अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी दादागिरी विरूद्ध चीन र भारत एकजुट हुन्छन् र ?
काठमाडौ / अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकाले दर्शाएको संरक्षणवादी र एकाधिकारवादी दादागिरी विरूद्ध एकजुट हुन चीनले भारतलाई आग्रह गरेको छ ।
हालका महिना विश्वभर अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा देखाएको दादागिरीबाट पर्ने असर र त्यस विरूद्धको प्रभावकारी उपायको खोजीका लागि चिनियाँ अधिकारीहरूले भारतलाई आग्रह गरेका हुन् ।
चीनको उपविदेशमन्त्री झाङ हानहुइले जनाए अनुसार चीन तथा अमेरिका र अमेरिका र भारतबीच देखिएका व्यापार संघर्षले यी दुई देशलाई अमेरिकी हैकम विरूद्धको छलफलमा भाग लिनु पर्ने विषय महत्वपूर्ण भएर आएको छ ।
संरक्षणवादी र एकाधिकारवादी दुबै शक्ति व्यापारमा उदाइरहेका छन् ।
अमेरिकाले व्यापार व्यवहारमा ल्याएको यो अभ्यासबारे कसरी प्रतिक्रिया जनाउने यो एक महत्वपूर्ण विषय भएको झाङले बताए ।
चिनियाँ उप विदेशमन्त्री झाङको यो अभिव्यक्ति किर्गीस्तानको राजधानी बिश्केकमा अर्को साता संघाइ सहयोग संगठन(एससीओ)को शिखर सम्मेलनको आयोजना हुन अघि सार्वजनिक भएको हो ।
यो सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भाग लिने र त्यस क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिनसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय व्यापारमा बढदै गएको संरक्षणवादको विरोध गर्न र न्यायपूर्ण व्यापारलाई अगाडि बढाउने विशेषमा यी दुई देशका सरकार प्रमुखबीच गहिरो समझदारीको विकास हुनुपर्नेमा दुबै देशका शीर्ष अधिकारीहरूले जोड दिइरहेका छन् ।
साथै झाङले दुई देशबीचको व्यापार सम्बन्धमा छिमेकी देशहरूबीच सहमति कायम हुने विश्वास गरे ।
अमेरिकासँगको व्यापार सम्बन्ध खल्बलिएकाले चीनले नयाँ सहयोगी र साझेदारको खोजी गरिरहेको देखिएको छ ।
अमेरिकाले अर्बौ अमेरिकी डलर बराबरको अतिरिक्त भन्सार शुल्क चिनियाँ सामानमा लगाए पछि चीनले पनि अमेरिकी बस्तुमा भन्सार शुल्क थपेर व्यापार युद्ध लडिरहेको छ ।
यसक्रममा अमेरिकाले चीनको ठूलो टेक कम्पनी हुआवेइको सामान अमेरिकामा बिक्री वितरणमा रोक लगाएको छ ।
यो रोक अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा हुने प्रवाधान अन्तर्गत लगाएर आफ्ना सहयोगीलाई पनि हुआवेइमाथि प्रतिबन्ध लगाउन दबाब दिइरहेको छ ।
अमेरिकाले भारतका सामानहरूमाथि अतिरिक्त भन्सार महशूल गत वर्ष थपेको थियो भने यो महिनाको शुरूमा भारतलाई दिइआएको भन्सार महशुल छुटको सहमति खारेज गरेको छ ।
वर्सेनी ५ अर्ब अमेरिकी डलर बराबरको वस्तु अमेरिका पठाउन सामानमा अतिरिक्त भन्सार कर लगाइदिएको छ ।
यसका साथै अमेरिकाले भारतलाई इरान र भेनजुएलाबाट तेल नकिन्न र रूसबाट एस –४०० वायु प्रतिरक्षा प्रणालीको सम्झौता नगर्न दबाब दिइआएको छ ।
२०७६ साल जेठ २९ गते
प्रतिक्रिया