नेपाल तिब्बत सीमाबाट अबाञ्छित प्रवेश हुनेमा चीन संशकित 

नेपाल तिब्बत सीमाबाट अबाञ्छित प्रवेश हुनेमा चीन संशकित 


२३ जेठ सिमिकोट । चीनको तिब्बतसँग जोडिएका नेपाली सीमा नाकाबाट आबाञ्छित प्रवेश हुन सक्ने विषयमा चिनियाँ अधिकारी संशकित भएको देखिएको छ ।

हुम्लाको सिमीकोट नाकाबाट रोजगारीका लागि तिब्बत प्रवेश गर्ने हुम्लाबासी चिनियाँ अधिकारीले रोक्ने गरेको पाइएको छ ।

स्थानीयहरूले यो विषयमा चिनियाँ अधिकारीहरूसँग छलफल गरी सरकारले समाधान गर्नुपर्ने आग्रह गरेका छन् ।

सिमीकोट जिल्ला प्रशासन कार्यालयका अनुसार दुई साता यता करिब चार सय ७० जना हुम्लाबासीलाई नेपाल फर्काएको छ । तर, स्थानीयहरूका अनुसार यो संख्या धेरै रहेको छ । स्थानीयहरूका अनुसार यो संख्या दुई हजार देखि तीन हजार छ । तीन साताअघि चिनियाँ महिलाको हत्या भएपछि त्यो सीमा नाकाबाट आवतजावत रोकिएको हो । त्यो महिलाको हत्यामा कुनै नेपालीको हात हुन सक्ने भएर यो अवस्था आएको देखिएको हो । चिनियाँ क्षेत्रमा पर्ने हिल्साबाट ३० किलोमिटर टाढा रहेको ताक्लाकोटमा अधिकांश हुम्लाबासी जाने गर्छन् । उनीहरू त्यहाँ काम र व्यवसायको उद्देश्यले जान्छन् ।

केही वर्ष अघिसम्म हुम्लाबाट गएकाहरूले त्यहाँबाट दैनिक दुई हजारको हाराहारीमा कमाउने गरेका थिए । तिब्बती क्षेत्रमा विकास कार्यले गति लिए यता ताक्लाकोटमा यो कमाइ दैनिक पाँच हजारसम्म हुने गरेको बुझिएको छ ।

चिनियाँ अधिकारीहरूले हुम्लाबासीलाई तिब्बत क्षेत्रमा जान एक वर्षे पास जारी गर्ने गर्छन् । जसका आधारमा उनीहरूले काम वा व्यवसाय गर्न पाउँछन् ।

जिल्ला प्रशासन कार्यालका अधिकारीहरूका अनुसार चिनियाँ अधिकारीहरूले त्यहाँ नेपालीद्वारा चिनियाँ महिलाको हत्याको घटना भएयता जान रोक लगाएका छन् ।

हुम्लाका स्थानीयहरूलाई नेपाल चीन व्यापार तथा भुक्तानी सम्झौता अनुसार तिब्बत नेपाल सीमा वारपार गर्न पाउँछन् । यो सम्झौता १९७४मा गरिएको थियो ।

चिनियाँ अधिकारीहरूका अनुसार यो घटनाको छानबिन भएपछि यसलाई कूटनीतिक तहमा हल गरी समाधान खोजिनेछ ।