छानविनपछि प्राप्त तथ्यका आधारमा कार्वाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता 

छानविनपछि प्राप्त तथ्यका आधारमा कार्वाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता 

२७ जेठ, काठमाडौं । नेपाल सरकारद्वारा गुठी विधेयकका केही प्रावधानप्रति केही असहमति राख्दै जेठ २६ गते आइतवार माइतीघर मण्डलामा भएको घटनालाई गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले सोमवार सदनमा जानकारी गराउँदै प्रहरी र प्रदर्शनकारी घाइते भएकोमा दुःख प्रकट गरेका छन् । 

शान्तिपूर्वक विरोध गर्न पाउने अधिकारलाई प्रयोग नगरी माइतीघर मण्डलामा भेला भएकाहरुले सडकमा नै सुती आवतजावतमा व्यवधान गरेपछि प्रहरीले सम्झाइबुझाइ सडकबाट हटाउन खोज्दा उल्टै प्रहरीमाथि जाइलाग्दा भएको झडपमा दुवैतिर केही घाइते भएको गृहमन्त्री वादलले जानकारी दिए । 

उपत्यका सडक पीडित संघर्ष समिति, सम्पदा बचाउ अभियान, नेवाः संगठन र डगु होल नेवाः गुठीको नाममा आइतवार संघर्ष चलाइएको थियो । 

प्रहरीले सडकको छेउ लागेर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन पटकपटक आग्रह गर्दा उल्टै प्रहरीमाथि इट्टा ढुंगा प्रहार गरेको, माइकिङ गर्दा, पानीको फोहोरा प्रयोग गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरी भीडलाई तिरवितर गरी चार जनालाई पक्राउ गरेको र उनीहरुलाई सामान्य सोधपुछपछि आइतवार नै छाडेको गृहमन्त्रीले सदनलाई जानकारी गराएका थिए ।  

गृहमन्त्री वादलले परिस्थितिलाई थप स्पष्ट पार्दै भने, ‘प्रदर्शनकारी र प्रहरीहरु जो जसबाट भएको भएता पनि कानुन विपरीत बल प्रयोग गर्नु या अभद्र व्यवहार गर्नु दण्डनीय हुन्छ । यसबारेमा छानविन गर्दा सबै कुरा खुल्ने नै छ । छानविनपछि प्राप्त तथ्यका आधारमा कार्वाही गरिने प्रतिबद्धता संसद्लाई गराउँछु । आइतवार भएको घटनामा प्रहरी र प्रदर्शनकारी घाइते भएकोमा दुःख प्रकट गर्दछु । उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’