बजेट विनियोजन सत्ताका सर्वाधिक शक्तिशाली वरिपरि

बजेट विनियोजन सत्ताका सर्वाधिक शक्तिशाली वरिपरि

२९ जेठ, काठमाडौ । अर्थमन्त्री डा. युवराज घिमिरेले सत्ताका सर्वाधिक शक्तिशाली व्यक्तिहरूको वरिपरि बजेट विनियोजन गरेकोमा संसदमा सांसदहरूले विरोध गरेका छन् ।

बजेटको विरोध गर्ने क्रममा सत्ता पक्षकै सांसदले सदनमा उभिएर मौन प्रदर्शन गर्दा प्रतिपक्षी सांसदहरूको ताली पाएका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांगेसका सांसद देवप्रसाद तिमल्सिनाले बजेट विनियोजन प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापा, पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर चितवन, पार्टीका नेता बामदेव गौतमको गृहनगर बर्दियामा गरेपछि बाँकी रहेको बजेट मन्त्री र पार्टीका शक्तिशाली नेताको गृहनगरमा थुपारिएको आरोप लगाए ।

बजेट हलो जोतिरहेको किसानलाई ध्यानमा राखेर विनियोजन गर्नुपर्ने कांग्रेसको संस्थापक बीपी कोइरालाको भनाइलाई उद्धृत गरी कांग्रेसी सांसदले भने “यहाँ त नेताहरूको जिल्ला र गृहनगरमा बजेट बाँडिएको छ ।”

सरकारको साझेदार दल समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले पनि प्रधानमन्त्री र मन्त्रीहरूले कुल बजेट बाँडेको आरोप लगाए ।

सत्तारूढ पार्टीका सांसद झपट रावलले सभामुखसँग बोल्ने समय मागेर मौन बसेर विरोध जनाएका थिए । सभामुखले रावललाई बोल्न भने पनि उनले घडीमा हेरेर बसेको देखेपछि प्रतिपक्षी सांसदहरूले रावलको मौन विरोधलाई ताली बजाएर स्वागत गरेका थिए । रावलले शहरी विकास मन्त्रालयको विरोधमा गरेको देखेर सो मन्त्रालयका राज्यमन्त्री  मोहम्मद इश्तियाक राइन दिक्क भएको देखिएका थिए ।

सांसदहरूले अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका लागि छुट्टाइएको बजेट विनियोजनबारे भएको छलफलमा भाग लिएर बजेटको विरोध गरेका हुन् ।