हिन्दी भाषालाई प्रदेश सरकारले सम्पर्क भाषा बनाउन खोजेको भन्दै संशोधन प्रस्ताब दर्ता

हिन्दी भाषालाई प्रदेश सरकारले सम्पर्क भाषा बनाउन खोजेको भन्दै संशोधन प्रस्ताब दर्ता

जनकपुर, २३ जेठ । प्रदेश २ सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममाथि सत्तापक्षसहित नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका ८ जना प्रदेशसभा सदस्यहरुले संशोधन दर्ता गराएका छन् ।

प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई संशोधन गर्नुपर्ने भन्दै संशोधन दर्ता गराएका आठ जनामध्ये चार जना सत्तारुढ राजपा नेपालका छन् ।

सत्तारुढ राजपा नेपालका सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्यहरु विदेश्वर यादव ‘विक्की’, डा.रिना यादव र बाबुलाल साहले संशोधन दर्ता गराएका छन् । उनीहरुले सरकारले आफू अनुकुलका नीति तथा कार्यक्रम ल्याएको भन्दै संशोधन दर्ता गराएको बताएका छन् ।

राजपाका सांसदहरुले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्रीमुखी भएको भन्दै विरोध समेत जनाएका छन् । 

राजपा सचेतक परमेश्वर झाले मधेशका लागि विगतमा लड्ने गजेन्द्रनारायण सिंह र दुर्गानन्द झाको पनि शालिक बनाउन माग गर्दै संशोधन दर्ता गराएका छन् । 

यस्तै नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा, गोबिन्दबहादुर न्यौपाने, मञ्जु यादव र कांग्रेस सांसद शिवचन्द्र चौधरीले संशोधन दर्ता गराएका छन् ।
 
नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले हिन्दी भाषालाई प्रदेश सरकारले सम्पर्क भाषा बनाउन खोजेको भन्दै संशोधन प्रस्ताब दर्ता गराएको बताए । 
 
प्रदेश २ मा मुख्य दुई वटा भाषा मैथिली र भोजपुरी बढी बोलिने गरेको र एक अर्को भाषीले राम्रोसँग बुझिरहेको सन्दर्भमा हिन्दी लाद्नु खोज्नु गलत भएको बताए ।