अब प्रेस युनियनले बोलाउने मिडिया मिशन ?

अब प्रेस युनियनले बोलाउने मिडिया मिशन ?

शंकर तिमल्सिना

२३ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले प्रेस युनियनको बुधबार भएको एक कार्यक्रममा नेपालमा अन्तर्राष्ट्रिय मिडिया मिशन बोलाउन युनियन नेतृत्वलाई आग्रह गरेको समाचारले पत्रकारहरुमा तरङ्ग आएको छ । 

नेपाल पत्रकार महासंघले मिडिया मिशन ल्याउने निर्णयसँगै धेरै पत्रकारहरुबाट चर्काे विरोध भएपछि महासंघलाई बल पु¥याउन प्रेस युनियनका तर्फबाट महासंघमा प्रतिनिधित्व गरेका उपाध्यक्ष पोखरेलले आफ्नो माउ संगठनमा गएर मिडिया मिशन ल्याउन वातावरण बनाउन गुहारेको अर्थमा लिइएको छ । 

अहिले संघमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । प्रदेश र स्थानीय तहमा समेत कम्युनिस्टको बर्चस्व छ । अहिले तीन नै तहमा कानुन बनाउने प्रक्रिया तीब्र छ । सामाजिक न्यायसहितको जनतालाई आर्थिक स्वतन्त्रताको पक्षमा कानुन बन्नुपर्छ भनेर तलदेखि माथिसम्मका सरकारलाई दवाव परिरहेको छ । 

यति नै बेलामा पश्चिमा साम्राज्यवादीको प्रायोजित अजेण्डा र डलर ल्याउनका लागि महासंघले अन्तर्राष्ट्रिय मिडिया मिशन ल्याउन लागेको भन्दै पत्रकारहरुबाट चर्काे आवाज उठेपछि महासंघका उपाध्यक्ष पोखरेलले नेपाली कांग्रेस निकट प्रेस युनियनलाई गुहारेका छन् । 

पत्रकारहरुको चर्काे विरोधपछि महासंघ अन्तर्राष्ट्रिय मिडिया मिशन ल्याउने निर्णयबाट पछि हट्ने संकेत भएर हो या महासंघलाई बल दिनका लागि पोखरेलले युनियनलाई भनेका हुन ? यो भने बुझिएको छैन ।

प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले जुन ११ देखि १४ सम्म ट्युनिसियामा हुने आईएफजेको ३० औं विश्व सम्मेलनमा यो कुरा उठाउने बताएका छन् । 

नेपालका अधिकांश पत्रकारहरुले अन्तर्राष्ट्रिय मिडिया मिशन आवश्यक छैन भनिरहेका बेलामा नेपाल पत्रकार महासंघ र प्रेस युनियनले बोलाउन भगीरथ प्रयास गरेको देख्दा धेरै पत्रकारहरुले आश्चर्य प्रकट गरेका छन् । जुनसुकै रंगका पत्रकारहरु नेतृत्वमा गए पनि विदेशी अजेण्डा र डलरका लागि महासंघमा पुगेपछि ऐक्यबद्धता हुने रहेछ पत्रकारहरुबीचमा चर्चा चलेको छ ।