नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री बादल 

नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री बादल 

काठमाडौं, २८ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताए ।

उनले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघर मण्डलामा केही संस्था, समिति, सम्पदा बचाउ अभियानलगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताए ।
प्रहरीले सार्वजनिक सवारी साधन आवागमनमा अवरोध नगर्न गरेको आग्रह अस्वीकार गरी प्रर्दशनकारीले यातायात अवरोध गर्ने काम जारी राखेकाले पानीको फोहराको अतिरिक्त प्रहरीले सामान्य बल प्रयोग गरेको मन्त्री थापाले दाबी गरे । प्रर्दशनकारीको तर्फबाट पनि बल प्रयोग भएको र  प्रहरीलाई ढुंगा प्रहार गर्ने काम गरेपछि त्यसलाई नियन्त्रण गर्ने काम भएको मन्त्री थापाले स्पष्ट पारे ।

उनले ‘शान्ति पूर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, इँटा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौँ ।’ सरकारले नागरिकको अधिकारलाई बरबर दमन गर्यो, कुण्ठित गर्यो भन्ने भनाइ गलत भएको भन्दै उनले शान्ति सुरक्षा कायम गरि सार्वजनिक यातायात सुचारु गर्नका लागि राज्यले आफ्नो दायित्व बहन गरेको सदनलाई जानकारी गराएका हुन् ।