तयारी नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित

तयारी नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, २३ जेठ । आज हुने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक मन्त्री र सांसद् रहेका केन्द्रीय सदस्यहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विवाद हल नभएपछि बस्दै नबसी स्थगित भएको छ ।

गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको नकेपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले भने, दुवै अध्यक्षले एकै स्वरमा गृहकार्य पुगेन भन्नुभयो, दुवै अध्यक्षले गृहकार्य नपुगेको भनेर बालुवाटारमा पुगेका हामीलाई फर्काउनुभयो ।’ 

पार्टी एकता भएको एक वर्ष बितिसक्दा पनि नेकपाले कार्यविभाजनको टुंगो लगाउन सकेको छैन । नेकपा भित्र दोहोरो जिम्मेवारीलाई लिएर बरिष्ठ नेता माधव कुमार नेपाल र उनीनिकटका केही नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो पटक पनि सांसद् र मन्त्रीहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिन खोजेपछि नेता नेपालले कडा आपत्ति जनाएका थिए ।