देउवा सभापति बनेपछि कांग्रेस परित्याग गर्नेको सङ्ख्यामा बृद्धि 

देउवा सभापति बनेपछि कांग्रेस परित्याग गर्नेको सङ्ख्यामा बृद्धि 

काठमाडौं । शेरबहादुर देउवा सभापति बनेपछिको करिव साढे तीन वर्षको यो अवधिमा नेपाली कांग्रेस छाड्नेहरुको सङ्ख्या उल्लेख्य छ । हरिबोल भट्टराईको नेतृत्वमा गठित नेपाली कांग्रेस (वीपी) मा आवद्ध हुने महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुको सङ्ख्या करिव दुई सय छ । केवी गुरुङ समूह नेपाली कांग्रेसमा औपचारिक रुपमा मात्रै संलग्न छ । यो समूहमा गोविन्दराज जोशी, तारानाथ रानाभाट, लक्ष्मणप्रसाद घिमिरेलगायतका नेताहरु छन् । चिरञ्जीवी वाग्ले, डुण्डिराज शास्त्री, लोकेश ढकाल, महादेव गुरुङलगायतका नेताहरु निस्क्रिय छन् ।

त्यसो त देउवा सभापति भएयता नेपाली कांग्रेस छाडेर नेकपा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको सङ्ख्या दुई हजारभन्दा माथि पुगिसकेको आँकलन गरिएको छ । पूर्व सांसदद्वय ओमदेवी मल्ल, तीर्थ भुसाल, प्रभावशाली युवा नेता महेशराज दाहाल नेकपा प्रवेश गरिसकेका छन् । कांग्रेस पूर्व सांसद ओमदेवी जोशी मल्लसँगै कांग्रेसका जुझारु युवा नेताहरु विजयसुन्दर खड्का र रिता बराल पनि नेकपा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेसमा सबैभन्दा ठूलो पहिरो ओखलढुंगा र तनहुँ जिल्लामा गएको छ । देउवाले संदिग्ध पृष्ठभूमिका रामहरि खतिवडा र शंकर भण्डारीलाई अघि सारेपछि ओखलढुंगा र तनहुँ कांग्रेसमा पहिरो गएको हो ।

ओखलढुंगाबाट नेकपामा प्रवेश गर्नेमा कांग्रेस ओखलढुंगाका पूर्व सचिव तथा पूर्व जिविस सदस्य रामबहादुर खत्री, जिल्ला कमिटी सदस्य सुरेश सुनुवार, खिजीकाती गाउँ कमिटी सभापति तथा पूर्व गाविस अध्यक्षहरू रेवतकुमार सुनुवार र लालप्रसाद नेपाल छन् । यस्तै, गाउँ पार्टी सभापति गजेन्द्रबहादुर बस्नेत, पूर्व गाउँ सभापति चकेन्द्र दास सुनुवार, उपाध्यक्षहरू होमबहादुर सुनुवार, अमरबहादुर खत्री, सचिवहरू केशरकुमार सुनुवार, चूडाप्रसाद पौडेल, कोषाध्यक्ष मञ्जुकुमारी विक, कांग्रेस श्रमिक संघ जिल्ला अध्यक्ष ताराधन सुनुवारलगायत छन् ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य भीमा सुनार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरिसकेकी छिन् । सुनसरीको इनरुवा नगरपालिकामा पनि कांग्रेसको हालत खराव भएको छ । अघिल्लो स्थानीय निर्वाचनमा वडा सदस्यको उम्मेदवारसमेत रहेका युवा राजेश मेहताको नेतृत्वमा मगाई सरदार, बसियादेवी मुसहर, सन्तोष चौधरी, दुर्गा माझी, सञ्जीब उराव, लुकमान मन्सुरी, अनिल उराव, कृष्ण प्रसाई, गीता मण्डल, सीता प्रसाई, भगवती गौतम, रामाधिन मेहता, राजीव मेहतासहित दुई सय ५० जना नेकपामा प्रवेश गरेका छन् ।

गत दशैं र तिहारको बीचमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका सत्तारुढ नेकपाका नेता झलनाथ खनालले सञ्चारकर्मीसँग  प्रतिक्रिया दिँदै भनेका थिए, ‘यो देशको प्रमुख प्रतिपक्षी दल कहाँ गएछ भनी खोज्न आएको थिएँ, पार्टी केन्द्रीय कार्यालय सानेपामा निकै सशक्त रुपमा फेला पारेँ ।’  

कांग्रेस अब सकियो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबखत दिने अभिव्यक्तिका सन्दर्भमा सत्तारुढ पार्टीका नेता खनालको यो भनाइलाई त्यतिबेला कांग्रेसजनहरुले  सकारात्मक रुपमा लिएका थिए । तर, आन्तरिक कार्यक्रममा बाहेक प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थिति नदेखिएको गुनासो नागरिक समाजले समेत गर्न थालेपछि कांग्रेसले जागरण कार्यक्रम अघि सारेको छ । 

