स्रोत नखुल्ने रकम ‘सुरक्षित’ गर्ने अखडा बन्दै सहकारी !

स्रोत नखुल्ने रकम ‘सुरक्षित’ गर्ने अखडा बन्दै सहकारी !

काठमाडौं, २६ जेठ । सहकारी भनेको व्यवसाय सञ्चालन गर्ने एउटा तरीका हो । व्यवसाय सञ्चालनका निश्चित मूल्य, मान्यता र सिद्धान्तहरु हुन्छन् । सिद्धान्तमा सामान्य सत्य र केही आधार तथा नियमहरु हुन्छन् ।

सहकारीका सात सिद्धान्तहरुमा ऐच्छिक तथा खुल्ला सदस्यता, सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम तथा सूचना, सहकारी विच सहयोग, समुदाय प्रति चासो जस्ता सिद्धान्तमा सहकारी चलेको हुन्छ ।
तर आजकल सहरकारीहरु गैरकानूनी रुपमा सञ्चालित हुँदै कालो धन थुपार्ने अखडाका रुपमा रुपान्तरण हुँदै छन् । राष्ट्र बैंकको नीति अनुरुप श्रोत नखुलेको रकम जम्मा गर्न बैकहरुले नमान्ने भएपछि त्यस्तो रकम संकलन गर्न सहकारीहरु आफ्नो सिद्धान्तलाई कुल्चिदै अघि बढिरहेका छन् । अवैध रुपमा आर्जन भएको त्यस्तो रकम जम्मा गर्ने माध्यम देशका बिभिन्न स्थानमा खुलेका सहकारीहरु हुने गरेको तथ्य फेला परेको छ । 

सम्पत्ति सुद्धीकरण निवारण ऐन कार्यान्वयन नुहँदा सहकारी क्षेत्र कालो धन जम्मा गर्ने थलो बनेको हो । यसबाट समग्र वित्तीय क्षेत्रमा जोखिम बढ्न थालेको अर्थविद्हरुको भनाई छ । सम्पत्ति शुद्धीकरण निर्दैशिका कार्यान्वयन हुन नसक्दा सहकारी क्षेत्रमा गैरकानूनी, कालो धन लुकाउन प्रयोग भएको अर्थविद्हरुको आशंका छ ।

देशभरका झण्डै ३५ हजार सहकारीले देशको अर्थतन्त्रमा तीन खर्बभन्दा बढी कारोबार गर्दै आएका छन् । सहकारी विभागले २०७४ मा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थालाई निर्देशन जारी गरेको भएतापनि सहरकारीले त्यो झै कार्यान्वयन गरेका छैनन् ।
सम्पत्ति शुद्धीकरण विारणसम्बन्धी सहकारी संघसंस्थालाई जारी गरिएको निर्दैशन, २०७४ बमोजिम सहकारी संस्थाले १० लाख वा सो भन्दा बढीको करोबार गर्दा सम्बन्धित सदस्य वा वयक्तिबाट स्रोत खुलासा लिनुपर्ने उल्लेख छ । सहकारीले कुनै संस्थाको शेयर खरिद गर्दा, संस्थामा बचत जम्मा गर्दा, संस्थाबाट लिइएको ऋणको साँवा, ब्याज भुक्तानी गर्दा, विप्रेषण वा स्थानान्तरणको रकम भुक्तानी लिँदा, खातामा जम्मा वा खातासार गर्दा स्रोत खुलाउनु पर्ने स्पष्ट रुपमा उल्लेख गरेको छ । 

सहकारी विभागले पछिल्लो दुई महिनायता १५ वटा सहकारीमा सम्पत्ति शुद्धीकरणका विषयमा अनुगमन गरेको छ । अधिकाँश सहकारीले निर्दैशिका कार्यान्वयन गरेका छैनन् । अनुगमनका क्रममा विभागले निर्देशनको दफा ३ बमोजिम बचत तथा ऋणको कारोबार गर्ने संस्थाले अनुसूची २ बमोजिम सदस्य पहिचान र सोको पुष्टि र अद्यावधिक नगरेको पाइएको जनाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।