाली कांग्रेस पनि सँधैका लागि राणाकी छोरीका हातमा जाने त होइन ? भन्ने आशंका तल्ला तहका कार्यकर्ताको छ । त्यो नेपाली कांग्रेस त्यो आशंका अनुसारको दिशामा अघि बढेको पनि छ । आरजु राणको चंगुलबाट नेपाली कांग्रेस बाहिर निस्कन अब सजिलो नभएको बहस कार्यकर्ता पंक्तिमा सुरु भएको छ । समयबद्ध साप्ताहिकबाट