पहिलो चरणको जागरण कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । दोस्रो चरणको जागरण कार्यक्रमको मिति  आगामी भदौ २४ देखि पुस १६ गतेसम्मका लागि तोकिएको छ । तेस्रो चरणको कार्यक्रमको भने मिति तय गरिएको छैन । वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी फागुनमा सकिने भएकोले तेस्रो चरणको जागरण कार्यक्रमको मिति घोषणा नगरिएको हो । 

देउवाको रणनीति

दोस्रो चरणको जागरण कार्यक्रम सकिनासाथ केन्द्रीय समितिको बैठक बोलाएर डेढ वर्ष कार्यकाल थप्ने र त्यसपछि मात्रै तेस्रो चरणको जागरण कार्यक्रमको मिति घोषणा गर्ने रणनीतिमा सभापति शेरबहादुर देउवा छन् ।
पहिलो चरणको जागरण अभियान सफल हुन नसकेको टिप्पणी केन्द्रीय नेताहरुले गरिरहेका छन् । जागरण अभियान होइन, पार्टी संगठनलाई पूर्णता दिएर १४ औं महाधिवेशनको तयारीमा जुट्नु नै उपयुक्त हुने सुझाव  ग्रास रुटका कार्यकर्ताले दिइरहेका छन् । उनीहरुको भनाइ छ, विधान अनुसार आउँदो फागुन महिनाको मसान्तसम्ममा पार्टीका सबै तहको पदावधि समाप्त हुँदैछ  । कांग्रेसमा अहिले यसप्रकारको अभियानको खाँचोभन्दा नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने र भएका सदस्यको नवीकरण प्रारम्भ गर्न आवश्यक छ ।

विधानअनुसार सदस्यता वितरण गर्न मात्र न्यूनतम छ महिना लाग्छ । सदस्यताको टुंगोे लाग्नासाथ महाधिवेशन प्रक्रिया सुुरु गर्ने हो भने बुथ समितिदेखि प्रदेश समितिसम्मका सात तहको अधिवेशन सकेर महाधिवेशन गर्न विधानको व्यवस्था र अनुभवलाई विचार गर्ने हो भने अर्को छ महिना लाग्न सक्छ । यस हिसाबले आजको मितिमा सदस्यता वितरण प्रारम्भ गर्ने हो भने आउँदो जेठ अन्त्यसम्ममा मात्र पार्टीको १४ औँ महाधिवेशन सम्भव हुन्छ ।

चुनावी रणनीतिका दृष्टिले पनि पार्टीको कार्यकाल थप्नु औचित्यपूर्ण देखिँदैन । अबको तीन वर्षमा गाउँ÷नगरपालिकाको निर्वाचन आउँछ । निर्वाचन आउनुभन्दा एक वर्षअघिदेखि पार्टी चुनावको तयारीमा जुट्नुपर्छ । पार्टीले एक वर्ष कार्यकाल थप्दा गाउँ तथा नगरपालिकाको निर्वाचन हुनुभन्दा ठीक एक वर्षअघि महाधिवेशन गर्नुपर्ने हुन्छ  । महाधिवेशनलगत्तै निर्वाचन हुँदा महाधिवेशनको जय÷पराजयको नकारात्मक असर निर्वाचनमा पर्छ, यसबाट पार्टीले पुनः क्षति बेहोर्नुपर्ने हुन्छ ।

निर्वाचनमा पर्नसक्ने नकारात्मक प्रभावलाई ध्यानमा राखेर पनि महाधिवेशन यथाशक्य छिटो गर्नु उचित हो । तर, विडम्बना पहिले देश अनि पार्टीको हितलाई भन्दा नेता विशेषको सत्ता–स्वार्थ र राजनीतिक लाभलाई विचार गरेर निर्णय लिने प्रवृत्ति पार्टीमा देखिएको छ । पार्टी जसरी पनि म नै कब्जा गरेर बस्छु भन्नु भन्दा यथाशक्य छिटो १४औँ महाधिवेशनमा जुट्नु पार्टीका लागि सर्वोत्तम बाटो हो ।

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भन्ने गरेका छन्, ‘प्रमुख प्रतिपक्षी दलको भूमिका बलियो हुन नसक्दा सत्ताधारी दललाई आफूखुशी काम गर्ने मैदान खाली हुन गएको हो । यति कमजोर नेपाली कांग्रेस इतिहासमा कहिल्यै थिएन । उनले विभाजित मानसिकता लिएर दुई तिहाई बहुमतको बलियो सरकारविरुद्ध लड्न नसक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । समयबद्ध साप्ताहिकबाट