विश्व बैंकको आँखामा : भारतको काल्पनिक आर्थिक भविष्यवाणी

विश्व बैंकको आँखामा : भारतको काल्पनिक आर्थिक भविष्यवाणी

भारत सरकार अन्तर्गतको केन्द्रीय साँख्यिकी (तथ्याङ्क) कार्यालय (सीसीसी)ले हालै प्रकाशित गरेको तथ्याङ्क अनुसार भारतको वार्षिक वृद्धि दर छ वर्षअघिको भन्दा न्युन प्रतिशतमा झरेको छ । भाजपा सरकारको पाँच वर्षे शासनकालको आर्थिक नतिजामा आएको भारी गिरावट यसैले देखाउँछ । आर्थिक वर्ष २०१८/०१९ को चौथो मासिकमा वार्षिक वृद्धि दर न्युनतम ५.८० प्रतिशतमा झरेको नतिजा सीसीले देखाएको हो । यही नतिजाका कारण भाजपा सरकारको आलोचना भइरहेको छ ।

तर, यो नतिजालाई अन्यत्र मोड्न आगामी दिनमा भारतको वार्षिक आर्थिक वृद्धि दर बढ्ने मनगढन्ते नतिजा हालै विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंकले ६ जुन २०१९ मा प्रकाशित गरेको प्रतिवेदनमा आगामी तीन वर्षभित्रमा भारतको वार्षिक आय वृद्धि दर ७.२० प्रतिशत पुग्ने ठोकुवा गरेको छ । भाजपा सरकारलाई अभयदान दिन अन्तराष्ट्रिय वित्तीय साम्राज्यवादको यो कुनै नौलो तुरुप भने होइन । भारतमा वित्तीय पुँजीवादलाई बढाउन र कर्पोरेट हाउसलाई आश्वस्त पार्न विश्व बैंकले दिएको काल्पनिक ढाडस हो ।

चीनलाई होच्याउने : भारतलाई उकास्ने :

बैंकको प्रतिवेदनमा चीनको आर्थिक वृद्धि दर सन् २०१८ मा ६.६० प्रतिशत छ भनेर उल्लेख गर्न वाध्य भएको छ । तर, २०१९ मा यो प्रतिशत घटेर ६.२०, सन् २०२० मा ६.१०, सन् २०२१ मा ६ प्रतिशतमा घटेर आउने अनुमान गरेको छ । प्रतिवेदनमा भारतको वार्षिक वृद्धि दर बढ्ने अनुमान मात्र गरेको भए भ्रम दिन बिश्व बैंक कामयाव हुने थियो । तर, चीनको वृद्धि दर घट्ने भारतकोमात्र बढ्ने हावादारी अनुमान गरेर बैंकले विश्व पुँजीवादको दलाली गरेको छ ।

चीनको आर्थिक मार्ग बेल्ट एण्ड रोड इनिसिएटिभ आक्रामक रुपमा आएको बेला विश्व बैंकको यो प्रतिवेदन आफैमा विश्व राजनीतिको पुँजीवादी कित्तामा हान्निएको छ । ५.८० प्रतिशतमा झरेको भारतको आर्थिक वृद्धि दर सन् २०२० सम्ममा ७.५० प्रतिशतमा पुग्ने कुनै संकेत पाउन सकिन्न । तर भारतको अर्थ व्यवस्था गिर्दो रुपमा देखाउँदा विश्व वित्तीय पुँजीवादमा आउने निराशालाई केही हद कम गर्न सकिने उद्वेश्यकासाथ यो प्रतिवेदन आएको विश्लेषण गर्न सकिन्छ । 

विश्व बैंकले अनुमान गरेको भारतको यो हदको आर्थिक वृद्धि दर हुन सक्ने त्यहाँको राजनैतिक अव्यवस्थाले नै दिन्न । यदि चीनको झैं स्थिर राजनैतिक व्यवस्था हुने हो भने भारतको वाषर््िाक वृद्धि दर यो भन्दा पनि उकालो लाग्न कुनै बेर लाग्दैन । भारतको प्राकृतिक खनिज सम्पदा, सामुद्रिक सहजता (तीनतिरै समुद्रमा पहुँच), करिव ३५ प्रतिशतको युवा जनशक्ति, प्रचुरमात्रामा कृषियोग्य जमिन लगायतको कारण आर्थिक वृद्धिको सम्भावना चीनको तुलनामा धेरै छ । तर भारतको आन्तरिक, छिमेक र अन्तर्राष्ट्रिय व्यवस्थापनको कारण तथा राज्य व्यवस्थाको कारण पनि आर्थिक वृद्धि दर विश्व बैंकले गरे अनुसार हुन सक्तैन । यो जमिनी यथार्थ हो । तर विश्व पुँजीवादको गिर्दो साखलाई कायम राख्न यस्ता काल्पनिक प्रसंगहरु बेला कुबेला आउने गर्छन ।