प्रदेश २ सरकारमाथि संकट

प्रदेश २ सरकारमाथि संकट

जनकपुर, २७ जेठ । प्रदेश २ सरकार यतिबेला गम्भीर संकटमा फसेको छ । प्रदेश २ सरकारले प्रदेशसभा बैठकमा केही दिनअघि प्रस्तुत गरेको नीति तथा कार्यक्रमबिरुद्ध सत्तासाझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेशसभाका सदस्यहरु उभिएपछि सरकारको भबिष्य संकटमा परेको हो ।

नीति तथा कार्यक्रमबिरुद्ध संशोधन प्रस्ताब दर्ता गराएका राजपाका प्रदेशसभा सदस्यहरु पछि नहट्ने अडान लिएका कारण शनिवारको लागि बोलाईएको प्रदेशसभा बैठक सुचना टाँस गरि आजसम्मको लागि स्थगित गरेको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमबिरुद्ध राजपाका परमेश्वर साह सहित विन्देश्वर यादव ‘विक्की’, डा. रिना यादव र नेत्रबिक्रम साहले संशोधन दर्ता गराएका छन् । सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो अनुकुलको योजना बनाएको भन्दै राजपाका प्रदेशसभा सदस्यहरुले संशोधन दर्ता गराएको बताएका छन् । सत्तासिन दलकै प्रदेशसभा सांसदहरुले संशोधन फिर्ता नलिने अडान कायमै राखेका कारण प्रदेश २ सरकारमाथि दबाब बढ्ेको छ ।

संशोधन दर्ता गराएका प्रदेशसभा सांसदहरुले पनि सरकारको नीति तथा कार्यक्रमको बिरोधमा मतदान गर्ने र नीति तथा कार्यक्रम असफल हुने सत्तापक्षको बुझाई छ ।  प्रदेश सरकारको नीति तथा कार्यक्रम असफल भए सरकारनै संकटमा पर्ने खतरा रहेको राजपाका एक नेताले बताएका छन् ।

राजपाका सांसदहरुले संशोधन हालेको मौका छोप्दै विपक्षी दलहरुले शनिबारका लागि बोलाएको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रमलाई असफल बनाउने रणनीति बनाएका थिए । तर सत्तापक्षले थाहा पाएपछि बैठक सोमबारका लागि सारिएको छ ।
संशोधन दर्ता गराएका राजपाका प्रदेश सांसदहरुलाई संशोधन दर्ता फिर्ता गराउन राजपा अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झा सहितका पदाधिकारीहरु जनकपुरमा दुई दिन लगातार बैठक गरेका छन् ।

अध्यक्ष मण्डलका ६ जना सदस्यले नै संशोधन दर्ता गराएकाहरुलाई संशोधन फिर्ता लिन निर्देशन दिएपनि उनीहरु फिर्ता लिन सहमत देखिएका छैनन् ।

संशोधन दर्ता गराउनेहरुले प्रदेशका मन्त्रीहरुले आफ्नो अनुकुल नीति तथा कार्यक्रम ल्याएको भन्दै असन्तुष्टि जनाएका छन् । आफूहरु सांसद भएपनि आफूहरुको क्षेत्रमा कुनै किसिमको योजना नबनाएको उनीहरुको आरोप छ । 
संशोधन दर्ता गराएका प्रदेश सांसदहरुले अध्यक्ष मण्डल तथा समन्वय समितिले आफूहरुको चित्त बुझाउन नसकेका कारण संशोधन फिर्ता नलिएको बताएका छन् ।